कर्णालीमा उच्च सतर्कता

सुर्खेत : कर्णाली प्रदेश सरकारले कोरोना भाइरस (कोभीड–१९) को संक्रमण फैलिन नदिँन उच्च सतर्कता अपनाएको छ । प्रदेशलाई कसरी सुरक्षित राख्न सचेतनामुलकदेखि आवश्यक तयारीलाई थालिएको हो ।

कोरोनाबाट आउन सक्ने सम्भावित खतरालाई ध्यानमा राख्दै वीरेन्द्रनगरको खुलामञ्चमा नेपाली सेनालाई युद्धस्तरमा क्वारेन्टाइन निर्माणको गरिएको छ । त्यस्तै मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पनि ६ सय बेडको क्वारेन्टाइन निर्माणमा गरिने छ । नेपाली सेनाको उत्तरपश्चिम पृतना हेडक्वाटरलाइ नेवारेले चारसय बेडसहितको क्वारेन्टइन निर्माणको काम आइतबारदेखि शुरु गरेको छ ।

कम्तीमा एक हप्तामा काम सम्पन्न गर्नेगरी क्वारेन्टाइन निर्माणको काम जारी रहेको उत्तरपश्चिम पृतना हेडक्वाटर नेवारेका सेनानी झपेन्द्रबहादुर विसीले जानकारी दिए । उनका अनुसार क्वारेन्टाइन निर्माणमा दुईसय बढी नेपाली सेना जुटेका छन् । विद्युतको सहज पुहँच, खानेपानीको उपलव्धता, नजिकै बस्ती नभएकाले तत्कालका लागि क्वारेन्टाइन खुलामञ्चमा बनाउन लागिएको सामाजिक विकास मन्त्री दल रावलले बताए ।

‘घेरबार गरिएकाले सुरक्षा दिन पनि सहज हुन्छ’ मन्त्री रावलले भने, ‘खुलामञ्चदेखी दक्षिणमा रहेको विश्वविद्यालयको भवनमा पनि ६ सय बेडको क्वारेन्टाइन व्यवस्थापन गर्न लागिएकाले सेनाले आजदेखि काम अघि बढाएको छ ।’ क्वारेन्टाइमा संक्रमितहरु नै राख्ने हैन् उनीहरुमा कोरोनाको लक्षण छ वा छैन् भनेर निगरानी गर्न बनाउन लागिएको मन्त्री रावलले बताए ।

‘मुख्यगरी भारतबाट नेपाल फर्कनेहरुलाई १४ दिन क्वारेन्टाइन राख्ने गरी काम अघि बढाउँदैछौं’ रावलले भने, ‘भारतमा कोरोनाको संक्रमण व्यापक रुपमा फैलिएकाले फर्किनेहरुमा संक्रमण भए वा नभए बारे यकिन गर्नमा सहजता होस् र अरुतिर संक्रमण नफैलिहोस् भनेर क्वारेन्टाइन बनाउन लागेका हौं ।’ प्रदेश सरकारले तत्काल वीरेन्द्रनगरस्थित रेडियो नेपालको परिसरमा रहेको खाली जग्गा र मध्यपश्चिम विश्वविद्यालयमा गरी एकहजार क्षमताको क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको थियो । तर रेडियो नेपालमा प्राविधिक रुपमा उपयुक्त नभएपछि खुलामञ्चमा क्वारेन्टाइन निर्माण गरिएको हो ।

वीरेन्द्रनगर बजार बन्द

सुर्खेत उद्योग बाणिज्य संघले भोलीदेखि अत्यावश्यक बाहेकका अन्य व्यवसायहरु बन्द गर्न अपिल गरेको छ । वीरेन्द्रनगरम आइतबार बसेको सुर्खेत उद्योग बाणिज्य संघ र सम्पुर्ण बस्तुगत समितिको आकस्मिक बैठकले अत्यावश्यक बाहेकका अन्य व्यवसाय बन्द गर्न अपिल गरेको हो ।

