ओलम्पिक सार्न अमेरिका र बेलायतको प्रस्ताव

कोरोना भाइरसको कारण अहिले विश्व खेलकुद नै प्रभावित बनेको छ । सबै खाले खेलकुद गतविधि रोकिएका छन्, खेलकुद ठप्प छ । आगामी जुलाई अगष्टमा जापानमा हुने टोकियो ओलम्पिक पनि कोरोना भाइरसका कारण अन्यौलमा छ ।

जापानले ओलम्पिकका लागि तयार रहेको बताइरहँदा अन्य देशहरुले भने ओलम्पिक सार्ने विकल्प अगाडि सारेका छन् । बेलायत र अमेरिकाले पनि ओलम्पिक सार्न प्रस्ताव गरेको छ । शनिबार अमेरिकाको पौडी संघ र बेलायतको एथ्लेटिक्स संघले पनि यो प्रस्ताव राखेका छन् । दुवै संघले कोरोना महामारीको कारण ओलम्पिक क्यालेन्डर सार्न भनेका हुन् ।

अमेरिकी पौडी संघकाले अमेरिका ओलम्पिक तथा पाराओलम्पिक कमिटीलाई पत्र लेख्दै ओलम्पिक सार्ने प्रस्ताव गरेको छ । ‘ओलम्पिक शुरु हुनु केही महिनाअघि मात्र सबैले नसोचेको असर व्यहोरिरहेका छन् । जसले गर्दा खेल माथि नै प्रश्न उठेको छ’ अमेरिका पौडी संघका प्रमुख हिन्चेले लेखेका छन् । यस्तै युके एथ्लेटिक्सका अध्यक्ष निक कोवार्डले पनि गार्जियनसँगको अन्तर्वार्तामा ओलम्पिक स्थगित गर्नुपर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया