एमयूले पायो ६ महिनापछि उपकुलपति


सुर्खेत : मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले ६ महिनापछि उपकुलपति पाएको छ । लामो समयसम्म विश्वविद्यालय उपकुलपतिबिहीन थियो । विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार प्राध्यापक डा. नन्दबहादुर सिंहलाई उपकुलपतिमा नियुक्त गरेका हुन् ।

यसअघि गत असोज ६ गते तत्कालिन उपकुलपति प्रा.डा. उपेन्द्रकुमार कोइरालाको कार्यअवधि सकिएको थियो । त्यसयता विश्वविद्यालयमा उपकुलपति नियुक्त हुन सकेको थिएन । उपकुलपति नहुँदा विश्वविद्यालय निमित्तको भरमा सञ्चालन हुँदै आएको थियो । लामो प्रयासपछि कालिकोट स्थायी घरभएका सिंहलाई उपकुलपतिमा नियुक्त गरिएको हो ।

नवनियुक्त उपकुलपति सिंहले आज (मंगलबार) मात्रै औपचारिक नियुक्ती बुझ्ने छन् । उपकुलपतिमा नियुक्त भएपछि सिंहले विद्यार्थी केन्द्रीत अध्ययन प्रणालीको विकास गर्ने बताए । उनले भने, ‘मध्यपश्चिम विश्वविद्यालयलाई देशकै नमूना विश्वविद्यालय बनाउने छौं, कर्णालीको माटो सुहाउँदो उच्च शिक्षा सहज रुपमा प्रदान गर्ने हाम्रो प्रयत्न रहनेछ ।’ आफू कर्णालीवासी भएकाले पनि सबैसँग सहकार्य गरेर विश्वविद्यालयलाई नमूना बनाउने उनको भनाइ छ ।

लामो समयदेखि त्रिभुवन विश्वविद्यालयका प्राध्यापक रहेका सिंहले टोकियो विश्वविद्यालयबाट सन् २००२ मा पीएचडी गरेका छन् । नवनियुक्त उपकुलपति नेकपा (पूर्वएमाले) निकट हुन् । सरकारले अर्काे व्यवस्था नहुन्जेलसम्मका लागि विश्वविद्यालयकै व्यवस्थापन संकायका डीन डा.मस्तबहादुर गरंजालाई निमित्त उपकुलपतिको रुपमा नियुक्त गरेको थियो । डा.उषा झा नेतृत्वको सर्च कमिटीले केही महिना अगाडि प्रधानमन्त्रीलाई विश्वविद्यालयको उपकुलपतिका लागि गरेको सिफारिशका आधारमा सिंह उपकुलपति नियुक्त भएका हुन् । सर्च कमिटीले सिंहसंगै जनार्दन लामिछाने र केशरसिंह राना गरी तीनजनाको नाम सिफारिस गरेको थियो ।

को हुन् सिंह ?

एमयूका नवनियुक्त उपकुलपति प्राध्यापक डा. नन्दबहादुर सिंह कालिकोटको डिल्लीकोट निवासी हुन् । स्वर्गीय आमा लालशोभा र शेरबहादुर सिंहको आठौं (कान्छो) सन्तानका रुपमा सिंहको २०२२ असार १ गते जन्म भएको हो । उनले डिल्लीकोटमै कक्षा ७ सम्मको अध्ययनपछि एसएलसीसम्मको अध्ययन दैलेखबाट पुरा गरेका हुन् ।

२०३८ सालमा एसएलसी उत्तिर्णपछि त्रिभूवन विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गर्दै सन् २००२ मा जापानको टोकियो विश्वविद्यालयबाट पीएचडी गरेका छन् । माध्यमिक तहमा संधै प्रथम हुने सिंहले उच्च शिक्षा अध्ययन गर्दा त्रिभूवन विश्वविद्यालयबाट २०५१ मा गोल्डमेडलिस्टसमेत बनेका थिए । २५ वर्षदेखि भित्रूवन विश्वविद्यालयमा प्राध्यापक, सह–प्राध्यापक हुँदै बरिष्ठ प्राध्यापकका रुपमा कार्यरत थिए ।

उपकुलपतिका चुनौती

मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) मा यसअघि तीन जना उपकुलपतिले काम गरिसकेका छन् । स्थापना कालमा पदमलाल देवकोटा, त्यसपछि कालिप्रसाद पाण्डे र उपेन्द्रकुमार कोइरालाले विश्वविद्यालयको नेतृत्व गरेका थिए । यद्यपी उनीहरुको कार्यकालमा विश्वविद्यालयले गति लिन नसकेको आलोचकहरु बताउँछन् । तीन जनाकै कार्यकाल विवादकाबीच गुज्रिएको थियो ।

यसैबीच चौथो उपकुलपतिकाको रुपमा सिंहले जिम्मेवारी पाएका छन् । नवनियुक्त उपकुलपतिका सामु थुप्रै चुनौती छन् । उनले ती चुनौतीको सामना गर्दै विश्वविद्यालयलाई गति दिनुपर्ने अवस्था छ । हाल सुर्खेतमा मात्र सिमित जस्तो देखिएको यो विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयको रुपमा विकास गर्नुपर्ने मुख्य चुनौती छ । किनकी ‘उच्च शिक्षा ऐन २०७६’ को मस्यौदाले प्रदेशमा रहेका विश्वविद्यालयलाई प्रादेशिक विश्वविद्यालय बनाउनुपर्ने उल्लेख छ ।

ऐनले (एमयू)लाई प्रदेश सरकार राख्नुपर्ने भनेर स्पष्ट उल्लेख गरेको छ । ऐन कार्यान्वयन भएको खण्डमा (एमयू) कर्णाली प्रदेश सरकार मातहतमा आउनेछ । एमयू प्रदेश मातहतमा आए कर्णालीको शिक्षा क्षेत्रमा केन्द्र सरकारको लगानी घट्ने छ । यद्यपी एमयूमा कार्यरत शिक्षक तथा कर्मचारीले भने विश्वविद्यायको क्षेत्र र जनशक्तिका हिसावले त्रिभूवन विश्वविद्यालयपछिको नेपालको दोस्रो ठूलो विश्वविद्यालय भएको भन्दै संघीय सरकारको मातहतमा रहुनुपर्ने बताउँदै आएका छन् ।

जसका कारण एमयूलाई संघीय सरकार मातहतमा नै राख्न सक्नु उपकुलपतिका लागि सबैभन्दा ठूलो चुनौती हुनेछ । यस्तै विश्वविद्यालय आङ्गीक क्याम्पस र कर्मचारी व्यवस्थापन अर्काे ठूलो चुनौती हो । स्थापनाको नौं वर्षमा दश वटा आङ्गीक क्याम्पस रहेको एमयूमा अधिकांश कर्मचारीहरु अस्थायी पदमा कार्यरत छन् । आङ्गीक क्याम्पसमा कार्यरत जनशक्तिमध्ये झण्डै ६० प्रतिशत अस्थायी छन् । अस्थायी कर्मचारीलाई स्थायी प्रक्रियामा लिंदै शिक्षालाई थप गुणस्तरिय कायम गर्नु उपकुलपतिका लागि अर्काे चुनौती छ ।

झण्डै पाँच हजार विद्यार्थी रहेका विश्वविद्यालयमा अस्थायी, स्थायी र करार गरी तीन सय ३४ प्राध्यापकहरु कार्यरत छन् । केन्द्रीय र आंगिक क्याम्पसमा गरी एक सय ८३ जना विभिन्न तहका कर्मचारीहरु कार्यरत छन् । विश्वविद्यालय स्थापना भएको दशौं वर्ष प्रवेश गर्दा पनि दुईपटक मात्रै सेवा आयोगबाट कर्मचारी नियुक्ती भएका छन् । जसलेगर्दा लामो समयदेखि कार्यरत अधिकांश कर्मचारीलाई अस्यायी पदमा कार्यरत छन् ।

यस्तै आर्थिक व्यवस्थापन पनि उपकुलपतिको लागि अर्काे चुनौती छ । किनकी लामो समयदेखि विश्वविद्यालय भाडाकै भवनमा सञ्चालन हुँदै आएको छ । नौं वर्षसम्म पर्याप्त भवनहरु बन्न नसक्दा भाडाकै भवनमा अध्ययन/अध्यापनको हुँदै आएको छ । त्यस्तै भर्खर अध्ययापन सुरु भएका आङ्गीक क्याम्पसको भौतिक संरचना निर्माणमा लाग्ने आर्थिक व्यवस्थापन गर्नु उत्तिकै चुनौती छ । व्यवस्थापन संकायमा पीएचडी र स्नातक तहमा कृषि तथा वन विज्ञान विषयको अध्यापन सुरु गराउन सक्नु भने उनका लागि अवसर हुनेछ ।

तपाईको प्रतिक्रिया