प्रांगारिक खेतीमा जम्दै सिँजाली

जुम्ला : सिँजा गाउँपालिका–२ का प्रेमबहादुर खत्री प्रांगारिक खेती गर्न निकै हौसिएका छन् । उनले दुई वर्षयता कृषिमा विषादी प्रयोग गरेका छैनन् । ‘म आफू पनि रासायनिक विषादी प्रयोग गर्दैन, अरु किसानलाई पनि विषादी प्रयोग नगर्न सहजीकरण गर्दै आइरहेको छु,’ प्रेमबहादुरले भने, ‘अहिले प्रांगारिक खेती आवश्यक छ । प्रांगारिक वस्तुको माग तीव्र छ ।’

स्वास्थ्यका हिसाबले पनि प्रांगारिक खेती अंगाल्न थालेको उनी बताउँछन् । उनले भने, ‘आँगनमा गाडी गुड्छन्, तर हामीले कृषि जन्य वस्तु पठाउन सकेका छैनौं । अब प्रांगारिक खेती गरेर कुनै पनि गाडी खाली जान दिनु हुँदैन ।’ अहिले उनी आफ्नो खेतबारी र पाखोबारीमा लगाउने कुनै पनि कृषि वस्तुमा विषादी प्रयोग गर्दैनन् ।

सिँजाकै सुनकेशा नेपाल पनि गाउँगाउँमा प्रांगारिक खेतीबारे जागरण फैलिएको बताउँछिन् । पुर्खाले गर्दै आइरहेको खेती प्रणाली बचाउन आफूहरू लागिपरेको बताउँदै उनले थपिन्,  ‘अब सिंगो सिजा क्षेत्रलाई प्रांगारिक क्षेत्रका रुपमा स्थापित गरेर लाग्ने प्रेरणा मिलेको छ ।’ प्रांगारिक सिँजा घोषणा गरेर कृषि क्षेत्रमा निकै ठूलो हलचल ल्याउन किसान जमिरहेका छन् ।

कर्णाली प्रदेश सरकारले सिँजा क्षेत्रका तीनवटा स्थानीय तहमा एकै साथ अर्गानिक नमुना गाउँ अभियान थालेपछि किसान उत्साहित छन् । प्रांगारिक सिँजा बनाउन थुप्रै चुनौती छन् । तर किसान प्रांगारिक खेती गर्न उत्साहित छन् । जिल्ला कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटा किसानलाई प्रांगारिक खेती गर्ने तौरतरिका र जैविक मल उपलब्ध गराइरहेको बताउँछन् । अहिलेका तीनवटा स्थानीय तह तत्कालीन सिँजा क्षेत्रका ११ वटा गाविस मिलेर बनेको हो। प्रांगारिक वस्तु उत्पादन गरेर जुम्लालाई चिनाउने किसान बताउँछन् । अब हरेक कार्यक्रमदेखि भोजभतेर, भेला, सम्मेलन गोष्ठीमा समेत यहाँकै खान्की उपलब्ध गराउने तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया