गुराँसेमा भ्यू टावर

दैलेख : गुराँस र तरकारी खेतीले चर्चामा रहेको दैलेखको गुराँसे क्षेत्र पर्यटकको गन्तव्य स्थल बनाउन भ्यू टावर निर्माण थालिएको छ । समुन्द्री सतहदेखि करिब २५ सय मिटरको उचाईमा रहेको गुराँसेमा निर्माण थालिएको भ्यू टावरको काम अन्तिम चरणमा पुगेको छ ।

पर्यटक भित्र्याउन ५० फिट अग्लो भ्यू टावर निर्माण गर्न लागिएको हो । गुराँस गाउँपालिका वडा नम्बर ४ र ५ को सिमानामा निर्माण थालिएका भ्यू टावर सरस्वती सामुदायिक वनमा पर्छ । बसन्त ऋतुमा ढकमक्क फुलेका गुराँस र हिउँदमा हिउँ हेर्न गुराँसे क्षेत्रमा पर्यटकहरु आउने गर्छन् । आन्तरितक तथा बाह्य पर्यटकका लागि बाह्रै महिना घुम्नका लागि नयाँ पर्यटकीय स्थलको रुपमा भ्यू टावर निर्माण थालिएको हो ।

कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको क्रमागत बजेट अन्तरगर्त ६० लाख लागतमा भ्यू टावर निर्माण गरिएको डिभिजन वन कार्यालय दैलेखका डिभिजनल वन अधिकृत मुनबहादुर रावतले बताए । उनका अनुसार गुराँसे क्षेत्रमा पर्यटनलाई जोगाई पर्यटकको संख्यामा वृद्वि गर्न भ्यू टावर निर्माण गर्न लागिएको हो ।

भ्यू टावरसँगै गुराँसको बिरुवा समेत बनाइएको छ । एक मौषममा मात्रै फुल्ने गुराँसलाई बाह्रै महिनासम्म झल्काउने गरी गुराँसको रुख नै बनाइएको डिभिजनल वन अधिकृत रावतले बताए । गुराँसको बिरुवामा बाघ, डाँफे, गिद्व, चरा, सर्प लगाएतका आकृति समेत निर्माण गरिएको छ । निर्माण नसकिदै भ्यू टावर अवलोकनका लागि आउने आन्तरिक पर्यटक बढ्न थालेपछि स्थानीय उत्साहित बनेका छन् ।

गुराँसे क्षेत्रबाट भदौदेखि कार्तिकसम्म पश्चिममा अपी र सैपाल हिमाल, उत्तरमा कान्जिरुवा, सिस्ने हिमाल,उत्तरपूर्वीमा धौलागिरी, अन्नपूर्ण क्षेत्र र दक्षिणमा सुर्खेतसंगै तराईको चारकोसे जंगल, तराईका चौकोर खेतहरु र बाँके, बर्दिया, कैलालीका फाँटहरु अवलोकन गर्न सकिने स्थानीय कुलबहादुर थापाले बताए । भ्यू टावर निर्माण पश्चात सामुदायिक वन र गाउँपालिकालाई हस्तान्तरण गरिनेछ ।

भ्यू टावरको डिपीआर गुराँस गाउँपालिकाले बनाएको थियो । गाउँपालिकाले गत बर्ष देखि गुराँस संरक्षण कार्यक्रम अन्तरगर्त गुराँस भ्यू टावर निर्माण, गुराँस टिप्न प्रतिबन्ध लगायतका काम गरिरहेको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताए । गुराँस तरकारी खेतीका लागि प्रसिद्ध क्षेत्र हो ।

तपाईको प्रतिक्रिया