वीरेन्द्रनगरका मुख्य सडकमा ‘वान–वे’ योजना अलपत्र

सुर्खेत : प्रदेश राजधानी वीरेन्द्रनगरमा सवारी दुर्घटना बढ्दो छ । पछिल्ला एक महिनामा मात्रै दुर्घटनामा पाँच जनाले ज्यान गुमाईसकेका छन् । दिनहुँ फोरलेन सडकमा दुर्घटना बढ्दै जादाँ सवारी चालक तथा पैदल यात्रुले अकालमा ज्यान गुमाउनु परेको हो ।

वीरेन्द्रनगरमा दुर्घटना न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले मंगलगढीचोकदेखी वीरेन्द्रचोकसम्मको मुख्य बजार क्षेत्रमा एकतर्फी (वान–वे) सञ्चालन गर्ने योजना बनाएको छ । तर योजना कार्यान्वयन हुन सकेको छैन । सवारी साधनको चापसँगै ट्राफिक जामलाई व्यवस्थापन गर्न अपनाएको योजना नै अलपत्र परेपछि यसको मारमा पैदल यात्रु नै परेका छन् ।

बढ्दो ट्राफिक जामको समस्या हटाउन यहाँका मुख्य सडकमा (वान वे) अर्थात एकतर्फी मात्र गाडी सञ्चालन गर्नुपर्ने निमय लागू गर्ने लागतसहितको योजना जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्ला प्रशासनमा पेश गरेको थियो । तर प्रशासनमा योजना पेश गरेको एक महिना वित्दा पनि कुनै प्रक्रिया अघि बढेको छैन ।

‘एकतर्फी सवारी आवागमनको लागि व्यवस्थापन गर्न झण्डै एक लाख ७८ हजारको प्रस्ताव प्रशासनमा पेश गरेको थिए’ ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक उदयसिंह सिजापतिले भने, ‘तर यस बिषयमा जिल्ला प्रशासनबाट प्रतिक्रिया आएको छैन । त्यसैले तत्कालका लागि बजार क्षेत्रको मुख्य सडक एकतर्फी बनाउने योजना अघि बढाउन सकिएको छैन ।’

सडकमा संकेत चिन्ह, रेखाङ्कन गर्न र सचेतनामुलक अभियानका कार्यक्रम सञ्चालन गर्न लागत विवरणसहित उक्त योजना प्रशासनमा ट्राफिक कार्यालयले पठाएको हो ।
कर्णाली प्रदेश राजधानी भएपछि वीरेन्द्रनगरमा सार्वजनिक पार्किङ्गस्थलको पनि अभाव छ । दिनहुँ बढ्दो सवारी चाप अनुसार पार्किङ्ग स्थलको व्यवस्थापन नहुदाँ वीरेन्द्रनगरको मुख्य बजार क्षेत्र अस्तव्यस्त बन्दै गएको हो ।

सडक किनाराको एक छेउमा ट्राफिक प्रहरीले दुई पांग्रे सवारी पार्किङ्ग गरेर जेनतेन व्यवस्थापन गरिरहेको छ । तर बढ्दो सवारी चाप र सडकमै पार्किङ्ग गर्दा दोहोरो सवारी आवागमनमा समस्या भईरहेको छ । सोही कारण मुख्य बजार क्षेत्रमा हरेक दिन सवारी जाम हुने गरेको छ । वीरेन्द्रनगरको मंगलगढी चोकदेखी गणेशचोकसम्म सवारी आवतजातमा निकै सास्ती भईरहेको सवारी चालक बताउँछन् ।

बजार क्षेत्रका भित्री सडक यरिचोक–वीरेन्द्रचोक, नेताचोक–वुद्धपथ लाईन, घण्टाघर र हटिया लाईनमा सवारी साधनको चापले सडकमा सास्ती बढिरहेको छ । वीरेन्द्रनगर नगरपालिकाले तत्काल पार्किङ्ग स्थलको टुंगो नलगाएपछि पहिलो चरणमा मंगलगढीदेखी वीरेन्द्रचोकसम्मको मुख्य बजार क्षेत्रमा पर्ने सडकमा एकतर्फी मात्र (वान वे) सवारी साधन आवतजावत गराउने तयारीमा ट्राफिक प्रहरी जुटेको छ ।


बढ्दो सवारी साधनको चापलाई एकतर्फी बनाउँदा सडक दुर्घटना कम हुने र सवारी साधनको जाम पनि कम हुने प्रहरीको अपेक्षा छ । तत्कालिन प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको रोहबरमा भएको छलफलमा मंगलगढीदेखी वीरेन्द्रचोकसम्म मात्र नभइ अन्य सडकमा पनि यो नियम लागूगर्न ट्राफिक प्रहरीलाई आग्रह गरिएको थियो । तर ट्राफिक प्रहरीले तत्काल अन्य सडकहरुमा नियम लागु गर्न नसकिने भन्दै बजार क्षेत्रमा ट्रयालको रुपमा लागु गर्ने बताएको थियो ।

एकैपटक यो नियम लागूगर्दा धेरै जनशक्ति आवश्यक पर्ने भएकाले पहिलो चरणमा बजार क्षेत्रमै केद्रित हुने र पछि विस्तारै बाँकी सडकमा लागु गर्नेगरी प्रस्तावसहितको विवरण पेश गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार सुर्खेतमा १८ हजार सात सय ५८ मोटरसाईकल, दुई सय ७५ जीप÷कार, तीन सय ९२ टिप्पर, पाँच सय ८० बस÷मिनीबस, एक हजार तीन सय ५० अटोरिक्सा, एक सय ७० पावर टेलर र पाँच सय ९४ वटा ट्याक्टरको संख्या छ ।

छलफलकै क्रममा छौं : प्रजिअ

वीरेन्द्रनगरमा बढ्दो सवारीलाई व्यवस्थित गर्न प्रथम चरणमा मंगलगढीदेखि वीरेन्द्रनचोकसम्म एकतर्फी सवारी आवागमन अत्यावश्यक रहेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताएका छन् ।

एकतर्फी सवारी सञ्चालन गर्न विगतमा सामान्य छलफल भए पनि फेरि त्यसलाई कार्यान्वयन गर्न सरोकारवालासँग वृहत छलफल गर्ने गृहकार्यमा जुटेको उनले जानकारी दिए ।‘वीरेन्द्रनगरको ट्राफिक व्यवस्थापनलाई सहज, सरल र प्रभावकारी बनाउनु अत्यावश्यक छ’ उनले भने, ‘यसलाई दिर्घकालिन रुपमा व्यवस्थापन गर्न यहाँका सबैपक्षसँग छलफल गरेर अघि बढ्ने तयारीमा छौं ।’

सबै पक्षसँगको सहकार्यमा बढ्दो सवारी दुर्घटनालाई न्यूनिकरण गर्न सम्बन्धित निकायको सहकार्यमा अघि बढ्ने योजना रहेको प्रजिअ न्यौपानेको भनाइ छ ।
छलफलमा आवश्यक स्रोत जुटाउन र चाल्नु पर्ने कदमका बारेमा थप व्यापक छलफल गरेर एकतर्फी सडक सञ्चालनलाई कार्यान्वयमा ल्याउने उनले जनाए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार