दिवा खाजाले विद्यार्थी नियमित

सल्यान : दिवा खाजाको व्यवस्था भएपछि शैक्षिक सत्रको बीचैमा छाड्ने विद्यार्थीको संख्यामा कमी आएको छ । जिल्लाका १० स्थानीय तहका सबै विद्यालयका आधारभूत तहका विद्यार्थीलाई दिवा खाजा दिन थालेपछि विद्यार्थी नियमित हुन थालेका हुन् ।

दिवा खाजा सुरु भएपछि वागचौर नगरपालिका–४ मा रहेको सरस्वती माध्यामिक विद्यालयमा विद्यार्थीले पूरै समय विद्यालयमा बिताउने गरेको छन् । पहिले विद्यार्थी भागेर घर जाने समस्या भए पनि अहिले भने दिनभरी रहने गरेको शिक्षक दुर्गा बोहराले बताए। उनका अनुसार विद्यार्थीले घरबाट नै फरकफरक खाजा लिएर आउने गरेका छन् ।
त्यसबापत प्रतिदिन १५ रुपैया विद्यालयले अभिभावकलाई दिँदै आएको छ ।

आइतबार गेडागुडी, सोमबार रोटि तरकारी, मंगलबार भुटेको भुजा, बुधबार खिचडी, बिहीबार अण्डारोटी र शुक्रबार भुटेका मकै भटमासबाट बनेका परिकार खाजाको रुपमा विद्यार्थीले लिएर आउने गरेको शिक्षक बोहोराले बताए । खाजा कार्यक्रम लागु भएपछि निजी विद्यालयमा रहेका विद्यार्थीहरु आफ्नो आएको जनकल्याण माध्यमिक विद्यालय थारमारेका प्रधानध्यापक पूर्णबहादुर भण्डारीले बताए ।

दार्मा गाउँपालिकाले गाउँपालिकाभित्र रहेका शिशुकक्षादेखि कक्षा ५ सम्मका विद्यार्थीलाई विद्यालयमै खाजाको परिकार बनाएर खुवाउने गरेको छ। खाजाको व्यवस्था गरिएपछि विद्यार्थी उपस्थिति बढेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर वलीले वताए । विद्यालय समयमा कक्षा छोड्ने विद्यार्थीको संख्या शून्यामा झरेको उनले बताए ।

दार्मा गाउँपालिका–२ का बलराम आचार्यले पहिले विद्यालय जान नमान्ने आफ्नी छोरी नियमित विद्यालय जान थालेको बताए । शारदा नगरपालिका शिक्षा शाखा प्रमुख वीरबहादुर सेजवालले विद्यालयमा खुवाइने खाजाले गर्दा विद्यार्थी नियमितता बढ्ने र कक्षा छोड्ने दर घट्दा सिकाई उपलब्धिमा सुधार आएको बताए । दिवा खाजाको सकारात्मक पक्ष भनेको विद्यार्थीको हाजिरी वा उपस्थितिमा पहिले भन्दा बढी भएको छ ।

दार्मा गाउँपालिका अध्यक्ष निमबहादुर केसीले खाजा खुवाउने कार्यले साना कक्षामा विद्यार्थी नियमित भएको पाइए पनि स्थानीय तहमा एकरुपता भने नआएको बताउँछन् । जिल्लाभित्रकै स्थानीय तहमा पनि कतै विद्यालयमै पकाएर त कतै घरैबाट खाजा लिएर विद्यार्थी आउने गरेको उनले बताए । जिल्लाका कति हजार बालबालिकाले दिवा खाजा खाइरहेका छन् भन्ने तथ्यांक भने अहिलेसम्म आउन सकेको छैन । स्थानीय तहले कति बालबालिकाले दिवा खाजा खाइरहेका छन् त्यसको तथ्यांक नपठाएको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय सल्यानका प्रमुख लालबहादुर घर्तीले बताए ।

तपाईको प्रतिक्रिया