राउटेलाई सहरले बिगा‍¥यो ! ‘तिमीलाई सहरको राजा मान्छौं, हामीलाई जंगलको राजा किन नमान्ने ?’

सुर्खेत : प्रशासनिक र राजनीतिक हिसाबले हेर्ने हो भने नेपाल ७७ जिल्लामा बाँडिएको छ । सात प्रदेशमा बाँडिएको नेपालमा कर्णाली प्रदेश जम्मा १० जिल्ला मिलेर बनेको छ । कर्णाली प्रदेश अन्य प्रदेशको तुलनामा विकटता मात्रै होइन, विविधता पनि बोकेको छ ।

कर्णाली यस अर्थमा पनि फरक छ कि त्यहाँ लोपोन्मुख जातिमा सुचीकृत राउटे जातिको बसोबास छ । राउटे जाति फिरन्ते जीवन बिताउँछन् । उनीहरु एकै ठाउँमा नबस्ने भएकाले अहिलेसम्म उनीहरुको हातमा ‘नेपाल सरकार’को नागरिकता परिचयपत्र पुगिसकेको छैन । राउटे समुदाय नेपाली राज्य व्यवस्थाले खडा गरेको ‘सरकार’सँग कुनै मतलब छैन । उनीहरुको आफ्नै सरकार छ ।

आफ्नै मुखिया छन् । जहाँ जान्छन्, आफ्नै नीति र नियममाथि टेकेर चल्छन् । आफ्नै सरकार खडा गरेर जीवन बिताउने समुदाय भएकैले ऋति फाउन्डेसनले सुर्खेतमा आयोजना गरेको ‘कर्णाली उत्सव’मा एउटा बहसको सुरुवात गरिएको थियो, ‘कर्नालीको एघारौं जिल्ला !’ जसमा राउटे समुदायलाई ११ औं जिल्लाको बिम्बात्मक रुपमा लिइएको थियो ।

राउटे समुदायकै प्रतिनिधित्व हुने गरी सम्भवतः कुनै बहस कार्यक्रममा राउटे महामुखियालाई नै उभ्याइएको त्यो पहिलो अभ्यास थियो । बहसमा राउटे समुदायका महामुखिया मैनबहादुर शाहीसँगै दैलेख जिल्लाको गुराँस गाउँपालिका अध्यक्ष खेमराज ओली, मानवशास्त्री एवं अध्येता डा डम्बर चेम्जोङ, राउटेकी भाञ्जीका रुपमा चर्चित सामाजिक अभियनता सत्यदेवी अधिकारी सहभागी थिए ।

२०६८ को जनगणना तथ्यांकअनुसार नेपालमा जम्मा ६ सय १८ जना संख्यामा राउटेको बसोबास थियो । तर, पछिल्लो पटकका गरिएका विभिन्न अध्ययनले राउटेको संख्या १५१ मात्र देखाएको छ । राउटे खस आर्य जातिकै ठकुरी अन्तर्गत पर्दछन् । कर्णाली र आसपासका क्षेत्रमा फिरन्ते जीवन बिताउने यो समुदाय खस भाषा बोल्दछन् । बाँदरको शिकार, कन्दमुललगायत जंगलमै उत्पादन हुने फलफूल खाएर जीविकोपार्जन गर्दछन् ।

राउटे समुदाय विभिन्न मुखिया हुन्छ्न् । तर, ती मुखियालाई सम्बोधन गर्ने एउटा मुख्य मुखिया हुन्छ, जसलाई उनीहरुले महामुखियाका रुपमा चुनेका हुन्छन् । पहिले जुत्ता लगाउँदैनथियाँ, अहिले लाउन सिक्याँ । सबै सहरले सिकायो त । अहिले त बोइलर पनि खान थाल्याँ । एकदिन हाम्रा केटाकेटी पनि घरमा बस्न सिक्लान् त के रे ! अहिले राउटेहरुको महामुखिया मैनबहादुर शाही छन् ।

४० वर्षको वर्षको उमेरमा आफू महामुखिया चुनिएको बताउने शाही महामुखिया भएको पनि २० वर्ष भइसकेको बताउँछन् । ‘मुखिया भन्दा म केटै थियाँ । अहिले त बुढो भइग्याँ,’ भन्छन्, ‘महामुखिया अलि धेरै बोल्ने, जान्ने र अरु मुख्येलाई सम्झाने हुनुपर्छ ।’ उनले विभिन्न चार थरिका मुखिया हेर्नुपर्ने जिम्मा आफूमा भएको बताउँछन् ।

