वडा अध्यक्षमाथि नै जातीय विभेद

कालिकोट : जिल्लाको नरहरिनाथ गाउँपालिका ७ का दलबहादुर बुढाले सोही वडाका अध्यक्ष दलबहादुर विश्वकर्मामाथि छुवाछुत गरेको भन्दै कुटपिट गरेका छन् ।
आरोपी बुढाविरुद्ध जातीय छुवाछुत भेदभाव गरेको भन्दै पीडित वडाध्यक्ष विकले जिल्ला प्रहरी कार्यालय कालिकोटमा उजुरी दिएका छन् ।

आरोपी बुढाले फागुन २९ गते वडा कार्यलयमै पीडित विश्वकर्मालाई डुम कोमारा भन्दै हातपात तथा गाली गलौज र जातीय विभेद हुनेखालका शब्द प्रयोग गरी दुव्र्यवहार गरेको वडा अध्यक्ष बिकले आरोप लगाएका छन् । कार्यालय समयमा वडा कार्यालयमै डुम कमारा वडाध्यक्ष भएदेखि धारो पँधेरो छुने, घरभित्र पस्ने भन्दै गाली गर्नुका साथै हातपात समेत गरेको पीडित विकले बताए ।

उनका अनुसार सोही वडाका पूर्व प्राविधिक सहायक समेत रहेका आरोपी बुढाले कार्यालयमा वडाध्यक्षकै कार्यकक्षमा आइ कुटपिट गरेका छन् । वडा अध्यक्ष विकले भने, ’करीब पाँच वर्ष अगाडिदेखि दलबहादुर बुढा वडामा प्राविधिक सहायकका रुपमा काम गथ्र्ये । अहिले लोकसेवाबाट गाउँपालिकाले स्थायी प्राविधिकका रुपमा उनलाई करारमा नियुक्त गरेको छ ।

बुढाले मलाई जागिरबाट हटाउन वडा अध्यक्ष भएर तैले पहल गरिस् भन्ने गलत आरोप लगाएर आफूमाथि दुव्र्यवहार गरेको बताए । पीडितको आर्थिक अवस्था कमजोर भएकाले नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ, साझा आवाज परियोजनाको सहयोगमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराइएको छ ।  पीडितको न्यायको पहुँचसम्म पुग्नसक्ने आर्थिक अवस्था नभएकाले २५ सय उजुरी लेखाउने खर्च, आउँदा जाँदा खाना खर्च उपलब्ध गराइएको संघका जिल्ला संयोजक चित्रबहादुर विश्वकर्माले बताए ।

जातीय छुवाछुत तथा भेदभावपूर्ण व्यवहारसम्बन्धी जाहेरी आएकाले आरोपीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामबावु ओलियाले बताए । उनले भने,’ जिल्ला प्रहरी कार्यालयमा वडा अध्यक्ष दलबहादुर विश्वकर्मा आएर आफूलाई जातीय विभेद गरी दुव्यवहार गरेको भनी उजुरी दिएपछि प्रहरीको टोली गाउँमा पठाएर पीडकलाई पक्राउ गरिएको छ ।

उनलाई जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरिएको छ । यता आरोपी बुढाले आफूले वडा अध्यक्षमाथि जातीय विभेद नगरेको प्रतिक्रिया दिएका छन् । उनले वडा अध्यक्षमाथि सामान्य विवाद भएपनि उनको मानहानी हुनेगरी गाली बेइजेती तथा जातीय विभेद गरी दुव्र्यवहार नगरेको प्रतिक्रिया दिएका छन् । नेपालको संविधान २०७२ को भाग ३, धारा २४ मा छुवाछुत तथा भेदभावविरुद्धको मौलिक हकमा जातीय भेदभावविरुद्ध दण्डनीय व्यवस्था गरेको छ ।

जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ को दफा ७ मा कसुर र विभेदको अवस्था हेरेर तीन महिनादेखि तीन वर्षसम्म कैद, एक हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ । दलित अधिकारकर्मी रमेश नेपालीले जिल्लामा प्रतिनिधि नै जातीय विभेदमा पर्ने गरे‍को बताए।केही दिन अगाडि मात्र सान्नीत्रिवेणी गाउँपालिका ६ का वडा अध्यक्ष रंगराज सार्की आफूलाई वडा सचिव रामप्रसाद संज्यालले विभेद गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिन आएका थिए । पछि वडा सचिव संज्यालले माफी मागेपछि घटनाको मेलमिलाप भएको थियो ।

तपाईको प्रतिक्रिया