कर्णालीमा कोरोना रोकथाम गर्न वीरेन्द्रनगरमा एकहजार बेडको क्वारेन्टाइन स्थापना गरिदै

सुर्खेत : वीरेन्द्रनगरमा एकहजार बेडको क्वारेन्टाइन स्थापना गरिने भएको छ । प्रदेश सरकारले तत्काल वीरेन्द्रनगरस्थित रेडियो नेपालको परिसरमा रहेको खाली जग्गा र मध्यपश्चिम विश्वविद्यालयमा गरी एकहजार जना अट्ने क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको हो । कोरोना रोकथामका लागि पूर्वतयारी स्वरुप प्रदेश सरकारले यस्तो निर्णय गरेको हो ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभीड–१९) बाट हुन सक्ने संक्रमण र त्यसको उपचार तथा निगरानीका लागि प्रदेश सरकारले क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको हो ।  कोरोना रोकथामका लागि प्रदेश विपद् व्यवस्थापन र विपद् व्यवस्थापन कार्यकारी समितिको शुक्रवार सम्पन्न बैठकले यो निर्णय गरेको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षमा बसेको बैठकले सम्भावित कोरोनाको संक्रमणबाट जोगिन र आपतकालिन व्यवस्थापनका लागि ५० करोडको कोष स्थापना गर्ने निर्णय पनि गरेको हो । कोरोना संक्रमण भएका त्यसको उपचार र निगरानीका लागि रेडियो नेपाल परिसरमा रहेको खाली मैदानमा नेपाली सेनाले क्वारेन्टाइन स्थापना गर्नेछ ।

रेडियो नेपालको खाली मैदानमा नेपाली सेनाको उत्तरपश्चिम पृतना नेवारे सुर्खेतले चारसय बेडको क्वारेन्टाइन स्थापना गर्ने काम शनिवारबाटै सुरु गरिने सेनाले जनाएको छ । अस्थायी टेन्टभित्र नमुना क्वारेन्टाइन बनाइनेछ । अस्थायी टेन्ट निर्माण सम्पन्नपछि नेपाली सेनाका स्वास्थ्यकर्मीहरुले क्वारेन्टाइनमा राखिने व्यक्तिहरुको उपचार गर्नेछन् ।
कोरानाको उच्च सतर्कता र तयारी गर्न निर्देशन भएअनुरुप नेपाली सेनाले सर्वसाधारणलाईसमेत क्वारेनटाईनमा राखेर उपचार गर्नेगरी निर्माण गरिने निर्णय भएको सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए ।

यस्तै मध्यपश्चिम विश्वविद्यालयमा पनि ६ सय बेडको क्वारेन्टाइन स्थापना गरिने सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् । उनका अनुसार विपद् व्यवस्थापन कोषमा तत्काल ५० करोड बजेटको व्यवस्था गर्ने निर्णय पनि भएको उनको जानकारी दिइन् । यो रकम कोरोनाको रोकथामका खर्च हुनेछ । यस्तै प्रदेश सरकारले अत्यावश्यक बाहेक रात्रीकालिन सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको छ ।

साथै सरकारले अबको १० दिनभित्र भारतमा रोजगारीका लागि गएका कर्णालीबासीलाई फिर्ता हुन पनि आग्रह गरेको हो । यस्तै मन्त्रीहरुको संयोजकत्वमा विभिन्न समितिहरु गठन गरिएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको संयोजकत्वमा विशेष समिति, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीको संयोजकत्वमा अनुगमन समिति, समाजिका विकास मन्त्री दल रावलको संयोजकत्वमा कार्यान्वयन समिति र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाको संयोजकत्वमा आपूर्ति समिति गठन गरिएको छ ।

एक साताभित्र क्वारेन्टाइन तयार हुने

नेपाली सेनाको उत्तरपश्चिम पृतना नेवारेका पृतनापति सरोजप्रताप राणाले अबको एक साताभित्र रेडियो नेपाल परिसरमा चारसय बेडको क्वारेन्टाइन निर्माण गरिसक्ने बताए । शनिवारदेखी युद्धयुस्तरमा क्वारेन्टाइन निर्माणको काम शुरु गर्न लागिएको पृनतापति राणाको भनाइ छ ।

‘कोरोना भाइरसको संक्रमण कर्णालीमा देखिएमा तत्काल नेपाली सेनाका स्वास्थ्यकर्मीहरुले निगरानी राख्नेगरी क्वारेन्टाइन निर्माण गरिनेछ’ पृतनापति राणाले भने, ‘कोरोना भाइरसबाट संक्रमितहरुको कसरी उपचार गर्ने भनेर सेनाका स्वास्थ्यकर्मीहरु काठमाडौंमा तालिम प्राप्त गरिसकेका छन्, उनीहरुले नै क्वारेन्टाइनमा आएर थप जनशक्तिलाई तालिम दिनेछन् ।’ कोरोनाको संक्रमण रोक्न र संक्रमण भएको खण्डमा पनि आवश्यक उपचारका लागि सेना तयारी हालतमा रहेको उनको भनाइ छ ।

शैक्षिक भवन र होटलमा पनि क्वारेन्टाइन

नेपालमा हालसम्म कोराना भाइरस (कोभीड–१९) का संक्रमित भेटिएका छैनन् । तर कर्णाली सरकारले आगामी दिनमा कोरोनाका संक्रमितहरु भेटिएमा तत्काल क्वारेन्टाइनमा राख्न शैक्षिक भवन र होटलहरुलाई पनि क्वारेन्टाइनको रुपमा प्रयोग गर्ने तयारी गरेको छ ।

सामाजिक विकास मन्त्रालयमा शुक्रबार बसेको भाइरस (कोभीड–१९) सम्बन्धी रोकथाम तथा प्रतिकार्य बैठकमा कर्णालीका सबै शैक्षिक संस्थाहरु बन्द गर्न र जारी परीक्षाहरु रोक्न सामाजिक विकास मन्त्री दल रावलले निर्देशन दिएका थिए ।

उनले कोरोना भाइरसका संक्रमितहरु हालसम्म नभेटिएकाले आइपर्ने जोखिमको सबै मिलेर सामना गर्न एकवद्ध भएर लाग्न आग्रह गरे । मन्त्री रावलले कर्णालीमा संक्रमण फैलिएमा विरामीहरुलाई क्वारेन्टाइनमा राख्नेगरी शैक्षिक भवन र होटलका कोठाहरुमा राख्ने तयारी सरकारले गरेको जानकारी गराए । जवाफमा सहभागीहरुले सहमति जनाएका छन् ।

तपाईको प्रतिक्रिया