दैलेखबाट फर्काइए भारतीय प्रहरी

दैलेख : भारतको हरियाणा प्रदेशबाट बर्दीसहित भारतीय प्रहरी दैलेख पुगेका छन् । तीनजना प्रहरी बर्दीमा नेपाल प्रवेश गरेका छन् । एक जना सहायक निरीक्षक (सई) को नेतृत्वमा हवल्दार र सिपाही गरी तीन जना भारतीय प्रहरी दैलेख सदरमुकाममा पुगेका हुन् ।

भारतीय प्रहरीको बर्दीमा बजारमा हिँडेपछि जिल्ला प्रहरी कार्यालय, दैलेखको टोलीले उनीहरुलाई मंगलबार नियन्त्रणमा लिएको थियो । सोधपुछका क्रममा उनीहरुले भारतमा चोरी र घरमा विषादी हालेर खाना खुवाएको अभियोग लागेका व्यक्तिको ठेगाना खोज्दै आफूहरु दैलेख आएको बयान दिएका छन् ।

उनीहरुले एक व्यक्तिको नाम र फोटो लिएर नेपाल आएको जिल्ला प्रहरी कार्यालय, दैलेखका निमित्त प्रमुख प्रहरी निरीक्षक नैनबहादुर साउदले बताए । प्रहरी निरीक्षक साउदका अनुसार उनीहरुले गोरखपुर हुँदै सादा पोशाकमै दैलेख आएको बताएका छन् ।

तर, होटलबाट निस्किने बेला भने पोशाकमै प्रहरी कार्यालय जाँदा सहज हुने सोचेर फेरेको उनीहरुले बताएका छन् ।  यद्यपि, सीमा क्षेत्रमा नेपाल प्रहरी र भारतीय प्रहरीबीच अनौपचारिक रुपमा समन्वय हुने गरेको छ । यो घटनामा बर्दीसहित छिरेर बजार डुलेपछि विवाद उत्पन्न भएको अधिकृतहरु बताउँछन् । उनीहरुलाई मंगलबार नै भारत फर्काइएको छ ।

तपाईको प्रतिक्रिया