सुर्खेत : सामाजिक न्यायसहितको समृद्ध सुर्खेत बनाउने अभियानलाई योगदान गर्न सुर्खेतस्थित एक दर्जन बढी गैर सरकारी संस्थाहरुले १२ बुँदे प्रतिबद्धता जनाएका छन् । सामाजिक न्याय सहितको समृद्ध सुर्खेत बनाउने अभियान थालेका नागरिक समाज तथा क्रियाशिल गैर सरकारी संस्थाहरु एकजुट भएका हुन् ।
सुन्दर नेपाल संस्था सुर्खेतले शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न गरेको गैर सरकारी संस्थाहरुको संस्थागत सुशासन र स्वनियमनका प्रयास बिषयक अन्र्तक्रिया कार्यक्रमको अवसरमा १२ बुदे प्रतिबद्धता पत्र जारी गरिएको हो । अन्र्तक्रिया नेपाल पत्रकार महासंघ शाखा सुर्खेत र गैर सरकारी संस्था महासंघ नेपाल कर्णाली प्रदेशको समन्वयमा आयोजना भएको थियो ।
सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकाश भुषालले गैर सरकारी संस्था पनि राज्यका सहयोगी निकाय र विकासका पहरेदार हुन् भन्ने नबुझेरै कर्णाली प्रदेशका मुख्यमन्त्रीले गैर सरकारी संस्था बन्द गर्ने उद्घोष गर्दा आफै फेल भएको तर्क राखे । उनका अनुसार १२ बुँदे प्रतिबद्धता पत्रमा जिल्ला स्थित गैर सरकारी संस्थाहरुले प्रचलित कानून र संस्थाको विद्यान बमोजिम संस्था नविकरण, साधारण सभा र बैठक बस्ने, संस्था सञ्चालनका लागि मानव संशाधन, आर्थिक तथा प्रशासनिक व्यवस्थापन, सुशासन, लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण र दिगोपनासम्वन्धी नीति तर्जुमा गरी कार्यान्वयन गर्ने उल्लेख छ ।
यस्तै वार्षिक साधारणसभाबाट पारित गराई वार्षिक कार्ययोजना निर्माण गर्ने, सदस्यहरुले निर्णय प्रक्रियामा भाग लिन पाउने तथा चुन्ने र चुनिने अधिकार सुनिश्चित गर्ने र नेतृत्व विकास र हस्तान्तरण गर्ने, संस्थाको कार्यक्षेत्र सहितको परिचय, संस्थागत संरचना, रणनीतिक योजना, कार्यसमिति र कर्मचारीको विवरण, वित्तिय विवरण र संस्थाका गतिविधिहरु सार्वजनिक गर्ने लगाएतका बुदाँ उल्लेख छन् । उक्त पत्रमा जिल्ला स्थित गैर सरकारी संस्थाका पदाधिकारीले हस्ताक्षर गरी प्रतिबद्धता जनाएका हुन् ।
सो अवसरमा गैर सरकारी संस्थाको आन्तरिक लेखापरिक्षण, साधारण सभाबाट लेखा परिक्षकको नियुक्ति, लेखा परिक्षणबाट प्राप्त प्रतिवेदन र सुझावहरु संस्थामा छलफल र प्राप्त सुझावहरुको कार्यान्वयन गर्ने घोषणा गरिएको छ । दिगो विकास लक्ष्य (२०१५–२०३०) लाई सफल पार्नका लागि नेपाल सरकारसँग समन्वय र सहकार्य गरेर गैर सरकारी संस्थाहरुले आफ्ना कार्यक्रम सञ्चालन गर्ने भएका हुन् । जिल्ला समन्वय समिति अधिकारी दुर्गा प्रसाद चालिसेले विकासमा आरोप प्रत्यारोप भन्दा गैर सरकारी संस्थालाई पनि सुशासन र स्वनियमनमा रहेर काम गर्न दिएमा विकासले चाँडै गति लिने बताए ।
युग संवाददाता । । १७ फाल्गुन २०७६, शनिबार १५:२६