एसईई परीक्षा नरोकिने भर्ना नलिन अपील

काठमाडौं : सरकारले बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) नरोक्ने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार अपील जारी गर्दै परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको बताएका छन् ।

६ देखि १७ चैतसम्म हुने परीक्षामा देशभरका कुल ४ लाख ८२ हजार २१९ परीक्षार्थी सहभागी हुनेछन् र, १ हजार ९९५ परीक्षा केन्द्र तोकिएको छ । पर्याप्त सावधानी अपनाएर परीक्षा सञ्चालन र व्यवस्थापन गर्न लागिएको मन्त्री पोखरेलले बताएका छन् । उनले आफ्नो अपीलमा भनेका छन्, ‘विद्यार्थीहरुलाई परीक्षा केन्द्रमा स्वास्थ्य सहायता प्रदान गर्न प्रत्येक परीक्षा केन्द्रहरुमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने प्रबन्धका लागि ७५३ वटै स्थानीय तहहरुलाई अनुरोध गरिसकिएको छ ।’

मन्त्रालयले विद्यार्थीहरुलाई साबुनपानी प्रयोग गरेर हात धुन, मास्क प्रयोग गर्न, अरुसँग हात नमिलाउन र सकभर भीडभाडमा नजान आग्रह गरेको छ । साथै परीक्षा केन्द्रमा अनावश्यक रुपमा जम्मा भएर भीडभाड नगर्न पनि सबैलाई अपील गरेको छ । कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा भने एसईई परीक्षा सुरु हुने दिनको अघिल्लो दिन अर्थात चैत ५ गते सकिनेछ ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणको क्रास बढेसँगै स्कुल बन्द गर्नुपर्ने अवाज पनि उठेको थियो । तर मन्त्रालयले स्कुल बन्द गर्नुको साटो परीक्षा अगाडि सार्न आग्रह गर्‍यो । त्यसअनुसार सबै स्कुलले परीक्षा लिइरहेका छन् र भोलिसम्म सबै परीक्षा सकिनेछ ।

परीक्षा सकिएपछि करीब ७० लाख बालबालिका घर परिवारमा हुने भन्दै शिक्षा मन्त्रालयले भनेको छ, ‘मुलुकको विशेष परिस्थितिलाई ध्यानमा राखेर विद्यालयमा सांस्कृतिक कार्यक्रम, बार्षिक अभिभावक दिवस, नतिजा सार्वजनिकीकरण, प्रवेश परीक्षा वा भर्नाका नाममा भीडभाड वा आम भेला नगर्न सबैमा अनुरोध छ ।’

सरकारले सहुलियत पसल सञ्चालन गर्ने

सरकारले सहुलियत पसल सञ्चालन गर्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड(१९)का कारण बजारमा अत्यावश्यक बस्तुमा भएको कालोबजारी रोक्न पसल सञ्चालन गर्न लागेको हो ।

संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता समितिमा सांसदहरुको प्रश्नको जवाफ दिदै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत सहुलियतपूर्ण पसल सञ्चालन गरिने जानकारी दिएका हुन् ।

केही दिनमै सञ्चालनमा आउने पसलमा नुन, चिनी, चामल, दाल, ग्याँस, इन्डक्सन चुल्हो उपलब्ध हुने मन्त्री भट्टले बताए । त्यस्ता सामग्रीहरु बिक्री गर्न घुम्ती पसल पनि सञ्चालनमा ल्याइने मन्त्री भट्टको भनाइ छ । कोरोना संक्रमण रोक्ने उच्चस्तरीय समितिको योजनाअनुसार नै देशभर यस्ता पसलहरु सञ्चालन गरिने मन्त्री भट्टले जानकारी दिए ।

तपाईको प्रतिक्रिया