एक वर्षभित्रै टूलेनको सडकमा रारा सरर….नाग्म–गमगढी सडक स्तोरोन्नतीका लागि सम्झौता

सुर्खेत : कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य रारा पुग्ने स्थलमार्गको रुपमा एक मात्र विकल्प कर्णाली राजमार्गको नाग्म–गमगढी सडक खण्ड हो । तर कच्ची सडकका कारण रारा पुग्ने जोसुकै पर्यटक र यात्रुहरुले सास्ती झेल्नु परेको छ । सडक बनेको एक दशक बित्यो ।
तर स्तोरोन्नतीको काममा निकै ढिलाई हुदाँ यात्रुहरुले सास्ती भोग्नु परेको हो । नाग्म–गमगढी सडक खण्ड अन्तर्गत मुगु सदरमुकाम पुग्ने सडकको ट्रयाक खोलिए पनि अझैँ कालोपत्रे हुन सकेको छैन । यीनै समस्यालाई मध्यनजर गर्दै अब यस सडक खण्ड मर्मतसँगै टूलेन सडक स्तोरोन्नतीको काम सुरु हुने भएको छ । सँधै साँघुरो सडकमार्फत राराको यात्रा गरेका यात्रुहरु अबको एक वर्षभित्रै टूलेनको पक्कि सडकमा सरर..यात्रा गर्न पाउने भएका छन् ।
नाग्मबाट गमगढी जोड्ने सडकको स्तोरोन्नती गर्न कर्णाली प्रदेश सरकारले यो वर्ष ३० करोड बजेट विनियोजन गरेको थियो । तर केन्द्र सरकारले नाग्म–गमगढी सडकको स्तोरोन्नतीका लागि ५० करोड बजेट विनियोजन गरेपछि प्रदेश सरकारले बजेट रकमान्तर गरेको छ । सडक डिभिजन कार्यालय जुम्लाका अनुसार नाग्मदेखि २५ किलोमिटर सडकको डवल कटिङ्ग, नाला, ग्याभिङ्ग वाल र ग्राभेल गर्ने काम आर्थिक वर्ष ०७३/७४ बाट सुरु गरिएको थियो ।
तर १३ किलोमिटर सडक निर्माणको काममा नमिता निर्माण कम्पनीले ढिलाइ गरेको छ । कम्पनीलाई अन्तिम पटक चेतावनीसहित काम गर्न म्याद थप गरिएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । बाँकी सडक खण्डको १०÷१० किलोमिटरको निर्माण गर्ने गरी सम्झौताको अन्तिम चरण पुरा भएको कार्यालय प्रमुख लिला भण्डारीले बताए ।
‘आगामी असार मसान्तसम्म टूलेन सडक निर्माणको काम सक्नेगरी निर्माण व्यवसयीसँग सम्झौता गर्दैछौ’ उनले भने, ‘अबको १० दिनभित्र फिल्डमा गएर काम सुरु गर्नेगरी निर्माण व्यवसायीलाई खटाउने तयारी छ ।’ टूलेन सडक निर्माणका लागि नाग्मदेखि गमगढीसम्म सडकको ग्राभेल गर्ने, नाला निर्माण, सडक फराकिलो र ग्याभिनवालको काम सञ्चालन गरिने भएको छ । आगामी आर्थिक वर्षमा नाग्म–गमगढी सडक खण्डको ९३ किलोमिटर नै कालोपत्रे गर्नेगरी पहिलो चरणमा सडक फराकिलो बनाउन काम सुरु गर्न लागिएको हो ।
रकमान्तर बजेट उर्थु–भुलभुलेमा
कर्णाली प्रदेश सरकारले २०७५ बैशाखमा कर्णाली–रारा पर्यटन वर्ष धुमधामका साथ शुभारम्भ ग¥यो । बाह्य र आन्तरिक गरी पाँच लाख पर्यटक रारा भित्र्याउने लक्ष्य राखेको प्रदेश सरकारले अपेक्षा अनुसार पर्यटक भित्र्याउन सफल भएन ।
जसको मुख्य कारण नै रारा पुग्ने हवाई र स्थलमार्ग सेवा भरपर्दो नहुनु हो । रारा पुग्न नाग्म–गमगढी सडकको अवस्था बुझेको प्रदेश सरकारले सडक स्तोरोन्नतीका लागि चालु आर्थिक वर्षमा ३० करोड बजेट समेत विनियोजन ग¥र्याे । तर केन्द्र सरकारले पनि सोही सडक खण्डलाई प्राथमिकता दिदैं बजेट विनियोजन गरेपछि प्रदेश सरकारले विनियोजन गरेको बजेट रकमान्तर गरियो ।
उक्त बजेट जुम्ला एयरपोर्टहुदै–उर्थु–भुलभुले सडकमा खर्च गर्न लागिएको छ । रारा वा गमगढी पुग्न नाग्म–गमगढी सडकभन्दा जुम्लाबाट छोटो हुने र पर्यटकले पनि धेरै ठाउँ देख्न तथा घुम्न पाउने भएकाले रकमान्तर बजेट यस सडक खण्डमा हालिएको हो । जुम्ला एयरपोर्ट–उर्थु–भुलभुले हुँदै रारा पुग्ने पर्यटकले जुम्ला र सिंजा उपत्यका तथा त्यहाँका पर्यटकीय स्थलहरु दुवै एकै पटक घुम्न पाउने छन् ।
रारा जादाँ सिंजा उपत्यका हुँदै जाने पर्यटक फर्किदाँ जुम्ला सदरमुकाम र रारा जादाँ सदरमुकाम हुँदै जाने पर्यटकहरु फर्किदा सिंजा उपत्यका हुँदै आउन सहज हुनेछ । यीनै सहजताका लागि प्रदेश सरकारले उर्थु सडकलाई बहुवर्षिय योजनामा राखेको छ । पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख रुपबहादुर रावलले नाग्म–गमगढी सडकमा सडक डिभिजन कार्यालयले विभिन्न चरणमा काम गरिरहेकाले जुम्ला सदरमुकामहुँदै–उर्थु–भुलभुले सडकको स्तोरोन्नतीको प्रक्रिया अघि बढाइएको बताए ।
जुम्ला सदरमुकाम–उर्थु–भुलभुले सडकको दुरी ४० किलोमिटर छ । ‘विभिन्न चार प्याकेजमा १३ किलोमिटर सडक ग्राभेल गर्नेगरी ठेक्का प्रक्रियामा छौं’ उनले भने, ‘१९ किलोमिटर सडक निर्माणको काम आगामी पुस मसान्तसम्ममा सक्नेछौं भने चैतदेखि सडक फराकिलो, कटिङ्ग र ग्याभिन वाल लगाउने काम सञ्चालन गरिनेछ ।’
यस सडक खण्डको पटमारा–न्याउरीघाटसम्म करिव ८ किलोमिटर सडकमा बजेट अपुग भएपछि मन्त्रालयसँग माग गरिएको छ । बाँकी ८ किलोमिटर सडक खण्डको सर्वे गरेर काम गर्दा ढिलाई भएको कार्यालयले स्विकार्यको छ । ‘विगतमा सडक डिभिजन कार्यालयले गरेको सर्वेका आधारमा थप बजेट माग गरेका छौं’ उनले थपे, ‘मन्त्रालयबाट अपुग बजेट स्विकृत भएपछि सडक निर्माणको बाँकी काम पनि यसै वर्षबाट सुरु हुनेछ ।’
