सुर्खेत : दैलेखको चामुन्डाबिद्रासैनी नगरपालिका–५ बनराका टेक रेग्मी शनिबार गाउँ फर्किए । मध्यपश्चिमाञ्चल विश्वविद्यालय वीवीएस तेस्रो सेमेष्टरमा अध्ययनरत उनी कोरोनाको क्रासले गाउँ फर्किएका हुन् ।
‘वीरेन्द्रनगरमा मानिसको भिडभाड धेरै हुन्छ, घरहरु पनि नजिक हुन्छ, कोरोना त भिडभाडबाटै सर्ने रहेछ’ उनले भन्छन्, ‘गाउँमा घरपनि टाढा, मानिस पनि थोरै हुन्छ जसले गर्दा शहरभन्दा गाउँ नै सुरक्षित लाग्यो ।’ कोरोनाको त्रासले दैनिक उपभोग्य बस्तुहरु अभाव हुने भन्दै गाउँ नै सुरक्षित ठानेको उनको निष्कर्ष छ । ‘वीरेन्द्रनगरमा कोरोना फैलियो भने दैनिक उपभोग्य बस्तुको हाहाकारै मचिन्छ’ उनी दोहो¥याउँछन् ‘रोग लाग्यो भनेपनि उपचार पाइन्छ भन्ने विश्वास थिएन, बरु मरे गाउँ मरुला भनेर घर फर्किए ।’
त्यस्तै सिम्ता गाउँपालिका–१ घोरेटाका तुल्सी खत्री शनिबार नै घर फर्किए । वीरेन्द्रनगरमा बसेर स्तातक तहमा अध्ययनरत उनी गाउँ फर्कनुको कारण पनि कोरोनाकै त्रास हो । ‘कोरोनाको त्रासले क्याम्पस नै बन्द भयो, वीरेन्द्रनगरमा त्रसित भएर बस्नुभन्दा गाउँ फर्किए’ खत्रीले भन्छन्, ‘थोरै जनसंख्या र घरहरुको दुरी टाढा भएा कारण शहरभन्दा गाउँमा सुरक्षित हुन्छ ।’ कोरोना हुनसक्ने सम्भावित जोखिमबाट बच्न गाउँ फर्र्किएको उनको तर्क छ ।
यस्तै जुम्ला तातापानी–४ गौतमबाडाका प्रेम गौतम भने शुक्रबार नै घर फर्किएका छन् । उनीले पनि कोरोनाबाट बच्न शहरभन्दा गाउँनै सुरक्षित ठाने । ‘जे होला गाउँमै होला, अभाव झेलेर किन शहर बस्नु’ गौतम भन्छन् ‘गाउँभन्दा शहरमा कोरोनाको जोखिम धेरै हुन्छ, त्यही भएर साथीहरुसँगै म पनि गाउँ फर्किएको हुँ ।’ रेग्मी, खत्री र गौतम मात्रै होइन । कोरोनाको त्रासले हिजोआज गाउँफर्कनेको लहर नै चलेको छ ।
गाउँ फर्कनेलाई शहरभन्दा गाउँ नै सुरक्षित लागेको छ । कतिपयले भने मर्नुपरे आफ्नै गाउँघरमा मरुला भन्दै गाउँ फर्किएका छन् । कर्णालीका विभिन्न क्षेत्रबाट अध्ययन, जागिर र व्यापारव्यवसाय गर्ने उद्देश्यले सुर्खेत झरेकाहरु कोरोनाको त्रासपछि आफ्नै गाउँ फर्किन थालेका छन् । विभिन पेशा व्यवासय गर्नेहरु गाउँ फर्किएपछि वीरेन्द्रनगर विस्तारै सुनसान बन्दै गएको छ ।
अत्याश्यक सेवा बाहेक विद्यालय, क्याम्पस र ट्युसन सेन्टरहरु बन्द भएपछि विद्यार्थीहरु बस्ने घरहरु खाली हुन थालेको छन् । विद्यार्थीले भरिने घरहरु सुनसान बनेपनि बसपार्कमा घरफर्केहरुको भने ताँती लागेको छ । साना व्यापारीहरु पनि पसल नै बन्द गरेर गाउँ फर्किएका छन् । छिमेकी मुलुक भारतमा कोरोनाको फैलिदै गएपछि रोजगारीको लागि भारत गएका पनि फर्किन थालेका छन् ।
‘तुलानात्मक रुपमा शहरभन्दा गाउँ सुरक्षित छ’
स्वास्थ्य कर्मीहरुले पनि कोरोनाको संक्रमणबाट बच्न तुलनात्मक रुपमा शहरभन्दा गाउँमा कम जोखिम बताउँछन् । गाउँमा धेरै जनसंख्या हुने तर गाउँमा थोरै जनसंख्या र घरहरु टाढा भएका कारण शहरभन्दा गाउँ सुरक्षित मान्न सकिने स्वास्थ्यकर्मीहरुको भनाई ।
‘गाउँमा जोखिम नै नहुने भन्ने होइन, तर शहरको भीडभाड र बाक्लो बस्ती भएका कारण शहरभन्दा गाउँ सुरक्षित छ ।’ प्रदेश अस्पताल सुर्खेतका फीजीसीएन डाक्टर केएन पौडल भन्छन् ‘गाउँमा घरहरु टाढाको दुरीमा भएकाकारण क्षणभरमै संक्रमण फैलिन पाउँदैन, महामारी नै फैलिएको खण्डमा गाउँमा थोरै क्षति हुन्छ, जसले गर्दा गाउँ सुरक्षित मानिन्छ ।’
