‘सरकार ढाल्न केन्द्रको निर्णय कुर्नु पर्दैन’

सुर्खेत : कर्णाली प्रदेशसभाका सांसद एवम् नेकपा कर्णाली प्रदेशका सह–इञ्चार्ज यामलाल कँडेलले कर्णाली प्रदेश सरकार परिवर्तन गर्न केन्द्रको निर्णय कुर्न नपर्ने बताएका छन् ।

पछिल्लो समय कँडेलले सरकार ढाल्ने प्रयास गरेको आरोप लागिरहेका बेला नेता कँडेलले यस्तो प्रतिक्रिया दिएका हुन् । यद्यपी कर्णालीले सरकार बनाउने र भत्काउने खेलमा आफू नलागेको दाबी गरे । कर्णाली प्रदेश सरकारले दुई वर्षसम्म पनि विकासलाई गति दिन नसकेको बताउँदै उनले संसदले पनि सरकार परिवर्तन गर्न सक्ने बताए ।

‘दुई वटा आधारबाट सरकार परिवर्तन हुन्छ, पहिले पार्टीको केन्द्रीय समितिले निर्णय गर्न सक्छ, दोस्रो संसद आफैले पनि सरकार परिवर्तन गर्न सक्छ ।’ उनले भने ‘तर मलाई सरकार गिराउने र बनाउने भन्दा पनि प्रदेशको विकास निर्माण कसरी गर्ने सकिन्छ भन्ने चिन्ता छ ।’

पार्टी एकतामा पार्टीको केन्द्रीय नेतृत्वले भद्र सहमति गरे पनि संसद आफैलाई पनि सरकार परिवर्तनको अधिकार भएको उनको भनाइ छ । ‘सरकार गठन भएको तीन महिनापछि नै विकल्प खोज्न थालिएको हो, केही सांसदहरुले हस्ताक्षर अभियानसमेत चलाए ।’ उनले भने, ‘बाहिर हल्ला चलेजस्तो कुनै व्यक्तिलाई मन्त्री र मुख्यमन्त्री बन्नको लागि नभइ विकास निर्माण र प्रदेशको समृद्धिका सरकार परिवर्तनको अभ्यास भइरहेको छ ।

तपाईको प्रतिक्रिया