कर्णालीमा कोरोनाबाट जोगिन पूर्वतयारी चार वटा नाकामा चेकजाँच

सुर्खेत : विश्वका धेरै देशमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभीड–१९) भित्रन नदिन कर्णालीमा विशेष तयारी थालिएको छ । कोरोनाबाट जोगिन कर्णाली भित्रिने मुख्य नाकाहरुमा चेकजाँच र स्वास्थ्य परिक्षण गरिने भएको हो । यस्तै सचेतनामुलक कार्यक्रम पनि संचालन गर्न लागिएको छ ।

कोरोनाबाट अति प्रभावित छिमेकी देश चीनसँग सीमा जोडिएको हुम्लासहित चार वटा नाकामा हेल्थडेस्क नै स्थापना गर्न लागिएको हो । तिब्बतसँग सीमाना जोडिएको हुम्लाको हिल्सा, ५ नम्बर प्रदेशसँग जोडिएको बबई, दाङबाट भित्रिने सल्यानको कपुरकोट र काठमाडौंबाट मानिसहरु भित्रिने सुर्खेत विमानस्थलमा गरी चार स्थानमा चेकजाँच गरिनेछ । यसका लागि यी स्थानमा हेल्थडेस्क राख्ने तयारी प्रदेश सरकारले गरेको छ ।

यी नाकामा औषधीसहित खटिने टोलीले आवतजावत गर्ने नागरिकहरुलाई सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने र शंकास्पद विरामीलाई स्वास्थ्य चेकजाँच पनि गर्नेछन् । हेल्थ डेक्समा आवश्यक सामग्री तथा औषधिहरु तत्काल हिल्सा नाकामा पठाउने तयारी अवस्थामा राखिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक रिता भण्डारी जोशीले जानकारी दिईन् । ‘अपुग हुनसक्ने थप सामग्री खरिद गर्ने तयारी गरेका छौं’ निर्देशक जोशीले भनिन्, ‘सुर्खेत विमानस्थलमा रहने हेल्थ डेस्कमा पनि नियमित रुपमा आवतजावत गर्ने मानिसहरुको चेकजाँच गरिनेछ ।’

कपुरकोट र बबईमा राखिने डेस्कहरुबाट भने जनचेतनालाई फोकस गरिने गरिनेछ । प्रदेश अस्पतालमा कोरोना भाइरसबाट संक्रमितलाई उपचार गर्न दुई बेडसहितको विशेष कक्ष स्थापना गरिएको छ । एक साताअघि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले विशेष वैठकबाट प्रदेशमा कोभिड–१९ भित्रिन नदिन तयारी थाल्ने निर्णय गरेको थियो । मन्त्रालयको निर्णय अनुसार सबै क्षेत्रमा व्यवस्थापनको तयारी भईरहेको निर्देशक जोशीले बताईन् ।

‘ज्वरो आउँदैमा कोरोना हुँदैन’

सामान्य ज्वरो आउँदैमा कोरोना भाइरस नै लागेको हो भनेर त्रसित नहुन आम नागरिकहरुलाई अनुरोध गर्दछु । कोरोना भाइरससँग मिल्दा जुल्दा लक्षणहरु देखिएकै भरमा देशभर नै संत्रास फैलाउने काम भइरहेको छ । कोरोनाको संक्रमण भएको व्यक्तिसँग भेट भएको १४ दिनपछि दोस्रो व्यक्तिमा संक्रमण भएको देखिन्छ । संक्रमण भएको व्यक्ति १४ दिनमा स्थानीय क्षेत्र वा यात्रा गरेमा कोरोना भइरस फैलिन्छ ।

सामान्य ज्वरो वा रुघाखोकी लाग्दैमा कोरोना भाइरसले भेटायो भन्दै त्रास फैलाउनु गलत हो । यो समयमा ज्वरो आए, खोकी तथा सास फेर्न कठिनाई भएमा चिकित्सकसँग सल्लाह लिन नागरिकहरुलाई अनुरोध गर्दछु । कोरोना भाइरससँग प्रतिकार्य गर्न स्वास्थ्य मन्त्रालयले अहिले सातै प्रदेशमा टोलीहरु खटाइसकेको छ । सात प्रदेशमा कोरोना भाइरससँग प्रतिकार्य गर्न विविध सचेतनामुलक कार्यक्रम र हेल्थ डेस्क स्थापना लगायतका कामहरु अघि बढाउन प्रदेश सरकार र पालिकाहरुसँग समन्वयका कामहरु गरिरहेका छौं ।

यस्ता हुन्छन् कोरोनाका लक्षण

व्यक्ति, चरा र स्तनधारी जनावरको स्वासप्रस्वासबाट यो एक अर्कामा सर्ने गर्छ । यो भाइरसको संक्रमण भएमा ज्वरो आउने, कसैकसैमा श्वास प्रश्वासमा समस्या आउने र निमोनियाको लक्षण देखिने गर्छ । यो भाइरसले फोक्सोको ठूलो भागमा संक्रमण गराई निमोनियाको विकास गर्छ । अन्य संक्रमणमा भन्दा कोरोना भाइरसमा निमोनिया गराउन सक्ने क्षमता बढी हुन्छ ।

जनावरबाट सर्ने भनिएको यो भाइरस अहिले मानिसबाट मानिसलाई सर्छ । कोरोना भाइरसको संकमण भएपछि ज्वरो आउँछ र त्यसपछि सुख्खा खोकी लाग्छ । केही हप्तापछि सास फेर्न गाह्रो हुन्छ र केही बिरामीलाई अस्पताल लैजाने अवस्था आउँछ । तर कैयौँ अवस्थामा यस्ता लक्षण नदेखिएका बिरामीमा पनि भेटिने गरेको विज्ञहरू बताएका छन् ।

कसरी बच्ने ?

कोरोना भाइरसबाट बच्न नियमित रुपमा साबुन पानीले हात धुने, खोक्दा र हाछ्युं गर्दा नाक र मुख छोप्ने, मौसमी फ्लू जस्तो लक्षण देखाउने जो कोहीको सम्पर्कबाट टाढा रहनुपर्दछ ।

माछा, मासु, अण्डा राम्रोसँग पकाएर खाने, जंगली तथा घरपालुवा पशुपंछीसँगको सम्पर्कबाट टाढा रहने र ज्वरोसहितको रुघा खोकीको लक्षण देखिएमा स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्दछ । नियमित रुपमा मास्कको प्रयोग गर्ने र भीड भएको ठाउँहरुमा नजाँदा उपयुक्त हुने चिकित्सकहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया