गोरुगाडादेखि जेसीभीसम्मको यात्रा : हरि विसी

सुर्खेतलाई आफ्नो कर्मथलो बनाएका निर्माण व्यवसायी हरि विसी जाजरकोटको दशेरामा जन्मिएका हुन् । आफुलाई अब्बल निर्माण व्यवसायीको रुपमा परिचित बनाउन सफल विसीले व्यवसायबाटै नाम कमाउन कयौं संघर्ष गर्नुपरेको छ । हाल उनी ठेक्कापट्टाको कामभन्दा पनि उपभोक्ता तथा निर्माण सम्बन्धीका कामहरु गर्दै आएका छन् । घासँ काट्न जाँदा भालुको आक्रमणबाट दुवै आँखा गुमाएकी आमालाई उपचारको लागि कयौं ठाउँ लिदाँको पीडा उनीसँग छ । आमाको उपचार गर्दै थाकेका विसीले आमाको आखाँको ज्योति त फर्काउन सकेनन् । तर उपचारको क्रममा अस्पतालमा गरिने व्यवहारलेसमेत उनी दिक्क भए । जीवन संघर्षका धेरै पीडा भोगेका उनी अहिले समाजिक क्षेत्रमा जोडिने जमर्को गरिरहेका छन् । आजको जम्काभेटमा विसीसँगको भलाकुसारीमा आधारित साराशंः–
                                                    हरि विसी निर्माण व्यवसायी

बाल्यकालमै पढाइमा ब्रेक

‘जन्म जाजरकोटमा भए पनि २०३८ सालमा परिवार सुर्खेत आयौं । वीरेन्द्रनगरको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय डाडाँस्कुलबाटै मैले अक्षर चिन्न सुरु गरेँ । कक्षा पाँचसम्म त्यहीँ स्कुलमा पढँे । बाँकी जन माध्यमिक विद्यालयमा निम्न माध्यमिक तहको पढाइ पूरा गरेँ’ उनले थपेँ ‘पढ्ने चाहना धेरै थियो घरको कमजोर आर्थिक स्थितिले कक्षा ८ भन्दा माथि पढ्न सकिन । अरुको जमिनमा अदिया लगाएर परिवार पाल्नुपर्ने स्थितले बाल्यकालमै पढाइमा पनि पूर्ण विराम लाग्यो ।’

अभावले संघर्ष गर्न सिकायो

पढाइ बिचैमा रोकिएपछि बुबा, आमालाई सघाउने बाहेक अन्य उपाय विसीसँग थिएन । सुर्खेत उपत्यकामा जमिन्दारको जमिनमा हलो जोत्ने र त्यहीँबाट आएको खाद्यान्नले उनको परिवारको गुजरा चल्थ्यो । कामको सिजनमा बुवालाई सघाउने पूर्ण जिम्मेवारी पनि उनमा थियो ।

पछि २०४७ सालतिर विसीले गोरुगाडा किन्ने निधो गरे । ऊबेला सुर्खेतमा प्रयाप्त सवारी साधन पनि थिएन । खाद्यान्न र अन्य सामग्री पु¥याउन गोरुगाडा (लडिया) मा सामान ढुवानी गर्ने प्रचलन थियो । उनले पनि पहिलो पटक सम्पत्तीको रुपमा त्यहीँ गोरुगाडा किनेर ईट्टाभट्टाबाट ईट्टा ढुवानी गर्ने काम गर्न थाले । ‘गोरुगाडामा ईट्टा ढुवानी गर्दा आफै लोडअनलोड गर्थे’ उनले भने, ‘त्यहीँ कामबाट जम्मा भएको रुपैयाँले घरपरिवारको गुजरा चलाउनमा केही सहज भयो ।’

अभावको जिन्दगीले चार वर्षसम्म गोरुगोडा चलाएको विसीसँग तितो अनुभव छ । घरपरिवारको गुजरा चलाउनकै लागि भए पनि जिन्दगीमा गरेको संघर्षले अहिले उनी निर्माण व्यवसायीको रुपमा आफ्नो पहिचान बनाउन सफल भएका हुन् ।

आमाले आँखा गुमाउँदाको पीडा

दिनभरी गोरुगाडा चलाउने विसी प्राय घर बाहिरकै काममा व्यस्त हुन्थे । आमा तिनै गोरुगाडामा प्रयोग हुने पशुचौपायका लागि घाँस काट्न बनमा जान्थिन् । एकदिन घाँस काट्न निकाश खोला जादाँ उनकी आमा भालुको आक्रमणमा परिन् ।

‘भालुले आमालाई आक्रमण गरी दुवै आँखा निकालि दियो । त्यतिबेलाको त्यो पीडा र दृष्य देख्दा अहिले आफैलाई सम्हाल्न गा¥यो हुन्छ’ विसीले भने, ‘आमाको आँखाको ज्योती फर्काउन कयौं ठाउँ उपचारका लागि लगेँ, तर आँखाको ज्याती फर्काउन सफल भइन ।’ आमाको उपचार गर्न अस्पताल पु¥याउँदा त्यहाँ कार्यरत कर्मचारीको व्यवहार राम्रो नभएको उनीसँग अनुभव छ ।

त्यो बेला कर्मचारीको व्यवहारले म आजित बन्थे । आफू नपढेका कारण पनि धेरै जानकारी थिएन । आमाको ज्योति फर्काउने हरसम्भव गरे पनि अन्नततः म सफल हुन नसक्दा आफैलाई पीडित ठान्छु ।

लडिया बेचर पावर टेलर किने

विस्तारै वीरेन्द्रनगरमा बजारको चहलपहल बढ्न थाल्यो । त्यसपछि सामान ढुवानीमा पनि सहज होस् भनेर लडिया बिक्री गरेर भए पनि मैले पावर टेलर किने । त्यो बेला नै मलाई पावर टेलर चालउन आउथ्यों । लोडअनलोड आफैँ गरेर सामान ढुवानी गथ्र्ये । यो व्यवसायले पनि पारिवारमा खुसी स्थापित गरेको थियो ।

दिनभर काममा खटिँदा जम्मा भएको पैसाले साँझ परिवारको भोक मेटाउँथे । यसरी तीन वर्षसम्म पावर टेलर चलाएको पनि अनुभव छ । त्यसपछि विस्तारै आर्थिक स्तर बढेपछि ट्याक्टर किन्ने निधो गरे । वीरेन्द्रनगर बाहिर सामान ढुवानी गर्ने मुख्य सवारी साधन नै ट्याक्टर थियो ।


त्यसैले ट्याक्टरबाट सामान ढुवानी गर्ने उद्देश्यले किनेपछि मेरो व्यवसाय अव्बल बन्दै गयो । सुर्खेतबाट कालिकोट, दैलेख, जुम्ला लगायतका जिल्लामा ट्याक्टरबाट सामान ढुवानी गर्न थालेपछि आयस्रोत बढ्दै गयो । यसले मलाई थप व्यवसाय सञ्चालन गर्नमा हौसला पनि दियो ।

मिल पनि सञ्चालन

ट्याक्टरबाट सामान ढुवानीसँगसँगै वीरेन्द्रनगरको तातोपानीमा उनले मिल सञ्चालन गरे । धान कुटाएर चामल बिक्री गर्ने हेतुले मिल स्थापना गरेका थिए । कृषकको घरमै पुगेर किनी ल्याएको धान मिलमा कुटाएर बजारमा विक्री गर्थे । ‘काम गर्न कहिल्यै लाज मानिन्’ विसी भन्छन्, ‘धान कृषकको घरबाट खरिद गरेर मिलमा ल्याएर कुटाएपछि विक्री गर्न बजार लैजान्थे ।

मेहनतपछि प्राप्त हुने फलले पनि आत्म सन्तुष्टी दिने रहेछ ।’ पाँच वर्षसम्म उनले मिल चलाएका हुन् । ट्याक्टरबाट सामान ढुवानी गर्नेदेखी घर निर्माणमा प्रयोग हुने बालुवा, ढुंगा लगायतका सामग्री पनि उनले अर्डर अनुसार पु¥याउन थाले ।

सफलताले निर्माण सेवामा प्रवेश

जीवन संघर्षसँगै सफलता मिल्दै गएपछि जेसीभी खरिद गरेर हरि निर्माण सेवा नै आरम्भ गरे । जेसीभीमार्फत विसीले उपभोक्ता समितिका काम र घर निर्माणको काम पनि गर्न थाले । विस्तारै निर्माण सेवा आर्थिक रुपमा सवल बन्दै जानथालेपछि आवश्यक स्रोत साधन थप गरे ।

हाल उनीसँग दुई ट्याक्टर, तीन टिप्पर र चार जेसीभी छन् । उनको कम्पनीमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा २० जनाले रोजगारी पाएका छन् । निर्माण सेवासँगै उनले घर ढलानमा प्रयोग गरिने मिक्चर मेशीन खरिद गरेर व्यवसाय सञ्चालन गरिरहेका छन् ।

अब सामाजिक सेवामा लाग्छु

जिन्दगी संघर्ष हो । संघर्षविना जिन्दगीको खास दौडाइ बुझ्न सकिदैन । तर विसीलाई दुई कुरामा पछुतो छ । गरिवीका कारण पढ्न नपाएको र छोराको खुसीका लागि आमाले संघर्ष गर्दा अन्तमा आमाकै आँखाको ज्योती गुमाएकोमा ।

आज पनि विसी ति क्षण भुल्न सक्दैनन् । चार बहिनीसहित घरको एक्लो छोरा विसी विगतमा जेभए पनि आफ्ना तीन सन्तानलाई डाक्टर पढाएर सामाजिक क्षेत्रमा फर्कने योजनामा छन् । ‘आमाले आँखा गुमाउनुभयो, उहाँको उपचारमा खटिदाँ कयौं पीडा अस्पतालबाट पाएको छु ।

ती दुखदायी पलहरु अझै पनि ताजा छन्’ विसी भन्छन्, ‘आफू पढ्न नसकेपनि छोराहरुको उज्वल भविष्यका लागि डाक्टर बनाएर सामाजिक क्षेत्रमा काम गर्ने मार्गमा अग्रसर भएको छु ।’ बजारमा दृष्टिविहिन देख्दा उनी आफ्नै आमालाई सम्झन र उनका लागि सहयोग गर्नमा अग्रसर हुन्छन् । विभिन्न सामाजिक संस्थाहरुमा सहयोग गरिरहेका विसी आगामी दिनमा दामका लागि नभइ नामका लागि सामाजिक क्षेत्रमा खटिने प्रण गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार