जो राजनीतिमा हारे, तरकारी खेतीमा रमाए

सल्यान : पछिल्लो समय धेरैले राजनीतिलाई खेतीपाती बनाएका छन् । धेरैले राजनीतिलाई कमाई खाने भाँडो बनाइ रहेको अवस्थामा सल्यान शारदा नगरपालिका १ श्रीनगरका नविन भडेलले भने राजनीतिलाई उद्यमशीलतसँगै जोडेर अघि बढी रहेका छन् ।

समाजमा कुराजस्तै काम गर्ने कमै भेटिन्छन् । तिनै कर्म गर्ने मध्यमा पर्छन् भडेल । राजनीतिमा सक्रिय भडेल मञ्चमा भाषण मात्र गर्दैनन् खेतीकिसानी पनि गर्छन् । आर्थिक उपार्जनका लागि व्यवसायिक तरकारीलगायत उत्पादन मुलक काममा लागेका उनले अरुलाई पनि कृषिमा लाग्न प्रोत्साहन गर्ने छन् । २०७२ सालमा एक रोपनी क्षेत्रफलबाट व्यवसायिक तरकारी खेती सुरू गरेको भडेलले अहिले २२ रोपनीमा लटरम्म तरकारी फलाएका छन् ।

उनको बारीमा अहिले काउली, बन्दा, आलु, प्याज, लसुन, काक्रो, लौका र फर्सी लगाएका छन् । तरकारी खेतीबाट राम्रो आम्दानी भएपछि उनले १७ रोपनी जमिन भाडामा लिएर तरकारी खेती गरी रहेका हुन् । उनले भने, ‘अन्नबालीको भन्दा धेरै गुणाले तरकारीबाट आम्दानी भएपछि आफ्नो पाँच रोपनी र अरुको १७ रोपनी भाडामा लिएर खेती गरी रहेको छु ।’ वार्षिक ३० हजारका दरले जग्गा भाडामा लिएको उनको भनाई छ ।

तरकारी खेतीबाट सबै खर्च कटाएर वार्षिक ३ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए । भाषणले समृद्धि आउँदैन आफू उद्यमशील बन्न नसकेसम्म समृद्धिका भाषणले मात्र सार्थकता नपाउने उनको भनाई छ । समृद्ध नेपाल बनाउने भनेर भाषण मात्र गर्नु भन्दा उद्यमशील बनेमा मात्र समृद्ध नेपाल बन्ने भडेलले बताए । उनले भने हामी धेरै समृद्ध नेपाल बनाउने भनेर भाषण गर्छौ ।

तर भाषणले मात्रै समद्ध बनाउन नसकिने भएकाले त्यसका लागि आफै पनि उद्यममा जोडिनु पर्छ । राजनीति गर्नेले खाली बस्नुपर्छ भन्ने मान्यता अन्त्य गर्नुपर्ने बताउँदै राजनीतिककर्मीले पनि आम नागरिक जस्तै गरी जीवनयापन गर्नु पर्ने बताए । परिवार चलाउन तरकारी खेती गरी रहेका उनले मुलुकलाई समृद्ध बनाउन राजनीतिलाई पनि सँगसँगै अघि बढाएको बताए ।

तपाईको प्रतिक्रिया