डोजरमा आगजनी

जाजरकोट : बारेकोटमा मंगलबार राती अपरिचित समुहले डोजरमा आगजनी गरेको छ । बारेकोट गाँउपालिका जोड्ने हान्नेसल्ला—लिम्सा सडक खन्न लगिएको रेगन निर्माण सेवा सुर्खेतको डोजरमा आगजनी भएको हो ।

सडक निर्माणको लागि बारेकोट लगिएको बा ३ क ४०८६ नम्वरको डोजर बारेकोट गाउँपालिका १ धौलाकोट खडकरी भन्ने स्थानमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । आगलागीबाट डोजरका पुरै पाटपुर्जा जलेको छ ।

डोजर किन र कसले आगजनी गरेको हो भन्ने खुल्न नसकेको प्रहरी जनाएको छ । नेत्रविक्रम चन्द्र विप्लब नेतृत्वको नेकपाका कार्यकर्ताले डोजर मालिक दानबहादुर खडकासँग केही समय अघि मोटो रकम चन्दा मागेको तर दिन आलटाल गरेपछि जलाएको हुन सक्ने आशंका गरिएको छ ।

डोजर मालिक खड्काले चन्दा नदिन डोजर जलाउने धम्की बारम्बार आएको सुनाए । तर अहिलेसम्म आगजनीको जिम्मा कसैले लिएको छैन । घटनास्थल सदरमुकामबाट दुई दिनको पैदल दुरीमा पर्छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक किशोर सिह श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया