होलीको उमंग

बसन्त ऋतुको आगमन हुँदैछ । यो मनमोहक ऋतुसँगै रुख–बुट्यानमा नयाँ पालुवा पलाउन थाल्छ । कोपिलाहरु फर्कन थाल्छ । बसन्ती हावामा फूलहरु बयेली खेल्न थाल्छ । चारैतिर हरियाली छाउँछ । र, यहि समय हामी होली पर्व मनाउँछौ ।

रंगै रंगको पर्व, होली । होलीको सांकेतिक अर्थ हो, जीवन पनि होलीको रंग जस्तै रंगीन हुनुपर्छ । सूर्यको किरण नै रंगको स्रोत भएको वैज्ञानिक तथ्य छ । सूर्यको ज्योतिमा विभिन्न सात रंग प्रकट हुन्छ, बैजनी, निलो, हरियो, आकासे, पहेंलो, रातो र सुन्तले ।

ऋषिमुनीहरुले पनि सूर्यको किरणमा सात रंग हुन्छ भन्ने तथ्य बुझेका थिए । सूर्यको सप्तरंगी किरणको शक्तिलाई आत्मसात गरेर उनीहरुले सूर्य चिकित्सा पद्धतीको बिकास गरेको पाइन्छ ।

होली किन मनाउने ?
सामाजिक दृष्टिले, यो एकता र भाइचाराको पर्व हो । सांस्कृतिक कोणबाट हेरौं वा बैज्ञानिक, उत्तिकै अर्थपूर्ण छ, होली । निराशा र उदासिनता त्यागेर जीवनलाई उल्लासमय बनाउने माध्याम पनि हो यो ।

‘असत्यमाथि सत्यको जीत हुन्छ’ भन्ने पौराणिक सन्देश बोकेको छ होलीले । विष्णुभक्त प्रह्लादलाई आफ्नै पिता हरिण्यकश्यपले मार्ने योजना बनाउँछ । यसकालागि आगोमा नजल्ने होलिकालाई प्रयो ग गरिन्छ । अतः प्रह्लादलाई काखमा रखोर होलिका अग्निकुण्डमा होमिन्छन् ।

तर, अग्नीले होलिकालाई भष्म गर्छ प्रह्लाद जीवित रहन्छ । पृथ्वीनारायण शाहले काठमाडौं उपत्यका बिजय गरेसँगै होलीको परम्परा सुरु भएको मानिन्छ । खासगरी नेवार समुदायले बसन्तपुर दरबार अगाडि रंगबिरंगी कपडा झुन्ड्याएर बनाइएको तीन छत्रे चीर गाडेपछि विधिवत् होली प्रारम्भ भएको मानिन्छ । फागुन शुक्ल अष्टमीमा गाडिने तीर पूणिर्माको रात ढालेर टुँडीखेलमा पोलिएपछि होली समाप्त हुन्छ ।

भक्तपुरमा जगतप्रकाश मल्लको समयमा वनेको दत्तात्रय मन्दिरसंगै रहेको भैरब मन्दिरमा लिंगको आकृति भएको काठ र रातो कपडाको योनी जुधाएर होलीको सुरुवात गरिन्छ । यसलाई भिमसेनको लिंग र कपडावाट वनेको प्वाललाई द्रौपतीको योनीको रुपमा चित्रण गरिन्छ ।

कसरी खेल्ने होली ?
एकअर्कामा अबिर दलेर होली खेलिन्छ । यसका लागि गुणस्तरिय अबिर प्रयोग गर्नुपर्छ । सकेसम्म प्राकृतिक रंगहरु बनाएर होली खेल्नु बढी अर्थपूर्ण हुन्छ । घरेलु बिधीबाट रंगहरु तयार गर्न सकिन्छ । होली आपसी सद्भावको पर्व हो ।

त्यसैले कसैलाई जबरजस्ती पानी छ्यापेर, लोला हानेर होली मनाउनु आफैमा मूर्खतापूर्ण हो । होली मैत्रीपूर्ण हुनुपर्छ । आफन्त, साथीभाईलाई निमन्त्रणा गरेर होली खेल्न सकिन्छ । यसका लागि पूर्व तयारी गर्नैपर्छ । खासगरी खुला स्थानमा होली खेल्नु उपयुक्त हुन्छ । खेल्ने स्थानमा चोटपटक लाग्ने कुनै बस्तु छरछैन हेर्नुपर्छ ।

– गुणस्तरिय एवं सुख्खा अविरले होली खेल्ने । यसले स्वस्थ्यमा हानी गर्दैन र शरीरमा लागेको रंग हटाउन पनि सजिलो हुन्छ ।
– गुणस्तरिहन रंग, मेटालिक रंग प्रयोग नगरौं ।
– कसैले रंग दल्न खोजे आँखा बन्द गर्नुपर्छ । यदि आँखामा रंग प‍¥यो भने तुरुन्तै सफा पानीले पाखाल्नुपर्छ ।

होली खेल्नुअघि के गर्ने ?
– होली खेल्नका लागि अलि पुरानो तर पुरै शरीर ढाक्ने परिहन उपयुक्त हुन्छ ।
– कपडाले नछोपिएको भाग, हात, खुट्टा, अनुहार आदिमा कुनै लोसन लगाउनुपर्छ । क्रिमको लेयरले छालालाई रंगको सोझो असर पर्न दिदैन । साथै घामको किरणबाट पनि जोगाउँछ ।
– केसमा तेल लगाउनुपर्छ । महिलाहरुले केस बाँध्नु राम्रो हो ।
– हातमा रंग खेलाइने भएकाले नङ जोगाउनका लागि नेलपोलिस लगाउन सकिन्छ ।

होलीको रंग कसरी हटाउने ?– सुख्खा अबिरले खेलिएको छ भने त्यसलाई कपडाले पुछ्नुपर्छ, पानीले भिजाउनु हुँदैन ।
– केसमा लागेको रंग हटाउनका लागि काइयोले कोरेर स्याम्पु प्रयोग गरि नुहाउनुपर्छ ।
– रंग बिस्तारै हटाउनुपर्छ, छालामा रगड्नु हुँदैन ।
– अनुहारमा लागेको रंग हटाउन तातो पानीको बाफ लिन सकिन्छ । यसले अनुहारको रोमछिद्र खुल्छ र रंग सजिलै हट्छ ।

तपाईको प्रतिक्रिया