ढल व्यवस्थित नहुँदा दुर्गन्धित

मुगु : छायाँनाथ रारा नगरपालिका—१ र २मा ढल व्यवस्थित नहुँदा गमगढी बजार दुर्ग्न्धित बनेको छ । फोहोर पानी सोझै सडक र खुला क्षेत्रमा बग्दा सर्वसाधारण सास्ती खेप्न बाध्य छन् ।

भिरालो सडकमा बग्ने फोहोर पानी सोझै स्थानीयको घरभित्र पस्ने गर्छ । ढल निर्माणको जिम्मा पाएको ठेकेदारको लापरवाहीले सदरमुकाम दुर्गन्धित बनेको हो । जिल्ला प्रशासन कार्यालयदेखि चैना खोला र अदालत चोकदेखि अगाडिको ढल निकास दुई वर्षदेखि अलपत्र छ ।

दुईहजार एकसय मिटर ढल निर्माणका लागि भवन डिभिजन कार्यालय जुम्लासँग डाँफे द क्याराभान जेबि कम्पनी काठमाडौले २०७५ पुसमा सम्झौता गरेको थियो । सो कम्पनीले दुईकरोड १३ लाख ७० हजारमा ढल निकासको ठेक्का पाएको थियो । तर अहिलेसम्म काम सुरू भएको छैन । ढल निकास व्यवस्थित नहुँदा पुरै बजार दुर्गन्धित बनेको व्यवसायी बिष्णुबहादुर मल्ल बताउँछन् ।

‘गमगढी बजारबाट मिलन चोक र अदालत चोकसम्म आउजाउ गर्न निकै सकस भइरहेको छ’, उनले भने । सम्झौता भएकै समयमा ठेकेदार पक्षले १० प्रतिशत पेश्की समेत लिएको भवन डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख चन्द्र खड्काले बताए । गमगढी बजारको ढल निकासका लागि आर्थिक वर्ष २०७५/२०७६ मा एककरोड ५० लाख रकम विनियोजन भएको थियो ।

तपाईको प्रतिक्रिया