यद्यपी गाउँ जाँदैमा कोरानाबाट बच्न सकिन्छ भन्नेर ढुक्क नबन्न डाक्टर पौडेलको भनाइ छ । कोरोना संक्रमित भएपनि ६० देखि ७० प्रतिशत विरामी निको हुने भन्दै त्रसित नहुन डाक्टरको सुझाव छ । तर बृद्धबृद्धहरुलाइ भने कोरोनाको जोखिम धेरै मानिन्छ ।
‘गाउँका घर नै ‘होम आइसोलेसन’ हुन’
कोरोनाबाट बच्न गाउँका घरहरु नै होम आइसोलेसन भएको प्रदेश सरकार बताउँछ । टाढा दुरी भएकै कारण गाउँका घर नै होमआइसोलेसन भएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निर्देशक रीता भण्डारी (जोसी) को भनाइ छ ।
‘गाउँ न फिडभाड हुन्छ, न घरहरु नजिक हुन्छ, संक्रिमित नै भएको खण्डमा पनि घरलाई नै (होम आइसोसेलन)को रुपमा प्रयोग गर्न सकिन्छ ।’ भण्डारी थप्छिन्, ‘संक्रमित घरमै बसेको खण्डमा आधा जोखिम न्यूनिकरण गर्न सकिन्छ ।’ कोरोनबाट हुने सक्ने सम्भावित जोखिम न्यूनिकरण गर्न कुनै पनि स्वास्थ्यकर्मीलाई विदा नदिएको छैन ।
स्वास्थ्यकर्मी कार्यक्षेत्रमै भएका कारण गाउँमा पनि संक्रमितले उपचार पाउने उनको विश्वास छ । ‘कोरोनाबाट हुने सम्भावित जोखिमलाई न्यूनिकरण गर्न गाउँमा पनि तयारी गरेका छौँ ।’ उनी थप्छिन् ‘जिल्लादेखि वडातहसम्म स्वास्थ्यकर्मीहरु खटिएका छन्, गाउँमा उपचार नै पाइदैन भनेर त्रसित हुनुपर्दैन, महामारी नै फैलिएको खण्डमा हेलिकप्टरबाट उद्दार गरेर पनि उपचार गरिनेछ ।’ महामारी फैलिन नदिन प्रदेशका विभिन्न नाकाहरमा ५८ जना स्वास्थ्यकर्मीहरु खटाइएको भण्डारीले जानकारी दिइन ।
‘क्यारेन्टाइनमा नबस्नेलाई कारबाही गर्छाैँ’
यता संक्रमति देशबाट फर्केकाहरु क्यारेन्टाइनमा नबसे कारबाही गर्ने कर्णाली प्रदेश सरकारको भनाइ छ । संक्रमितहरु गाउँमा छिर्न नदिन कोरोना प्रभावित क्षेत्रबाट आएका नागरिकलाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइन बसेर व्यवस्था गरेको छ ।
‘भारत लगायतका अन्य मूलुकबाट आउने नागरिकहरु अनिवार्यरुपमा क्यारेन्टाइनमा बस्नुपर्छ ।’ सरकार प्रवत्ता भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी भन्छिन् ‘संक्रमित भए÷नभएको १४ दिनमै थाहा हुन्छ, संक्रमि गाउँमा नछिरुन भन्नकै लागि नाकाहरुमा चेकजाँच र विदेशबाट फर्किएकालाई अनिवार्य रुपमा बस्नुपर्ने व्यवस्था गरेका छौँ ।’
यदि भारतबाट आउनेले सरकारलाई ढाँटेर क्यारेन्टाइनमा नसेको खण्डमा भने कानून अनुसार कारबाही गर्ने उनको भनाइ छ । ‘भारतबाट फर्किएर पनि होइन भनेर ठग्ने र क्यारेन्टाइनमा नबस्नेलाई सरकारले कारबाही गर्छ ।’ उनी भन्छिन्, ‘अहिले अधिकाँस नागरिकहरु गाउँ फर्किएका छन्, गाउँमा महामारी नफैलियोस भनेर नै सरकारले भारत लगायतका देशबाट फर्किएकालाई क्यारेन्टाइनमा राख्ने निर्णय गरेको हो ।’
सरकारले संक्रमण फैलिन नदिने कोशिस गर्दागर्दै पनि गाउँमा कोरोना फैलिएको खण्डमा संक्रमितले गाउँमै उपचार पाउने उनको दाबी छ । गाउँगाउँमा विपद व्यवस्था समिति सक्रिय रहेको दाबी गर्दै मन्त्री केसीले संक्रमितलाई सम्बन्धित वडा, नगर र जिल्ला अस्पतालमा उपचार पाउने दाबी गरिन् । महामारी नै फैलिएको खण्डमा हेलिकोप्टरबाट सरकारले उद्दार गर्ने उनको भनाइ छ ।
युग संवाददाता । । ९ चैत्र २०७६, आईतवार १४:३०