जाजरकोट : जिल्ला अस्पताल जाजरकोटमा ३० बेड क्षमताको आइशोलेशन कक्ष स्थापना गरिएको छ । कोरोना संक्रमितलाई उपचारका लागि पुर्वतयारीस्वरुप छुट्टै आइशोलेशन कक्षको स्थापना गरिएको हो ।
विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेका बेला स्वास्थ्य सेवा कार्यालय जाजरकोटले अस्पतालमा संक्रमितलाई आइशोलेशनमा राखेर उपचार गर्न ३० जनासम्म क्षमताको छुटै कोठा स्थापना गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख टीकाराम जैसीले बताए ।
उनले भने, ‘जिल्लाका सबै स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई हाइ अलर्टमा राखेका छौँ । स्वास्थ्यकर्मीलाई यति बेला बिदा वा काजमा नबस्न निर्देशनसमेत दिएका छौँ ।’ कोरोनाको लक्षण देखिएकालाई जिल्ला अस्पतालको आइशोलेशन कक्षमा राखेर उपचार थालिने र तत्काल बिरामीको नमुना संकलन गरी प्रयोगशालामा पठाउने व्यवस्था मिलाएको उनले बताए ।
जिल्लामा जहाँ समस्या आउँछ त्यहाँ तत्काल थप जनशक्ति पठाउनका लागी मेडिकल अधिकृतसहितको एक टोली अलर्ट अवस्थामा राखिएको छ । त्यस्तै जाजरकोट भित्रिने प्रमुख नाका सुर्खेतको सिमाना छेडाचौर र डोल्पाको सिमाना त्रिवेणीमा हेल्पडेस्क स्थापना गरिने भएको छ । जिल्ला सदरमुकाम स्थित शान्तिचौतारा बसपार्कमा पनि हेल्प डेस्क राख्ने निर्णय भएको छ ।
जिल्ला अस्पतालले उच्च ज्वरो, रुघाखोकी तथा स्वासप्रश्वास सम्बन्धि बिरामीलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने निर्णय गरिएको अस्पताल विकास समितिका अध्यक्ष धर्मशिला बस्नेतले बताइन् । ‘स्वास्थ्यजन्य महामारीको दृष्टिकोणले अति संवेदनशील जिल्लाको रुपमा जाजरकोट रहेकोले पनि हामी निकै सचेत छौँ, सतर्क छौँ, ‘उनले भनिन्, ‘स्वास्थ्यकर्मीको मनोवल उच्च हुनेगरी पूर्वतयारी गरिरहेका छौँ ।’
सल्यान अस्पतालमा २० शैयाको ‘आइसोलेसन वार्ड’
सल्यान जिल्ला अस्पतालमा २० शैयाको ‘आइसोलेसन वार्ड’ निर्माण गरिएको छ । कोरोना भाइरस संक्रमितको उपचारका लागि अस्पतालमा २० शैया निर्माण गरी तयारी अवस्थामा राखिएको अस्पतालले जनाएको छ ।
विश्वव्यापी रुपमा कोरोनाको त्रास बढी रहँदा जिल्ला अस्पतालमा कोरोनाको लक्षण देखिने विरामी राख्न छुट्टै आइसोलेसन वार्ड निर्माण गरिएको जिल्ला अस्पताल सल्यानका डा. प्रदिप शर्माले बताए । सम्भावित जोखिमलाई मध्यनजर गर्दै अस्पतालभित्र २० जनासम्म रहन सक्ने गरी आइसोलेसन कक्ष निर्माण गरिएको डा.शर्माको भनाई छ ।
उनले आइसोलेसन वार्डको व्यवस्था गरिए पनि उपकरण र जनशक्तिको अभाव भएको पनि बताए । डा. शर्माले संक्रमितको नजिक जानका लागि प्रयोग गरिने व्यक्तिगत सुरक्षाका लागि सामग्रीको आवश्यकता रहेको बताए । उनले भने वार्ड त निर्माण गरियो यदी डाक्टरले संक्रमितलाई चेकजाँच गर्न जानु पर्यो भने लगाउने एप्रोनसहित (टाउकोदेखि खुट्टासम्म छोप्ने) लुगाको अभाव छ ।
साबुन पानीसहित सेवा
फैलँदो कोरोना भाइरसको सम्भावित जोखिम कम गर्न सल्यानका सबै सरकारी कार्यालयहरूले सेवाग्राहीलाई अनिवार्य साबुनपानीले हात धोएर मात्र कार्यालय प्रवेश गर्न अनुरोध गरेको छ ।
सेवाग्राहीले सेवा लिएर फर्कंदा पनि अनिवार्य रुपमा साबुनपानीले हात धुनुपर्ने व्यवस्था गरिएको प्राथमिक स्वास्थ्य केन्द्र लेकपोखराका निमित्त प्रमुख वीरबहादुर वलीले बताए । ‘नेपाल पनि कोरोनाको जोखिममा छ ।
यस्तो अवस्थामा आम नागरिकलाई सेचत बनाउन यस्तो कार्यको थालनीका गरेका हौं’, वलीले भने । हतासको वातावरण सिर्जना गर्नेभन्दा सचेतना र आत्मबलको विकास गर्न यस प्रकारको कार्य थालनी गरिएको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले बताए ।
‘कोरोना भाइरसबाट बच्ने यो पूर्वतयारी हो,’ अधिकारले भने, ‘नगरपालिकामा सेवा लिनुपूर्व र सेवा लिएपश्चात् साबुनपानीले हात धुने व्यवस्था गरेका छौं ।’
यस्तै बागचौर नगरपालिकाले पनि कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गरेको छ। साथै नगरले विभिन्न ठाउँमा हात धुनका साबुनसहित पानीको व्यवस्था गरेको जनाएको छ ।
युग संवाददाता । । ९ चैत्र २०७६, आईतवार १३:१८