कोरोनाबाट बच्न के गर्ने, के नगर्ने ? लाखौंलाई कोरोना लागिहाल्यो भने पनि उपाय छ

काठमाडौं : जो १३ दिने किरिया बस्छ, किरिया बस्दा सरुवा प्रायः रोगले छुँदैन । उसले आफ्नो खाना आफैं बनाएर खान्छ । छुट्टै बस्छ । एक हिसाबले त्यो पनि आइसोलेसन रहेछ । यो धर्मसँग जोडिएको कुरा हो । तर, यसमा वैज्ञानिक कारण रहेछ ।

दुईसय वर्ष अगाडि नेपालमा बिफरको प्रकोप थियो । त्यतिबेला गाउँहरू गुचमुच्च थिए । बिफर आउँदा सबैलाई लाग्यो । प्रताप शाह र गिर्वाणयुद्धको निधन पनि बिफरबाट भयो । त्यसबेला गाउँभन्दा चार÷पाँच मिनेटको बाटोमा सत्तल बनाएर राखियो ।

बाहिरबाट चेलीबेटी वा अरु आउँदा दुईचार दिन त्यहीँ राखिन्थ्यो, अनि मात्रै गाउँमा पस्थे । जंगबहादुरका पालामा बिफरको खोप सुरु भएपछि भने यस्तो चलन बिस्तारै हराउँदै गयो । यो सन्दर्भमा यहाँ किन उल्लेख गरेको हुँ भने मानिलिऔं, ठूलो संख्यामा कोरोना लाग्यो रे । हो, त्यस्तो अवस्थामा पनि हामीले उपचारको प्रयास त गर्छौं ।

त्यतिबेला अस्पताल पर्याप्त हुँदैन । एउटा दुर्गम गाउँमा देखियो रे । त्यहाँ जहाज जाँदैन, भरियाले बोक्न मान्दैन । हो, त्यस्तो बेलामा स्थानीय उपायहरु अपनाउनुपर्छ । त्यो भनेको हाम्रा पूर्खाले गर्दै आएको सत्तल, पाटीपौवाको अवधारणामा जानुपर्ने हुनसक्छ । सत्तलहरू बनाएर राख्ने हो भने कोरोना उन्मूलनपछि पनि काम लागिहाल्छ ।

कोरोनाबाट बच्न सरकारले के गर्ने ?

बेइजिङबाट दिल्ली गएको यात्री बस चढेर काठमाडौं आयो रे । त्यस्ता यात्रीको अभिलेख हामीसँग हुँदैन । कोही त्यसरी आयो भने हामीलाई चीन होइन, भारतबाट आएको हो भन्ने बुझ्छौं । त्यसैले स्थलमार्गमा पनि हामीले उच्च सतर्कता अपाउनु जरुरी छ ।

विमानस्थलभित्रै शंकास्पदका लागि क्वारोन्टाइन र संक्रमितलाई आइसोलेसनको व्यवस्था गर्नु जरुरी छ । नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा यस्तो व्यवस्था छ । त्यहाँ अध्यागमनमा राख्नुभन्दा पहिला नै चेकजाँच गरिन्छ । विमानस्थल भन्दा बाहिर जानका लागि भिसा चाहिन्छ । भिसा नभएका संक्रमितका लागि यस्तो व्यवस्था गरिनुपर्छ । निमोनिया, श्वासप्रश्वासका बिरामीहरूको र्यान्डम्ली नमूना संकलन गर्नु आवश्यक छ । जसले गर्दा सम्भावित संक्रमणबारे पूर्वजानकारी होस् ।

चिकित्सक, नर्स र प्रयोगशाला प्राविधिकहरूलाई आवश्यक तालिमको व्यवस्था गर्नुपर्छ । कसरी बच्ने, उपचार कसरी गर्ने आफू बचेर कसरी बिरामी बचाउने भन्नेमा तालिम दिनुपर्छ । उनीहरूले लगाउने भाइरस नछिर्ने पोशाक, औषधी र प्रयोगशालामा प्रयोग हुने किटको पर्याप्त व्यवस्था गर्नुपर्छ । मलेरिया, फ्लु, एचआइजी एड्समा दिने एन्टिभाइरल लगायतका औषधी राखेर उनीहरूले एउटा ‘प्रोटोकल’ बनाएको छ ।

परीक्षणका रुपमा उनीहरूले विभिन्न औषधी प्रयोग गरिरहेका छन् । चिकित्सा विज्ञानले एउटा भाइरसका विरुद्ध काम गरिसकेको औषधीलाई मौका दिइरहेको छ । आइसोलेसनको पर्याप्त व्यवस्था गर्नुपर्छ । कोरोनाको बिरामी राखेको थाहा पाएको ठाउँमा त अरु जान खोज्दैन । अरु बिरामी नआउने भएपछि अस्पतालले पनि कोरोनाको बिरामी राख्न खोज्दैन । एकान्तमा रहेको तर सञ्चालनमा नरहेको होटल वा रिर्सोट भाडामा लिएर आइसोलेसन केन्द्र बनाउन सकिन्छ ।

२०–२५ तल्लाका भवनहरूलाई पनि त्यसको विकल्पको रुपमा प्रयोग गर्न सकिन्छ । दैैनिक तन्ना फेर्ने, शौचालय सफा गर्ने, बिरामीलाई खानाको व्यवस्था गर्न सकिन्छ । १०–२० करोड खर्च हुन्छ भनेर भने पनि गर्ने नि । यो त नगरी नहुने काम हो । प्रतिरोधात्मक क्षमता राम्रो छ भने त लागि नै हाल्यो भने पनि ठीक हुन्छ । कोरोना संक्रिमितलाई भेट्न जाँदा, उपचार गर्दा वा उसको सम्पर्कमा जाँदा एन–९५ भन्ने मास्क अनिवार्य छ । तर, बाटोमा हिँड्दा, सपिङ मलमा जाँदा सर्जिकल मास्क लगाए पुग्छ । कपडाको मास्कले भने पुग्दैन । १०० प्रतिशत प्रत्याभूतिका लागि एन–९५ मास्क चाहिएको हो ।

एन–९५ लेखिएका दुई–तीन सय रुपैयाँमा पाइने मास्कको कुरा गरेको होइन । स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा रुघाखोकीको कुरा उल्लेख छ । तर, ८५ प्रतिशत मान्छेमा जम्मा तीनवटा लक्षण देखिएको छ– ज्वरो, खोकी र श्वास फेर्न गाह्रो भएको । जिउ दुख्ने, घाँटी दुख्ने, होस कम भएजस्तो हुने जस्ता लक्षण ८÷१० प्रतिशतमा मात्रै देखिन्छ । रुघाखोकी सामान्य चिसोले पनि हुन्छ भन्ने बिर्सेर फ्लुसँग मात्रै जोड्नु भएन । यो भनेको भात खाने भन्नुको सट्टा चट्नी खाने भनेजस्तो भयो । सरकारले जोखिमबारे जानकारी गराउनुपर्छ । नढाँट्ने, सही सूचना दिने गर्नुपर्छ । नेपालमा एकजनामा देखिएर पनि निको भयो नि ।

तिनको विषयमा चर्चा–परिचर्चा हुनुपर्दथ्यो । उनको अनुभवले अरुको मनोबल बलियो हुन्थ्यो । यो डराउनुपर्ने कुरै होइन । ज्वरो आएको, खोकी आएको छ भने शंकास्पद हो । तर, खोकीमात्रै लागेको छ भने होइन । भाइरस सक्रिय हुँदासम्म मान्छेलाई ज्वरो आउँछ । भाइरस मरेपछि ज्वरो हुँदैन । कोरियामा भने एउटा अपवाद देखिएको थियो । सम्पर्कहरु ‘ट्रेसिङ’ गर्नुपर्दछ जतिधेरै मान्छे जम्मा भयो, जोखिम उति नै धेरै हुने भयो । एउटालाई लागेको छ भने अरुलाई सर्ने सम्भावना रहन्छ । त्यसैले सभा सम्मेलन जस्ता जमघटका कार्यक्रम नगर्नु बेस । पछि गरे हुने कार्यक्रम छ भने अहिले हतार किन गर्ने ?
मान्छे नबुझिकन विभिन्न तर्क गरिरहेका छन् । तर्क धेरै भएर त्रासको रुप लिएको छ । सही सूचना प्रवाह हुने हो भने कोही पनि अत्तिदैन । तथ्य जे हो, सरकारले जनतासामु राख्नुपर्छ ।
तर, चाहिने भन्दा बढी सूचना पनि आवश्यक छैन । जनताले के गर्दा बच्न सकिन्छ त्यसमा ध्यान दिनुपर्दछ । (इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीसँगको वार्तामा आधारित)

तपाईको प्रतिक्रिया