आफ्नै राजा, आफ्नै सरकारको नीति नियमभित्र बाँच्ने राउटे समुदायलाई ‘सहरको राजा अथवा सरकार’ले दुख नदिएको महामुखिया शाही सुनाउँछन् । ‘सहरको सरकारले राम्रो गरेको छ । नराम्रो ग‍¥याउछैन । हामुरको लागि मैनामैनामा भत्ता पठायाउँछ,’ भन्छन्, ‘कति गुण मान्याउँछ, कति राम्रो मान्याउँछ ।

हामीलाई धेरै धेरै काम पनि गर्नुपर्दैन भन्या छ ।’ आफूहरु जहाँ गए पनि त्यहीँ सहरको सरकार भत्ता लिएर आउँदा आफूहरुलाई खुसी लागेको उनले खुलाए । राउटे समुदायका नागरिकलाई सरकारले २०५२ सालदेखि मासिक पाँच सय रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ । तत्कालीन समयमा भत्ताका रुपमा मासिक भत्ता बुझ्न थालेपछि उनीहरुले अर्थमन्त्रीलाई ‘पैसा मन्त्री’का रुपमा बुझ्न थालेका थिए ।

उनीहरुलाई लाग्थ्यो, ‘पैसा मन्त्रीले पैसा बनाउँछ र प्रधानमन्त्री बाँड्छ ।’  पैसा छाप्ने पैसामन्त्री (अर्थमन्त्री) र बाँड्ने प्रधानमन्त्रीलाई भेट्न राउटे समुदाय २०६६ पहिलो पटक बालुवाटार छिरेका थिए । तत्कालीन समयमा उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल, तत्कालीन राष्ट्रपति रामवरण यादव, अर्थमन्त्री बाबुराम भट्टराई लगायतलाई भेटेर हातले बनाएको काठको सामाग्री उपहार दिएका थिए । त्यतिबेलासम्म आफूहरुको टाउको गन्ने (संख्या गन्ने) चलन नभएको बताएका थिए ।
अहिले पनि राउटेहरु एकै ठाउँमा स्थायीरुपमा बस्दैनन् ।

जहाँ बस्छन्, त्यहाँ आफन्त बितेपछि त्यही ठाउँमा गाडेर अन्यत्र सर्ने उनीहरुको चलन छ । त्यसरी एक ठाउँदेखि अर्को ठाउँमा स्थानान्तरण गर्दा जहाँ रात पर्छ, त्यहीँ उनीहरु बास बस्ने गर्दै आएका छन् । ‘हाम्रो घर, ठाउँ हुँदैन । राणा शासनबाटै घरमा नबसेर हिँडिराख्या छौं । हामीलाई घुम्ने माया लाग्छ । जसको गाउँपालिका, नगरपालिका बस्या पनि हाम्रै हो,’ आदिवासी राउटे समुदायका महामुखिया मैनबहादुर शाही भन्छन्,’ जहाँ बसेपनि जंगलै प्यारो छ ।


यसमा सरकारको दोष होइन । नेपाली जनताको दोष छैन ।’ राज्यले एक ठाउँमा बस्न आग्रह गरे पनि त्यसमा आफूहरुले मन नपराउने बताउँछन्, महामुखिया शाही । ‘सहरमा बस्न मन पर्दैन । सबै सहरमा बस्न मन गर्दैनन् । सबै सहरमा बस्ने मन नगर्‍यापछि म राउटे महामुखियामात्रै कसरी बस्नु ?’ उनी प्रश्न गर्छन्, ‘हामी त वनका राजा हो । ७५ जिल्लाबाट ७७ जिल्ला बनायो । तर, हाम्रा लागि जंगल न मन पर्छ ।’

हो, राउटेका महामुखिया मैनबहादुर शाहीलाई थाहा छ कि देशमा ७५ जिल्लाबाट बढेर ७७ पुगिसक्यो । उनी भन्छन्, ‘जति बढी बढ्यो । सबै हाम्रो पनि हो । सबै उस्तै राम्रो लाग्छ ।’ नेपाली नागरिक हुनुको परिचय पत्रविहीन जिइरहेका राउटे समुदायलाई पहिलो पटक २०७४ साल असारमा परिचय पत्र प्रदान गरेर ‘नेपाली’ बनाइएको थियो ।  र, यसको सुरुआत गरेको थियो । दैलेख जिल्लाको गुराँस गाउँपालिकाले ।

केही समयअघि सम्म दैलेखको गुराँस गाउँपालिकामा बसोबास गरिरहेका राउटे समुदाय अहिले नयाँ ठाउँ वीरेन्द्रनगरको खहरेखोला, बराह तालमा बसाइँ सरेका छन् । राउटे महामुखिया शाही आजभोलि वीरेन्द्रनगर बस्दै आएको भए पनि केही समयपछि फेरि गुराँस गाउँपालिका फर्किने योजना सुनाउँछन् । ‘गुराँस्याक गाउँपालिका नबस्न्या होइन । त्याँ जाडो हुन्छ भनिकिन हृयाँ आयाहम् । गुराँस्याक गाउँपालिका अध्यक्षले कस्तो राम्रो गर्नुभया छ । पछि जान्या हो,’ उनले भने, ‘सानो बच्चाको बुद्धि छैन । राउटेको घर छैन ।’

राज्यले एकै ठाउँमा बसोबास गर्न घर बनाइदिए पनि आफूहरु टिक्न नसक्ने शाही सुनाउँछन् । ‘अर्काको मन नजान्न्या घरबार नजोड्नु, अर्काकी पेटकी नजान्न्या भान्सा नपस्नु,’ भन्छन्, ‘सबैको मनमा वनमै बस्ने इच्छा छ भने यो घर बनाया पनि क्या गर्ने ? कुनै पटकमा भूइँचालोले घर ढलेर मान्छ मर्ने डर पनि छ ।’ उनी धेरैमा ५÷६ महिना एकै ठाउँमा बस्ने र त्योभन्दा बढी बस्न नसक्ने सुनाउँछन् ।

केटाकेटीलाई पढाउन आफूहरुको मन नभएको महामुखिया शाही खुलाउँछन् । भन्छन्, ‘मन भया त आफैं पढाउँथ्यौं, लेखाउँथ्यौं । मास्टर बोलाउँथ्यौं । केटाकेटीले पढ्नै मान्दैनन् त क्या गरुँ ?’  हिजो बन्चरो काटेको मान्छे आज ब्राहृमण हुन नसक्ने सुनाउँदै उनले राउटे भइसकेपछि पढ्न नहुने दाबी गर्छन् । डोटी, डडेल्धुरा क्षेत्रमा बस्ने नागरिकताप्राप्त राउटे समुदायलाई भने शाही ‘खास राउटे’ मान्दैनन् । उनी भन्छन्, ‘हाम्रै बगालबाट फाटेर गया भए उनीहरुलाई राउटे भन्न्या थियाँ । यो नाममात्रैको राउटे हो । खास राउटे होइनन् ।’

‘तपाईंहरुलाई जंगलको राजा किन मान्ने ?’

राउटे महामुखिया मैनबहादुर शाही जवाफ दिन्छन्, ‘तपाईं सहरको राजा मान्नुहुन्छ । हामी सहरको राजा पनि मान्या छौं । हामीले यो वनैबाट काठको काम गरिसक्यापछि वनैको राजा भन्नु परिगो त ।’  पहिले पहिले नयाँ मान्छेलाई आफनो बसोबास क्षेत्रभित्र छिर्नै नदिने राउटे समुदाय अचेल फेरिएका छन् ।

कुनै समय पैसा छुँदा पाप लाग्ने मान्यतामा बाँचेका उनीहरु अचेल नगद पैसा लिएरमात्रै प्रवेश गर्न दिने अवस्थासम्म पुगेका छन् । बेलाबेला भत्ता बढाउन माग गर्दै आएको समाचारसमेत सुनिन थालेको छ । राउटे समुदायमा पहिले बाहिरी मान्छे नजाँदा जाँडरक्सी लगायत कुलतबारे थाहै नपाएको तर, सहरका मान्छे जान थालेपछि राउटे केटाकेटी पनि बिग्रंदै गएको महामुखिया शाही सुनाउँछन् ।

‘हाम्रो समुदायमा पहिले यस्तो खाँदैनथियाँ । पहिले यो नेपाली जनताले खान सिकाए । खत्तम हुन्छ भनेर भनेनन् । सहरले पहिले खान सिकायो,’ शाही भन्छन्, ‘सिकियापछि त खाइन्छ तो । अझै पनि हाम्ले रक्सी पार्दैनम् त । खान सिकियापछि ता पैसा हाले पनि खान थाल्या छौं । पहिले जुत्ता लगाउँदैन थियाँ ।

अहिले लाउन सिक्याँ । सबै सहरले सिकायो त ।’रक्सी भनेको पहिले राउटेलाई थाहा नभएको र खाएपछि मरिन्छ भन्ने लागेकै बेला ‘सहरका मान्छे’ले खान सिकाएको शाहीले खुलाए ।  ‘कोही मान्छ पापी रैछ । यो लिच्ची (रक्सी) खाएपछि केही हुँदैन भनेर खान सिकायो । अहिले त हामीले बोइलर पनि खान थाल्यौं,’ उनले भने, ‘सबै सिक्दैछौं । एक दिन हाम्रा केटाकेटी पनि घरमा बस्न सिक्लान् त के रे !

(अनलाइन खबरबाट)


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार