कालिकोट : कालिकोटका सहिद परिवारलाई नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीले सम्मान गरेको छ । नेकपा कालिकोटले मंगलबार रास्कोटमा एक औपचारिक कार्यक्रमको आयोजना गरी ७२ जना जनयुद्धका सहिद परिवारलाई सम्मान गरेको हो ।
कार्यक्रममा रास्कोटका सहिद पुष्प न्यौपानेकी पत्नी बिन्दा न्यौपानेले सत्ताधारी नेकपाले सहिदको सम्मान गर्न नसकेको बताइन् । उनले भनिन्, ‘सत्ताधारी नेकपाले हामीलाई बिर्सिसक्यो । बिप्लव नेतृत्वले सबैलाई जम्मा गरेर सम्मान गरेकाले धन्यबाद छ ।’ उनले नेकपाका अध्यक्ष प्रचण्डले जुत्ता खाएको घटनालाई संकेत गर्दै भनिन्, ‘बरु हत्कडी खानु तर जुत्ता नखानु ।’ उनले जनयुद्धताका बाँडेका सपनाहरु अहिले सरकारमा गएपछि बेवास्था गरेको आरोप लगाइन् ।
यस्तै रास्कोटकै अर्का सहिद आह्वानको दाइ प्रमोदले आफुहरू सत्ताधारी नेकपाभन्दा अहिले सरकारद्वारा प्रतिबन्ध खेपिरहेको नेकपा प्रति विस्वासको वातावरण रहेको बताए । उनले भने, ‘जनयुद्धताका गरिवको सरकार आउँछ भन्थे । तर अहिले पहिलेका समाजका सुकिला मुकिलाहरुकै सरकार आएको महसुस गरेका छौँ ।’ जनयुद्धको नेतृत्व गरेको पार्टी सरकारमा हुँदासमेत सहिद परिवारले राज्यबाट पाउनु पर्ने सम्मान नपाएको उनले बताए ।
उनले भने, ‘अहिलेको सरकारले जनयुद्धका सहिदलाई सहिद नै मानेको छैन । यसमा हाम्रो आपत्ति छ ।’ नेकपाको एरिया नं. ३ का अध्यक्ष निर्भिक शाहीको अध्यक्षता तथा जिल्ला इन्चार्ज कर्णबहादुर भण्डारी बिराडको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेकपाका जिल्ला इन्चार्ज तथा कर्णाली ब्यूरो सदस्य कर्णबहादुर भण्डारी बिराडले जनयुद्धका सहिदहरुको सपना पुरा गर्ने प्रतिबद्धता जनाए । उनले जनयुद्धको मुख्य नेतृत्वले नै आफुहरूलाई धोका दिएको आरोप लगाउँदै आफुहरूले धोका नदिने वाचा गरे ।
उनले भने, ‘सहिद परिवार ढुक्क हुनुस् । हामी जनता र सहिद परिवारलाई धोका दिँदैनौँ । एकीकृत जनक्रान्ति सफल अवश्य हुनेछ । सहिदको सम्मान पनि हुनेछ । ‘कार्यक्रममा नेकपाका जिल्ला सेक्रेटरी मणीलाल ऐडी, एरिया नं. २ का इन्चार्ज विरण, युवा संगठनका जिल्ला अध्यक्ष आशमा क्षेत्री लगायतका वक्ताले बोलेका थिए ।
युग संवाददाता । । २३ फाल्गुन २०७६, शुक्रबार ११:४९