दैलेख : जिल्लाको डुङ्गेश्वर गाउँपालिका–५ का वडाअध्यक्ष टेकबहादुर भण्डारी सहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
डुङ्गेश्वर गाउँपालिका–५ स्थित पिपलचौतारा माविको राहत दरबन्दीमा निमावी तहको सामाजिक विषयको शिक्षक पदपूर्तिका लागि गाउँपालिकाबाट सञ्चालन गरिएको शिक्षक छनौट परीक्षामा गोपनीयता भंग गरी आफ्ना निकटलाई उत्तीर्ण गराएर अनियमितता गरेको छानबिनबाट पुष्टि भएपछि वडाअध्यक्षसहित चारविरुद्ध मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार वडाअध्यक्ष भण्डारीसहित सोहि वडाका सदस्य समेत रहेको विव्यस अध्यक्ष भक्तबहादुर शाही, छनौटमा परेका शिक्षक घनश्याम भण्डारी र बैकल्पिक उम्मेदवार दलबहादुर विश्वकर्माविरुद्ध मुद्धा दायर गरिएको हो । शिक्षक छनौटका लागि गाउँपालिकाले गत पुष २६ गते परीक्षा सञ्चालन गरेको थियो । उक्त परीक्षामा वडाध्यक्ष भण्डारीको निर्देशनमा वडासदस्य एवं विव्यस अध्यक्ष शाहीले परीक्षा सञ्चालन हुनु अगावै पश्नपत्र परीक्षार्थी घनश्याम भण्डारी र दलबहादुर विश्वकर्माको म्यासेन्जरमा पठाइ अधिकारको दुरुपयोग गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।
वडाध्यक्ष भण्डारी र वडासदस्य एवं विव्यस अध्यक्ष शाहीको मिलेमतोमा विषयविज्ञले तयार गरेको प्रश्नपत्र तथा वस्तुगत प्रश्नहरुको उत्तरकुञ्जिकाको फोटो खिची शिक्षक छनौट परीक्षाको संयोजकसमेत रहेका भक्तबहादुर शाहीको मोवाइलबाट घनश्याम भण्डारी र दलबहादुर विश्वकर्माको म्यासेन्जरमा पठाइ आफू निकटका व्यक्तिलाई शिक्षक पदमा नियुक्त गरी गैरकानुनी लाभ पु¥याउन प्रश्नपत्रको गोपनियता भंग गरेको प्रमाणित भएको अख्तियारले जनाएको छ ।
तीस हजार घुससहित प्रधानाध्यापक पक्राउ
जिल्लाको नौमुले गाउँपालिका १ मा रहेको भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्र बहादुर सिंहलाई तीस हजार घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।
सिंहले शिक्षकहरूको चौमासिक तलब तथा दशैँ खर्च निकासा गर्न पटकपटक घुस मागेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्यालयबाट गएको अख्तियारको टोलीले प्रधानाध्यापक सिंहलाई घुस रकमसहित नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी मेघनाथ सापकोटाले जानकारी दिए ।
घुस रकम लिइसकेको अवस्थामा प्रधानाध्यापक सिंहलाई नौमुले गाउँपालिका–१ मा रहेको एनएमबी बैंकको शाखा प्रबन्धकको कार्यकक्षबाट नियन्त्रणमा लिइएको अख्तियारले जानकारी दिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको सूचना अधिकारी सापकोटाले जानकारी दिए ।
युग संवाददाता । । १६ फाल्गुन २०७६, शुक्रबार १०:५६