माधव नेपाल रिझाएर भैँसेपाटी गठबन्धन तोड्न ओलीलाई सहज छैन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन् । तर, यति नै बेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा पार्टीभित्रको शक्ति समीकरणमा फेरबदलको रस्साकस्सी पनि चलिरहेको छ ।

सो समीकरणले समग्र सरकार पनि प्रभावित हुने हुँदा पछिल्ला घट्नाक्रमलाई पार्टीभित्र र बाहिरसमेत उत्तिकै रुचीपूर्वक हेरिएको छ । पुस २३ गते नेकपा सचिवालयका ९ मध्ये बहुमत सदस्यहरु नेता वामदेव गौतमको भैँसेपाटीस्थित घरमा भेला भए। जहाँ प्रधानमन्त्री ओलीविरुद्धको गठबन्धन नै बन्यो। त्यो गठबन्धनको प्रभाव त्यसपछिका अनेकौँ निर्णय प्रक्रियामा सोझै परेको देखिन्छ ।

सभामुख चयन, अमेरिकी आर्थिक सहायतासम्बन्धी सम्झौता एमसीसीको अनुमोदन, राष्ट्रिय सभामा सदस्य मनोनयन लगायतका विषयमा प्रधानमन्त्री अल्पमतमा परे । दुई वर्षअघि दुई तिहाई बहुमतसहित सरकारको प्रधानमन्त्री बनेपछि ओली आफ्नै पार्टीभित्रबाट यसरी तीव्र दबाबमा परेको यो पहिलोपटक हो । गत दुई वर्षमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग विभिन्न विषयमा विवाद तथा सहमति गर्दै अगाडि बढेका ओली यसपटक प्रचण्ड, पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र झलनाथ खनाल तथा अर्का नेता वामदेव गौतम सहितका नेताले गठबन्धन बनाएपछि अल्पमतमा परेका हुन् ।

त्यही ‘भैँसेपाटी गठनबन्धन’ तोड्न ओली र उनको समूह प्रयासरत छन् । तर त्यो गठबन्धन सहजै र तत्कालै तोडिने अवस्था नरहेको नेकपा नेताहरु नै बताउँछन् । जनसाधारणमा सरकारको लोकप्रियता खस्किँदो छ । तर, छिटोछिटो सरकार परिवर्तनको अभ्यासबाट मुलुक भर्खर मुक्त भएका बेला सरकारको नेतृत्व परिवर्तन गर्ने प्रयास भने झनै अलोकप्रिय कदम हुनेछ ।

https://www.youtube.com/watch?v=WUVZ0zB6GKU

लोकप्रियता खस्किँदै गएको महसुस गरिसकेका प्रधानमन्त्री ओलीले पार्टीभित्रबाट अहिलेसम्म पाउँदै आएको बलियो समर्थन पनि अब नपाउने बुझिसकेका छन् । यो परिस्थितिमा ओली जसरी पनि भैँसेपाटी गठबन्धन भत्काउन लागिपरेका छन् । प्रचण्डसँग सहकार्य गर्दै आएका ओलीले भैँसेपाटी गठबन्धनपछि आफ्नो रणनीति पनि फेरेका छन् । त्यसपछि उनले वरिष्ठ नेता माधवकुमार नेपालको साथ लिएर पूर्व एमालेपंक्तिलाई एक ढिक्का बनाउने र त्यसको आडमा सरकार चलाउने मार्ग तय गरेका छन् ।

सोही रणनीतिअनुसार उनले यसबीचमा सबैभन्दा धेरै पटक नेता नेपालसँगै बैठक गरेका थिए । तर नेपालनिकट नेताहरु अहिलेको अवस्थामा ‘भैँसेपाटी गठबन्धन’ तत्काल भत्किने सम्भावना नभएको र त्यो गठबन्धन छाडेर नेपाल ओलीको पक्षमा उभिए त्यसले उनलाई नै अप्ठेरो पर्ने बताउँछन् । अहिलेको गठबन्धनबाट अलग्गिए नेता नेपाल यता न उताको हुने अवस्थामा पुग्ने भन्दै उनले तत्काल खेमा परिवर्तन गर्ने सम्भावना नभएको उनीनिकट नेताहरुको भनाइ छ । ओलीको आश्वासन भरलाग्दो र गतिलो नभएको नेपाल पक्षको बुझाइ छ ।

‘प्रधानमन्त्री ओलीले एमालेको नवौं महाधिवेशनअघि वामदेव गौतम, पार्टी एकीकरणअघि पुष्पकमल दाहाललाई जे आश्वासन दिनुभएको थियो, त्यस्तै आश्वासन नेता नेपाललाई पनि दिएको बुझिएको छ,’ लामो समयदेखि नेपालनिकट रहेका एक स्थायी समिति सदस्यले भने, ‘पार्टीलाई विधि र प्रक्रियाअनुसार चलाउने विषयमा नेपालले राख्दै आउनुभएको अडानलाई छाडेर आश्वसानमा फस्नुभयो भने उहाँ यता न उताको हुने अवस्था आउनेछ ।’

त्यसो त अहिले प्रधानमन्त्री आफूमात्रै नभई उनको टिम र उनीनिकट अन्य नेताहरु नै नेपालको विश्वास जित्न लागिपरेका छन् । प्रधानमन्त्री ओलीनिकट रहेका लुम्बिनीका जिल्ला नेताहरुको एक टोलीले नेपाल र अन्य नेताहरुलाई भेटेर पार्टी निर्णयमा पूर्वएमाले एकै स्थानमा उभिन आग्रह गरेको थियो । नवलपरासीका सांसद तिलक महत, प्रदेश ५ का प्रदेशसभा प्रमुख सचेतक भूमिश्वर ढकाल, पूर्वसांसद बलराम अधिकारी, अर्घाखाँचीका पूर्वअध्यक्ष चेतनारायण आचार्यसहितको टोलीले नेपालसँग बिहीबार कोटेश्वरस्थित उनकै निवासमा भेट गरेको थियो। तर नेपालबाट उनीहरुले खासै सकारात्मक जवाफ पाएनन् ।

तपाईको प्रतिक्रिया