फागुनको २३ गते शुक्रबार साँझमा सुर्खेतमा रहेको कोपिला भ्याली स्कुलको गेटमा पुग्दा सिमसम पानी परिरहेको थियो । जेमी मेकडोनाल्डको मोटरसाइकलको पछाडि बसेर सिमसिमे पानीमा भिज्दै त्यहाँ पुग्दा मेरो मनमा चै त्यो स्कुल र २०१५ कि सिएनएन हिरो म्यागी डोएनको कामबारेको कौतुहलता मात्र थियो ।
बाटोको झरी र हिलो छिचोल्दै झिसमिसे साँझमा हामी त्यहाँ पुगेका थियौं । जसै म स्कुलको भित्रिभागमा प्रवेश गर्दै गएँ मलाई एउटा बेग्लै आन्नदको अनुभूति भैरहेको थियो । चिट्टिक्क परेका घरहरू, सफा बाटाहरू र सबैतिरको हरियालीले जोसुकैको मन लोभ्याउँदछ ।
सन् २०१० मा म्यागी डोएनले २ सय २० विद्यार्थी लिएर कोपिला भ्याली स्कुल सुरु गर्दा त्यो स्कूलमा पढ्ने धेरैजसो उनीहरूको परिवारको स्कुल जाने पहिलो विद्यार्थीहरू थिए । अर्थात् उनीहरूको परिवारमा अरुले त्योभन्दा पहिला स्कुल गएर पढेकै थिएनन् । अहिले यो स्कुलमा ४ सय ३० भन्दा धेरै विद्यार्थीहरूले पढिरहेका छन् । जसमध्ये ४० जना छात्राबासमा बस्दछन् ।
म स्कूलका भवनहरू, मेस वरिपरिको वातावरण नियाल्दै थिएँ साँझ गहिरिँदै थियो । वर्षा पनि बिस्तारै बढ्दै थियो । मेरो त्यो स्कूल नियाल्ने धोको पूरा भएकै थिएन त्यै पनि हामीले वर्षा बाक्लिनु अगाडिनै मेरो होटल फिर्नुपर्ने भयो । भोलिपल्ट फेरि आउने योजना मनमनै बनाउँदै र वर्षातमा भिज्दै म होटल फिरेँ ।
भोलिपल्ट दिउँसो म फेरि जेमिको मोटरसाइकल पछाडि बसेर सुर्खेत बजार छिचोल्दै कोपिला भ्याली स्कुल पुगेँ । यो स्कूलको सीमाक्षेत्र भएर एउटा सानो खोल्सा गएको छ, जस्लाई आकर्षक र व्यवस्थित बनाइएको छ । काठेपुल र झोलुङ्गे पुलले स्कुल क्षेत्रको आकर्षण बढाएको छ ।
यी पुलहरू पार गर्ने्बित्तिकै हामी स्कूलको मुख्य भागमा पुग्छौं जहाँ कक्षाकोठाहरू, पुस्तकालय, प्रयोगशाला र खाना खाने मेस रहेका छन् । स्कुल भवनको छेउका साना पर्खालहरूमा चन्दादाताहरूका नाम भएका शिलालेखहरू सजाइएका छन् । स्कुल मेसको अगाडि खेलकुद र सौन्दर्य दुवैका लागि हरियो चौर रहेको छ ।
यो सुन्दर ब्यवस्थापनले जमिन र बोटबिरुवाको व्यवस्थापन कसरी राम्रोसँग गर्न सकिन्छ भन्ने जानकारी दिन्छ ।
कोपिला भ्याली स्कुल चित्ताकर्षक मात्र छैन यसले उपलब्ध स्रोतसाधनको अधिकतम सदुपयोग पनि गरेको छ । नवीकरणीय ऊर्जाको अनुकरणीय प्रयोग भएको छ, यहाँ । सौर्य ऊर्जाको प्रयोगबाट खाना पकाउने र विद्युतीकरण गरिएको छ ।
स्कुलमा प्रयोग भएर बढी हुने ऊर्जा बिक्रीको लागि स्कुलले अघिल्लो वर्षदेखि नै विद्युत प्राधीकरणसँग पत्राचार गरिरहेको छ तर सम्झौता हुन सकेको रहेनछ । यदि त्यो काम हुन सकेको भए विद्युत बिक्रीबाट आउने आम्दानीले केही नयाँ काम गर्न सकिनेथ्यो होला ।
बिजुलीको मात्र होईन पानी संकलन र पुनउपयोगको लागि पनि स्कूलले अनुकरणिय ब्यवस्थापन गरेकोछ । खाना पकाउने मेसको छानामा सौर्य उर्जाको लागि सौर्यपाता जडान गरेजस्तै त्यो भवनको जमिनमुनि बर्षातको पानी संकलनको लागि ३ लाख लिटर क्षमताको पानिसंकलन ट्यान्कि बनाईएकोछ ।
वर्षातको पानी संकलनका लागि छानामा जोडिएका पाइपहरू र पानी प्रशोधन स्थलहरू वर्षातको बेला भवनहरूका सबैजसो छानाबाट संकलन हुने पानि त्यो ट्यान्कीमा संकलन हुने गर्छ । सबै भवनहरूमा प्रयोग भएको पानी प्रशोधन गरी पुनस् प्रयोग गरिने रहेछ ।
भवनहरूमा नुहाउन र सरसफाईको लागि प्रयोग भएको पानी प्रशोधन गरी ट्वाइलेटमा फ्लसको लागि प्रयोग गरिने रहेछ भने ट्वाइलेटमा प्रयोग भएर प्रशोधन गरिएको पानी बालीहरूमा सिचाइँको लागि प्रयोग गरिने रहेछ । यो स्कुलका प्रायस् भवनहरू स्थानीय सामाग्रीहरू र प्रविधिको प्रयोग अत्याधिक गरिएको छ । केही भवनहरूमा बाँसको प्रयोग आकर्षक रूपमा भएको छ । कक्षाकोठाहरू विद्यार्थीका उमेर र रुचीअनुसार ब्यवस्थित गरिएका छन् ।
बालकहरूले हेरेर र गरेर गरिने सिकाइलाई धेरै महत्व दिएको रहेछ । यो स्कुलका हरेक व्यवस्थापन बच्चाहरूको सिकाइलाई सघाउने खालका रहेछन् । जमिनको हरेक भागहरू बोटबिरुवाले भरिएका छन् । सिकाईका लागि कृषि फार्म र नर्सरीहरू बनाइएका छन् । मानिसलाई आफ्नो घर र कृषि व्यवस्थित गर्न चाहिने ज्ञान र सीप सिक्ने वातावरण दिइएको रहेछ ।
मलाई सुर्खेतमा रहुन्जेल कोपिला भ्याली स्कुलले लोभ्याइरह्यो । अमेरिकामा जन्मेकी एउटी युवा केटीको मनमा पलाएको नेपालीहरूप्रतिको माया र यहाँको लागि केही गर्नपर्छ भन्ने उनको अठोटले जन्माएको यो स्कुलले आज धेरै स्कुल नदेखेका बाबुअमाका छोराछोरीहरूलाई एउटा उत्कृष्ट पढ्ने वातावरण दिएको छ ।
यहाँका विद्यार्थीहरूले अरु धेरै महँगा स्कुलका तुलनामा उत्कृष्ठ नतिजा दिइरहेका छन् र जीवनलाई चाहिने पूर्ण ज्ञान र सीपयुक्त भएर अगाडि बढिरहेका छन् । यहाँ पढ्ने विद्यार्थीहरूको सबै शुल्क स्कुलले नै ब्यहोर्ने रहेछ । विद्यार्थी छनौटको लागि हरेक वर्ष आवेदन लिइन्छ । अन्तर्वार्ता र अनुगमन गरेर विद्यार्थी भर्ना लिइने रहेछ ।
यो स्कुललाई यो ठाँउमा ल्याउन म्यागी डोएनसँगै अरु धेरैको योगदान होला, सबैले यो स्कुललाई नमूना बनाउन उत्कृष्ठ योगदान गरेका छन् । सबैप्रति मेरो आदरभाव व्यक्त गर्दछु । यस्ता धेरै स्कुलहरू देशलाई चाहिएको छ जहाँ हाम्रा भविष्यहरू फक्रिन सकून । स्कूललाई नजिकबाट नियाल्ने मौका जुराइदिने र सुर्खेतको वरिपरि घुमाउन आफ्नो समय र साधन उपलब्ध गराउने साथी जेमी मेकडोनाल्डप्रति म आभारी छु ।
युग संवाददाता । । १ चैत्र २०७६, शनिबार १८:२५