महाधिवेशन तयारीका लागि सिटौला समूहले सुरु ग‍¥यो गुट भेला

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति निश्चित भएसँगै पार्टीभित्र भावी नेतृत्वका लागि कसरत तीव्र हुँदै गएको छ । १३ औँ महाधिवेशनमा ‘तेस्रो धार’ खडा गर्दै नेतृत्वको प्रतिस्पर्धामा होमिएको कृष्णप्रसाद सिटौला नेतृत्वको समूहले सोमबार बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा गुट गरेको छ ।

१३ औं महाधिवेशनमा उक्त समूहले सभापतिमा सिटौला र महामन्त्रीमा गगन थापालाई उतारेको थियो । सोमबारको भेलामा सिटौला समूहमा रहेका नेताहरु थापा, भीमसेनदास प्रधान, प्रदीप पौडेल, शिवप्रसाद हुमागाईं लगायतका नेताहरु सहभागी थियो । गुट भेलालाई सिटौला समूहले ‘मिटिङ’को संज्ञा दिएको छ । कांग्रेसभित्र सिटौला समूह तितरवितर भयो भन्ने हल्ला खण्डन गर्न भेला आयोजना गरिएको श्रमिक तथा ट्रेड युनियन विभाग प्रमुख समेत रहेका केन्द्रीय सदस्य हुमागाईंले जानकारी दिए ।

उनले भने, ‘सिटौला समूह तितरवितर भयो भन्ने हल्ला चलाइएको थियो। त्यसलाई खण्डन गर्न पनि हामी भेला भएका हौं। सिटौला समूह एकजुट छ भन्ने सन्देश दिन खोजेकै हो ।’ यसअघि वरिष्ठ नेता रामचन्द्र पौडेलले युवा नेताहरु गगन थापा र प्रदीप पौडेल आफूसँग रहेको दाबी गरेका थिए । भेलामा उपत्यकामा उपलब्ध सिटौला पक्षीय दुई सय हाराहारी नेता तथा कार्यकर्ता सहभागी थिए । भेलालाई सम्बोधन गर्दै सिटौलाले आफू संस्थापन वा अर्को पक्षमा नगएको र त्यस्ता हल्लाको पछि लागेर भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरेका थिए ।

को कहाँ भन्ने भ्रम सिर्जना भएकाले त्यसलाई चिर्न भेला आयोजना गरिएको सिटौलाल उल्लेख गरे । उनले भने, ‘म छुट्टै छु, कहीँ मिसिएको छैन । मसँग भएका साथीहरु सबै एक ठाउँमा छौं । अब पुरानो ढंगले कांग्रेस चल्दैन ।’ पूर्वमहामन्त्री समेत रहेका सिटौलाले महाधिवेशनका लागि तयारी तीव्र पार्न आफू पक्षीय नेताहरुलाई आग्रह गरे । सिटौलाले तोकिएकै मितिमा महाधिवेशन गराउन दबाब दिनुपर्ने उल्लेख गरे । कांग्रेसको १४औं महाधिवशेन २०७७ फागुन ७ देखि १० गतेसम्म हुँदैछ ।

त्यस्तै भेलालाई सम्बोधन गर्दै गगन थापाले तोकिएको मितिमा महाधिवेशन नभए सभातिकै कारण नहुने उल्लेख गर्दै तयारी तीव्र पार्नुपर्ने बताए । ‘अब पनि महाधिवेशन नभए सभापतिकै कारणले हुँदैन । मिति तोकिएपछि पनि महाधिवेशनलाई प्रभावित पार्न गैरजिम्मेवार काम गर्दै हिड्नुभएको छ ।  समयमै महाधिवेशन गराउन र परिणाम आफ्नो पक्षमा पार्न लाग्नुपर्ने बेला भएको छ, उनले भने । कांग्रेसको १४औँ महाधिवेशनमा संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा, पौडेल समूहबाट उनी स्वयम्, कोइराला परिवारबाट महामन्त्री शशांक वा शेखर कोइराला, प्रकाशमान सिंह र सिटौला सभापतिको आकांक्षी देखिएका छन् । सभापतिकै तयारीका लागि शेखर कोइराला चार वर्षदेखि निरन्तर देश दौडाहामा छन् भने अरु नेताहरुले पनि कसरत तीव्र बनाएका छन् ।

तपाईको प्रतिक्रिया