कोरोना भाइरस (कोभीड–१९) ले विश्व नै आक्रान्त भइरहेको बेला उच्च सतर्कता अपनाउन सुर्खेतमा रहेको अत्यावश्यक बाहेकका व्यवसाय गर्न सबै व्यवसायी साथीहरुलाई अनुरोध गरिएको संघका महासचिव लक्ष्मण कंडेलले जानकारी दिए । उनले अत्यावश्यक पसलहरुमा किराना, खाद्य, ग्याँस, पेट्रोल पम्प, औषधी पसलहरु मात्रै खुला हुने बताए ।

पेट्रोलियम पदार्थ र ग्यास अभाव नहुने

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पेट्रोलियम पदार्थ र ग्यास भने प्रयाप्त मात्रामा रहेको नेपाल आयल निगम कर्णाली प्रदेश कार्यालयका प्रमुख दिपक घिमिरेले जानकारी दिए । उनले आइतबार ४०/४० हजार पेट्रोल र डिजेल वितरण गरिएको बताए ।

आज मात्रै एकलाख ६० हजार लिटर डिजेल र २० हजार पेट्रोल वितरण गर्ने तयारीमा रहेको उल्लेख गरे । ‘सामान्य अवस्थाभन्दा माग दोब्बर छ’ प्रमुख घिमिरेले भने, ‘यस्तो बेला पेट्रोल, डिजेल र ग्यास आवश्यकताभन्दा बढी घरमा राख्नु विस्फोटक पदार्थ राख्नु सरह भएकाले सजकता अपनाउन नागरिकलाई अनुरोध गर्दछु ।’ सुर्खेतमा भेरी ग्यास पाँचसय, रेडियन्स, राप्ती ग्यास दुई÷दुईसय सिलिण्डर मौज्दात रहेको छ । तर मनकामना ग्यास भने स्टकमा नरहेको प्रमुख घिमिरेले बताए ।

पालिकास्तरमै क्वारेन्टाइन बनाइने

कोरोनाबाट हुने सक्ने सम्भावित खतरालाई ध्यानमा राख्दै कर्णाली प्रदेशले ७९ वटै स्थानीय तहमा क्वारेन्टाइन निर्माण गरिने भएको छ । आइतबार सामाजिक विकास मन्त्री दल रावलको अध्यक्षतामा बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समितिको बैठकले पालिकास्तरमै क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको हो । सात सय २९ वडामा गठित समितिहरुलाई सक्रिय बनाइने छ ।


सामाजिक विकास मन्त्रालयमा स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले दिएको जानकारी अनुसार भारत लगायत अन्य मूलुकबाट आउने नागरिकलाई १५ दिन अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिने छ । त्यस्तै बैठकले आवश्यकता अनुसार वीरेन्द्रनगरमा पनि थप क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । थप क्वारेन्टाइनका लागि शुभ होटल र सिद्धार्थ होटलमा क्वारेन्टाइन बनाउन सहयोग गर्न तयार रहेको समितिलाइ जनाएका छन् ।

क्वारेन्टाइन हरूको लजिस्टिक व्यवस्थापनका लागि नेपाली सेनाका पृतनापति सरोज प्रताप राणाको संयोजकत्वमा उपसमिति गठन गर्ने, पुर्वाधार मन्त्रालयका सचिवको संयोजकत्वमा यातायात व्यवस्थापन उपसमिति, सामाजिक विकास मन्त्रालयका सचिवको नेतृत्वमा स्वास्थ्यसम्बद्ध विभिन्न उपकरण, औषधी तथा जनशक्ति व्यवस्थापन उपसमिति र नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई शान्ति सुरक्षाका सबै व्यवस्थापकीय कार्यमा खटाउने निर्णय गरेको छ ।

समूहमा हिडेलाई कारबाही गरिने

आन्तरिक मामिला तथा कानून मन्त्रालयका मन्त्री नरेश भण्डारीले समूहमा हिड्ने र अटेरी गर्नेलाई पक्राउ गर्न निर्देशन दिएका छन् । विशेष परिस्थिति बाहेक अन्य काममा भेला नहुन आम नागरिकलाई आग्रह गरेका मन्त्री भण्डारीले ड्रोनबाट र स्थलगत रुपमा सुरक्षा नियकालाई निगरानी बढाएर अटेरी गर्नेलाई कारवाही गर्न निर्देशन दिए ।

बुलबुले उद्यान, खेल मैदान, काँक्रेविहार र सार्वजनिक मैदानमा नागरिकहरु जम्मा हुने क्रममा नरोकिएकाले यस्तो विषम परिस्थितिमा घरमै बस्न मन्त्री भण्डारीको आग्रह छ । ‘युद्धमाहरुमा गोली पड्कीन्थ्यो, रगत देखिन्थ्यो’ मन्त्री भण्डारीले भने, ‘कोरोनाको संक्रमण फैलिएमा न गोली पड्कीन्छ न रगत देखिन्छ तर मान्छे धमाधम ढल्ने स्थिति आउने भएकाले सबैलाई आ–आफ्नो ठाउँबाट उच्च सर्तकता अपनाउन अनुरोध छ ।’

विपद्को बेला एक ठाउँमा क्षतीहुँदा अन्य मानिसले उद्धार गर्न सक्थे तर कोरोना भाइरसको संक्रमण फैलिएमा नागरिकहरुलाई बचाउँने कोही नहुने स्थिति रहेको भन्दै मन्त्री भण्डारीले थपे, ‘सरकारी तवरबाट उच्च सर्तकता अपनाउन कुनै कसर बाँकी नराखेकाले नागरिकलाई पनि सर्तकता अपनाउन अपिल गर्दछु ।’

प्राथमिक उपचारका लागि औषधीको व्यवस्थापन

कोरोनाको संक्रमण नेपालमै नदेखिएकाले आत्तिनु पर्ने छैन तर उच्च सतर्कता अपनाउन भने जरुरी रहेको अवस्था रहेको कर्णाली प्रदेश अस्पतालका डाक्टर केएन पौडेलले जानकारी दिए । यदि कर्णालीमा संक्रमितहरु भेटिएमा उनीहरुलाई आवश्यक पर्ने औषधीहरुको भने व्यवस्थापन गरिसकेको डा. पौडेलको भनाई छ ।

‘कोरोना भाइरस (कोभीड–१९) को औषधी पत्ता नलागेकाले कुनै विरामीमा संक्रमण देखिएकाले लक्षणअनुसारको औषधी उपलव्ध छ’ डा. पौडेलले भने, ‘मुख्यगरी, अक्सीजन, रगत, सिटामोल, एन्टीबायोटीक, स्लाइन, इन्फेक्सन भएमा उपचार गर्ने औषधीहरुको अहिलेलाई प्रयाप्त मात्रामा छ ।’ स्वास्थ्य सेवा निर्देशनालयले भने कर्णालीमा आवश्यक पर्ने औषधीहरुको मौज्दात बढाउन केन्द्रबाट पनि औषधी ल्याउने गृहकार्य गरेको जनाएको छ ।

१७ हजार क्वीन्टल खाद्य मौज्दात

नेपाल खाद्य संस्थान सुर्खेतमा १७ हजार क्वीन्टल चामल मौज्दात छ । कर्णालीका जुम्लामा तीन हजार नौसय ४८ क्वीन्टल, कालिकोटमा दुई हजार आठ सय ८०, डोल्पामा ६ हजार, मुगुमा दुई हजार नौ सय, हुम्लामा दुई हजार ६ सय, जाजरकोटमा तीन हजार पाँच सय र दैलेखमा एक हजार पाँच सय क्वीन्टल चामल मौज्दात रहेको संस्थानका प्रमुख भीमबहादुर थापाले जानकारी दिए ।

उनले सबै जिल्लामा कम्तिमा दुई महिनासम्म पुग्ने खाद्यन्न रहेको थापाले जनाए । खाद्य संस्थानबाट बिक्री हुने प्रति बोरा ३० किलोको जिरा मसिनो चामल एक हजार ६५०, सोना मन्सुली एकहजार चार सय ५०, जापानी चामल एकहजार पाँच सय ५० र अरुवा मोटो चामल एक हजार दुई सय ६० रुपैयाँ छ ।
कर्णालीको सिमी प्रतिकेजी एकसय २० र फापर ५० रूपैयाँ केजीमा बिक्री वितरण गरिरहेको थापाको भनाई छ ।



ताजा समाचार