कोरोना रोक्ने सरकारको कदम : अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह

सुर्खेत : सरकारले अत्यावश्यक काम बाहेकको अवस्थामा घर बाहिर ननिस्कन आह्वान गरेको छ । बुधबार बसेको कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न आह्वान गरेको हो ।

त्यस्तै धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन बन्द गर्ने निर्णय पनि सरकारले गरेको छ । सार्वजनिक यातायातमा पनि सिट क्षमता भन्दा बढी यात्रु नबोक्न सरकारले निर्देशन दिएको छ । विश्वभर कोरोना (कोभिड–१९)को त्रास फैलिदा त्यसको प्रभाव नेपालका समेत विभिन्न क्षेत्रमा परेको छ । कोरोना संक्रमण तथा रोकथामका निम्ति सरकारले विभिन्न कार्यक्रम सार्वजनिक गरिसकेको छ ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले बुधबार १५ बुँदे निर्णय गरेको हो । सरकारले चैत मसान्तसम्म सबै विद्यालय र कलेज बन्द गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले कारोनाको विषयमा भ्रम फैलाउने र सामान लुकाउनेलाई कारबाही गर्ने लगायत विभिन्न १५ बुँदे निर्णय गरेको हो । चीनको वुहानबाट फैलिएको कोरोना विश्वका एकसय ६३ देशमा फैलिएको छ । छिमेकी देश भारतमासमेत तीन जनाको मृत्यु भइसकेको अवस्थामा नयाँ रणनीति बनाउने योजनासहित उच्चस्तरीय समितिको बैठक बसेको हो ।

बबईमा उच्च सतर्ककता

छिमेकी मुलुक भारतमा कोरोना भाइरस (कोभीड–१९) का संक्रमित बढ्दो क्रममा छन् । हालसम्म भारतमा कोरोना भाइरसबाट तीन जनाको मृत्यु र एकसय ५८ जना संक्रमित भेटिएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

कर्णालीका विभिन्न जिल्लाबाट रोजगारीका लागि भारत जानेको संख्या उल्लेख्य छ । तर भारतमा कोरोना भाइरसको संक्रमण फैलिदै गएपछि घर फर्कने कर्णालीबासीहरुको संख्या पनि ह्वात्तै बढेको छ । कर्णाली भित्रने मुख्य नाका रत्न राजमार्गको बबईबाट दैनिक एकसय बढी यात्रुहरु भारतबाट फर्कने रहेको जनस्वास्थ्य कार्यालय सुर्खेतका वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननिधी वाग्लेले जानकारी दिए ।

उनले भने, ‘बबईमा चेकजाँचमा कडाई गरेका छौं, भारतबाट धेरै यात्रु भित्रिन थालेकाले पनि हामीले उच्च सतर्कता अपनाएका हौँ ।’ सरकारले चीनसँग सीमा जोडिएको उत्तरी नाका हिल्सा, सल्यानको कपुरकोट, सुर्खेतको विमानस्थल र कुइनेमा हेल्थडेस्क स्थापना गरेको छ । ‘बबईमा मुख्य नाका हो, यात्रुहरुको चाप बढी छ । तर चेकजाँचमा कम जनशक्तिले भ्याइनभ्याइ छ’ यात्रु कल्पना शाहीले भनिन्, ‘अझै सरकारले उच्च सतर्कता अपनाउन जनशक्ति थपमा तीव्रता दिन जरुरी छ ।’


बबईमा हेल्थडेस्क स्थापना गरेको एक सातापछि सामाजिक विकास मन्त्रालयले उच्च सर्तकता अपनाउन थप जनशक्ति पठाएको छ । बुधबार ३२ जना हेल्थ असिस्टेन पठाइएको मन्त्रालयका प्रवक्ता विष्णुप्रसाद अधिकारीले जानकारी दिए । ‘आज २६ जना स्टाफ नर्स, अनमीहरु पनि पठाउँदै छौं’ प्रवक्ता अधिकारीले भने, ‘भारत गएका नेपालीहरु धमाधम नेपाल फर्कन थालेपछि उच्च सतर्कता अपनाउन जनशक्तिहरु थप गरेका हौं ।’ अन्य प्रदेशहरुको तुलनामा कर्णाली सरकारले कोरोना भाइरससँग जुध्न सबै तयारी गरिसकेको प्रवक्ता अधिकारीको दावी छ ।

एसईई स्थगित

सरकारले अन्तिम समयमा आएर माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा स्थगित गरेको छ । आजदेखि सुरु हुने भनिएको एसईई परीक्षा अर्को निर्णय नहुन्जेलसम्मका लागि रोक्ने निर्णय गरिएको हो ।

उपप्रधान एवम् रक्षामन्त्री ईश्‍वर पोखरेलले बुधबार परीक्षा स्थगित गरिएको जानकारी दिए । ‘परिस्थितिको गम्भीरतालाई विश्लेषण गरेर एसईईसहितका परीक्षाका पूर्वानिर्धारित कार्यक्रम रोक्ने निर्णय भएको हो’, उनले भने ।

सम्भावित जोखिमबारे आवश्यक परामर्श लिएर एसईई रोक्ने निर्णय भएको उपप्रधानमन्त्री पोखरेलले जानकारी दिए । यसअघि निर्धाति एसईई परीक्षामा देशभरका कुल चार लाख ८२ हजार दुईसय १९ परीक्षार्थी सहभागी हुँदैथिए । त्यसका लागि एक हजार नौ सय ९५ परीक्षा केन्द्र तोकिएको थियो ।

नेपालगञ्ज नाकाबाट प्रवेश निषेध

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि स्वास्थ्य जाँचबिना नेपाल–भारत प्रवेशमा रोक लगाइने भएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि नेपाल र भारतका अधिकारीबीच भएको छलफलपछि जाँचबिना सीमामा ओहोरदोहोर गर्न रोक लगाइने भएको हो ।

कोरोना भाइरसको सङ्क्रमण फैलनसक्ने भन्दै नेपाल–भारत दुवै देशका अधिकारीले सीमाक्षेत्रमा सुरक्षा र स्वास्थ्य जाँचलाई अझ कडा बनाइने निष्कर्ष निकालेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार