डुङ्गेश्वरलाइ कृषिबाटै आत्मनिर्भर बनाउँने छौं : नगेन्द्रबहादुर मल्ल

दैलेखको डुङ्गेश्वर गाउँपालिका जिल्लाका अन्य स्थानीय तहभन्दा प्राकृतिक स्रोत र साधनले सम्पन्न स्थानीय तह हो । यो गाउँपालिका व्यवसायिक तरकारी खेतीले प्रख्यात छ । पर्यटकीय सम्भावना रहेको यस गाउँपालिकाले पूर्वाधार विकाससँगै कृषि र पर्यटन विकासमा जोड दिदैँ आएको छ । गाउँपालिकामा पूर्वाधार विकाससँगै कृषिमा आत्मनिर्भर बन्नेगरी काम भइरहेको गाउँपालिका अध्यक्ष नगेन्द्रबहादुर मल्लले बताए । गाउँपालिकाको उपलब्धि र भावी योजनाका विषयमा अध्यक्ष मल्लसगँ गरिएको कुराकानीको साराशंः ।

नगेन्द्रबहादुर मल्ल
अध्यक्ष, डुङ्गेश्वर गाउँपािलका दैलेख

गाउँपालिकाको संगठनात्मक संरचना तथा संक्षेपमा पृष्ठभुमि बताई दिनुहोस् न ?

नेपाल सरकारको निर्णयानुसार साविकका चार वटा गाविसहरु बेलपाटा, लाकुरी, अवलपराजुल, डाँडापराजुललाई एक आपसमा गाभेर ६ वटा वडामा विभाजन गरी यस डुङ्गेश्वर गाउँपालिकाको संरचना तयार पारिएको हो ।

कुल एकसय पाँच दशमलव २० वर्ग किमी क्षेत्रफमा फैलिएको यो गाउँपालिका दैलेखका ११ वटा स्थानीय तहमध्ये क्षेत्रफलका हिसाबले तेस्रोे सानोे स्थानीय तह पनि हो । दुन, टार, चुरे र महाभारत श्रेणीमा पर्ने रमणीय वातावरणमा रहेको सुन्दर गाउँपालिकामा थोरै साधन र स्रोतको लगानीबाट गाउँपालिकाको, सामाजिक आर्थिक र भौतिक पूर्वाधारका क्षेत्रमा विकास हुनसक्ने सम्भावना छ ।

यो गाउँपालिका भौगोलिक हिसाबले विकट र विकासको हिसाबले विकासोन्मुख अवस्थामा रहेको छ । २०६८ को जनगणना अनुसार कुल १६ हजार आठसय ८३ जनसंख्या रहेको यो गाउँपालिका भित्र विभिन्न जातजातीहरुको पनि बसोबास रहेको छ । कुल जमिनको ५३.९७ प्रतिशत अर्थात जाँचहजार ६ सय ७७ दशमलब ५६ हेक्टर भुभाग वनजंगलले ढाकेको छ । यस गाउँपालिका भित्र प्रशस्त मात्रामा खोलानाला छन् ।

मुख्यतया क्षेत्री र ब्राह्मण जातिको बाहुल्यता रहेको यस गाउँपालिकामा ठकुरी, गुरुङ्ग, मगर, कामी, दमाईको बसोबास रहेको छ । भने केही संख्यामा अल्पसंख्यक जाति गाइने र वादी जातिको पनि बसोबास रहेको छ । धार्मिक तथा सांस्कृतिक रुपमा डुङ्गेल मन्दिर, भैरव मन्दिर, नारायण मन्दिर रहेका छन् । प्राकृतिक स्रोत साधनको रुपमा पराजुलीखोला, कुईंया ताल, प्लेट खानी, वनजंगल रहेका छन् ।

गाउँपालिकामा आर्थिक विकासको मूख्य आधार के के हुन् ?

यहाँको कृषि तथा पशु व्यवसाय नै आर्थिक विकासको मूख्य आधार हुन् । तर औधोगिकरणको गती मन्द छ । पालिकाको आर्थिक तथा सामाजिक विकासका लागि कृषि, पशुपंक्षी तथा अन्य घरेलु तथा साना उद्योग व्यवसायलाई जोड दिएका छौं ।

यस गाउँपालिकामा कृषि तथा पशुपंक्षी व्यवसायमा अत्याधिक जनसंख्या संलग्न छ । पढेलेखेका विपन्न र साधारण लेखपढ गर्ने व्यक्तिले पनि सहज रुपमा कृषि, पशुपंक्षी तथा अन्य साना उद्योग व्यवसाय अंगालेका छन् । पालिकाले यो व्यवसायलाई व्यवस्थित गर्न पनि लागेको छ ।

हाल रहेको मिश्रित व्यवसायिक प्रणालीले कृषि, पशुपंक्षी, वन, जडिबुटी पर्यटन तथा साना व्यवसायको विकास र विस्तार हुन नसकेको अवस्था हो । हरेक वर्ष गाउँपालिकाबाट लाखौंको तरकारी निर्यात भइरहेको छ । आगामी वर्षदेखि लाखौंको तरकारी निर्यात दर बढ्दै जाने हाम्रो अपेक्षा छ । यहाँको प्रसस्त जलस्रोतलगायत अन्य प्राकृतिक स्रोतको सही सदुपयोग गर्न सकियो भने अर्थतन्त्रमा पालिका अझै बलियो बन्दै जाने देखिन्छ ।

पूर्वाधार विकासमा भएका उपलब्धी र सञ्चालित योजना के–के छन् ?

हामीले सबैभन्दा बढी बजेट पूर्वाधार विकासमा नै खर्च गर्दै आएका छौं । जसअनुसार ६ वटै वडामा सडक निर्माण गरेका छौं । अहिले बाह्रै महिनामा गाडी सञ्चालन हुन थालेका छन् । यसअघि डोकोमै तरकारी र डोकोमै बिरामी बोक्दै आएका यहाँका स्थानीयहरु अहिले गाउँगाउँसम्म एम्बुलेन्स र तरकारी बोक्ने गाडी जान थालेपछि खुसी भएका छन् ।

यस्तै तीन वटा नयाँ विद्यालय भवन र सामुदायिक स्वास्थ्य केन्द्रका भवन निर्माणको कार्य सञ्चालन गरिरहेका छौं । गाउँपालिकाभर विद्युत विस्तारको काम जारी छ । हाल वडा नम्बर २ मा ९० प्रतिशत विद्युत विस्तारको काम सम्पन्न भएको छ । एक घर एक खानेपानीको धारो निर्माणको आयोजना पनि सञ्चालन भइरहेको छ । सात वटा स्किमबाट खानेपानी आयोजनाको काम भइरहेको हो ।

विभिन्न बस्तीका दुईसय ४७ घरधुरीमा सुरुमा खानेपानीको धारा पुग्नेछन् । यसरी नै हरेक विषयगत क्षेत्रमा सुधार ल्याउँदै गाउँपालिकाको समृद्धिका लागि हामी लागि परेका हौं । वडा कार्यालयदेखि सबै क्षेत्रमा अभाव भौतिक पूर्वाधार विकासलाई पनि उत्तिकै जोड दिएका छौ । त्यसैले समृद्ध पालिका र सम्पन्न जनता कसरी बनाउने भन्ने हाम्रो पनि चिन्ताको विषय हो ।

तपाईँ निर्वाचित भईसकेपछिको उपलब्धी लाई कसरी हेर्नुहुन्छ ?

यसअघि समस्या नै समस्याकोबिचमा हाम्रो गाउँपालिका गुज्री रहेको थियो । सडक निर्माणको काम सूचारु भए पनि सम्पन्न भएका थिएनन् । तर म निर्वाचित भएपछि सबै वडा सडक र यातायातको पहुँचमा पुगेका हुन् ।

त्यस्तै यहाँको स्वास्थ्य क्षेत्रलाई मध्यनजर गर्दै थप स्वास्थ्य इकाई स्थापना गर्दैछौं । शिक्षा क्षेत्रमा सुधार ल्याउन नियमित विद्यालयसँग समन्वय सहकार्य जारी छ । विद्यालयमा शिक्षक, विद्यार्थी उपस्थिति दर बढेको छ । स्वास्थ्य संस्थामा औषधि अभाव घटेको छ । कालो बजारी न्यूनिकरण भएको छ ।


सामाजिक क्षेत्रमा हुने विकृती न्यूनिकरण गर्ने अभियान जारी छ । यसरी हरेक क्षेत्रमा शुन्यबाट सुरु गरेको कामले अहिले गती लिदैछ । सुरु सुरुमा काम गर्दा अलिकति अन्यौल पनि भए । अहिले विकासका कामको रप्तार अघि बढेको छ । त्यसैले पहिलेको तुलनामा हाल म निर्वाचित भइसकेपछि जनताले देख्ने गरी काम भइरहेको छ ।

जनप्रतिनिधिले सडक निर्माणमा जोड दिनुको कारण भ्रष्टाचार गर्न खोज्नु पनि हो भन्ने आरोप छ नी ?

कतिपय ठाउँ र सन्दर्भ अनुसार यो कुरा सहि होला । तर हाम्रो पालिकाको सन्दर्भमा यस्तोे आरोप छैन । हामीले सुशासन र पारदर्शितालाई अत्यन्तै ख्याल गरेर काम गरिहेका छौं । सडक मर्मत र निर्माणको काम गर्नुपर्दा सबैसँगको सल्लाह हुन्छ । ठेक्कापट्टा र उपभोक्ता र मार्फत सडक निर्माणमा जोड दिएका छौं ।

हरेक योजनाको सार्वजनिक सुनुवाईदेखि सामाजिक लेखापरीक्षण पनि हुन्छ । विशेषगरी उपभोक्ता मार्फत बढी काम गर्न खोजियो भने अनियमितता हुन्छ, भन्ने गुनासो र आरोप आएकाले हामीले उपभोक्तालाई पनि खासै प्राथमिकता दिएका छैनौं । अन्य स्थानीय तहको लागि भन्न सकिदैन । तर हाम्रो स्थानीय तहमा भ्रष्टाचार शुन्य छ । यसमा हामी दावी पनि गर्छौ । यदी कहीँकतै अनियमितता देख्नुहुन्छ भने नागरिकको पक्षबाट पनि कमजोरी औंल्याइ दिनुभयो भने सहज हुनेछ ।

गाउँपालिकाको आम्दानीको स्रोत कमजोर हुँदा के कस्ता समस्या छन् ?

अहिले देशभरका स्थानीय तह राजस्व असुलीमा एकदम कमजोर छन् । यो समस्याको विषय पनि हो । हाम्रो भुगोल भनेको पहाडी भुगोल हो । पहाडी भुगोलमा जति मेहनत गरे पनि आन्तरीक राजस्व बढाउन चुनौती छ । अहिले हामीले बालुवा, गिट्टी, काठ लगायत मालपोतको क्षेत्रबाट मात्रै राजस्व संकलन गर्न सकेका छाैँ ।

त्यसैले अब आन्तरीक राजस्व बृद्धि गर्न कृषि र पशुपंक्षी क्षेत्रमा साझेदारी व्यवसाय सञ्चालन गर्ने तयारी थालेका छाैँ । यसले गर्दा आगामी आर्थिक वर्षदेखि आन्तरीक राजस्व बृद्धि हुनेछ । पालिकामा आन्तरीक राजस्व बढाउने विषयमा छलफल, बहस भईरहेको छ । यसका लागि स्रोतको पहिचान हुँदैछ । त्यसैले भविष्यमा आन्तरीक राजस्वको स्रोत बढ्दै जानेछ । नत्र भने स्थानीय तह सञ्चालनमै समस्या हुन्छ ।

सधैँ प्रदेश सरकार र संघ सरकारकै भर पर्नुपर्ने हुन्छ । अहिले वडा स्तरका गौरवका योजना बाहेक अन्य कुनै पनि ठुला पालिका स्तरका गौरवका आयोजना पालिकाले सञ्चालन गर्न सम्भव छैन । बजेटको कमिले सधैँ प्रदेश र संघकै मुख ताक्नुपर्ने अवस्था नआओस् भनेर आन्तरीक स्रोत सदुपयोग गरी राजस्व बृद्धिमा ध्यान दिनुपर्ने देखिन्छ ।

पर्यटन विकासका लागि के के अभ्यास भएका छन् ?

यसका लागि हामीसँग प्रसस्त धार्मिक तथा प्राकृतिक स्रोत छन् । तर पर्यटन पूर्वाधार विकासमा जोड दिनुपर्ने देखिन्छ । यहाँ भएका धार्मिक तथा सांस्कृतिक रुपमा डुङ्गेल मन्दिर, भैरव मन्दिर, नारायण मन्दिरहरु र प्राकृतिक स्रोत साधनको रुपमा पराजुलीखोला, कुईंया ताल, प्लेट खानी, वनजंगल रहेका छन् ।

त्यसैले यहाँ पर्यटक बढाउन भ्यु टावर निर्माण र पर्यटकलाई रमाउने गरी खान, बस्न र अवलोकन गर्न सजिलो हुने गरी पार्कहरु निर्माण गर्ने तयारीमा छौँ । हामीसँग उपलब्ध स्रोत साधानलाई संरक्षण, सम्बद्र्धन गरी यहाँको पर्यटन विकासमा जोड दिइरहेका छौ । अबको केहि वर्षभित्र पर्यटकीय क्षेत्रबाट पनि आर्थिक आयआर्जन गर्ने गरी पालिका लागिपरेको छ ।

अन्नबाली तथा मासुजन्य क्षेत्रमा आत्मनिर्भर छ, की छैन ?

हामी मासुजन्य चिजमा आत्मनिर्भर नै छौ । यहाँबाट खसीबोका, कुखुरा निर्यात पनि हुन्छन् । तर अन्य कृषिजन्य वस्तुमा आत्मनिर्भर बन्ने प्रयासको बाटोमा छौँ । सोहीनुसार आवाश्यक कृषिका कार्यक्रम गर्दैछौँ । यहाँ मकै, कोदो र भटमास प्रसस्त उत्पादन हुन्छ ।

तर नागरिकहरु स्थानीयले भिटामिन तथा पौष्टिक तत्वयुक्त स्थानीय अन्न बेचेर आयतिद सेतो चामल खान्छन् । यहाँको खण्डिकृत जग्गामा निर्वाहमुखी खेती पद्धतिभन्दा अब पकेट क्षेत्रको रुपमा व्यवसायिक खेती प्रणाली अपनाउने गरी कार्यक्रम सञ्चालन गर्न खोज्दैछौं । यसका लागि पालिकाले आवश्यक नीति तथा कार्यक्रम बनाएर कृषिमा आत्मनिर्भर बन्ने योजना बनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार