फोरलेन सडकका पक्की पुल संचालनमा आउन असार कुर्नुपर्ने

फोरलेन सडक अन्तर्गत गाग्रेताल खोला, नेवारेखोला र ढोडेखाली खोलामा निर्माणाधिन पुलको काम अन्तिम चरणमा पुगेको छ । यी पुलको काम असारभित्र सकेर संचालनमा ल्याउने तयारी भइरहेको निर्माण कम्पनीले जनाएको हो । बाँकी रहेका इत्राम खोला र खोर्के खोलामा बन्ने दुई वटा पुलमा भने समय लाग्ने देखिएको हो ।

सुर्खेत : वीरेन्द्रनगर स्थित फोरलेन सडकमा निर्माणाधिन पक्की पुल संचालनमा आउन अझैं समय लाग्ने देखिएको छ । रत्नराजमार्ग अन्तर्गत धुलियाबिटदेखि बाङ्गेसिमलसम्म निर्माण भएको फोरलेन सडकमा हाल पुल निर्माणको काम चलिरहेको छ । विभिन्न पाँच स्थानमा पुल निर्माणको काम जारी भए पनि तीन वटा पुल आउँदो असारभित्र संचालनमा आउने निर्माण कम्पनीको दाबी छ ।

फोरलेन सडक अन्तर्गत धुलियाबिट नजिक रहेको गाग्रेताल खोला, पीपीरामा रहेको नेवारेखोला र रेडियो नेपाल नजिक रहेको ढोडेखाली खोलामा निर्माणाधिन पुलको काम अन्तिम चरणमा पुगेको छ । यी पुलको काम असारभित्र सकेर संचालनमा ल्याउने तयारी भइरहेको निर्माण कम्पनीले जनाएको हो । बाँकी दुई वटा पुलमा भने समय लाग्ने देखिएको हो । स

डक विस्तार भए पनि हाल निर्माणाधिन पुलका कारण यो सडकमा सास्ती हुने गरेको छ । २०७५ असारमा पुल निर्माणको सम्झौता भएको थियो । पाँच वटा पुलको सम्झौता भए पनि तीन वटा पुलको काम अन्तिम चरणमा छ । यी तीन वटा पुलको एप्रोज रोड बनाउँन बाँकी रहेकाले असारसम्ममा पूर्णरुपमा पुल सञ्चालनमा ल्याउन काम भइरहेको निर्माण व्यवसायीको दाबी छ ।

पाँच पुलको निर्माणका लागि अन्मित समयावधि २०७७ माघसम्म छ । बाँकी दुई वटा पुलको डिजाइन फेल हुँदा निर्माणमा ढिलाइ भएको हो । इत्राम खोलामा निर्माण हुने पुलको डिजाइन ढिला आएकाले काम पनि ढिला गरी सुरु भएको हो । यस्तै खोर्के खोलामा निर्माण हुने पुलको डिजाइन हालसम्म आएको छैन । इत्राम खोलाको पुलको काम जारी रहे पनि खोर्के खोलाको पुलबारे भने अन्यौलता देखिएको छ ।

डिजाइन नआउँदा खोर्के खालाको पुलको निर्माण लम्बिने भएको हो । डिभिजन सडक कार्यालय सुर्खेतले तयार गरेको पुलको डिजाइन पुनरावलोकन समयमै नहुँदा निर्माण लम्बिने संकेत देखिएको हो । सडक विस्तारसँगै फोरलेन सडकमा रहेका पुलहरु फराकिलो बनाउन कार्यालयले नयाँ डिजाइन तयार गरेको थियो । फोरलेन सडक अन्तरगत बन्ने पाँच पुलमध्ये तीन पुलको डिजाइन सही भएकाले पुल निर्माणको काम दु्रत गतिमा भइरहेको छ । फोरलेन सडक अन्तरगत पर्ने पाँच पुल निर्माणको जिम्मा सपना, आशिष, श्याम एण्ड शंकर जेभीले लिएको छ ।

खोर्के खोलामा अन्यौल

तर खोर्के खोलाको पुल कसरी निर्माण गर्ने भन्ने अन्तिम डिजाइन नआउँदा निर्माण कम्पनीले हालसम्म काम अघि बढाउन सकेको छैन । निर्माणको चरणमा रहेका तीन पुलमध्ये सम्झौताको एक वर्षपछि इत्राम खोलाको डिजाइन आएको थियो ।

खोर्के खोलामा बन्ने पुलको भने हालसम्म डिजाइन नआउँदा निर्माणको काम अघि बढ्न सकेको छैन । इत्राम र खोर्के खोलामा यसअघि नै पुल निर्माण भएकोमा त्यसको दायाँवायाँ फराकिलो बनाउँन पुल मुनिको फाउण्डेशन थप गर्न नयाँ डिजाइन तयार गरिएको थियो ।


पुराना पुल भएकाले पुलको जग फैलावट ठूलो भएकाले पायल प्रविधिबाट काम गर्न कम्पनीलाई असहज भएको हो । फोरलेनमा बन्ने पाँचवटै पुल झण्डै ३३ करोडको लागतमा पायल प्रविधिबाट निर्माण गर्न लागिएको हो । दुई पुलमा सडक अनुसारको पुलको क्षेत्रफल थप गर्दा जगमा फैलावट भएको फाउण्डेशनले तोडफोड गर्न नमिल्ने निर्माण कम्पनीले जनाएको छ ।

डिजाइन नपाउँदा काम सुरु गर्न सकेनौं

फोरलेन सडकमा निर्माण गर्नुपर्ने पाँच वटा पुल मध्ये तीन वटा पुलमा समस्या छैन । तर बाँकी दुई वटा पुलको डिजाइन नआउँदा निर्माणमा समस्या भएको निर्माण कम्पनीले जनाएको छ ।

पुल निर्माणको जिम्मा लिएको सपना, आशिष, श्याम एण्ड शंकर जेभीका प्रतिनीधि पदमबहादुर खड्काले भने,‘गत माघमा हामीले पुल निर्माणका लागि साइट मागेका थियौं, सडभ विभागले शुरुमा तयार गरेको डिजाइन फेल भयो । नयाँ डिजाइन समयमै नआउँदा निर्माणको काम सुरु हुन नसकेको हो, डिजाइन आए हामी काम गर्न तयारी अवस्थामा छौं ।’ इत्राम खोलामा निर्माणाधिन पुलको डिजाइन आउनै एकवर्ष लागेको खड्काले बताए ।

तर खोर्केखोला पुलको डिजाइन अझैसम्म नआउँदा निर्माण शुरु गर्न नसकिएको उनको भनाइ छ । ‘पटकपटक डिजाइन उपलव्ध गराउन सडक कार्यालयलाई पत्र पठाइसकेका छौं’ खड्काले भने, ‘खोर्केखोला पुल निर्माणको डिजाइन कुर्दाकुर्दै सम्झौता भएको २० महिना पुगिसक्यो, अझै डिजाइन आएको छैन ।’ ‘कार्यालयले परिमार्जनसहितको डिजाइन दिएमा काम गर्न तयारी अवस्थामा रहेको खड्काले बताए ।

एक साताभित्रै बाँकी पुलको काम सुरु हुने दाबी

डिभिजन सडक कार्यालय सुर्खेतले अबको एक साताभित्रै खोर्केखोलामा निर्माण हुने पुलको डिजाइन आउने दाबी गरेको छ । डिजाइन नै फेल नभएर पहिल्यै बनेका पुलहरुको दायाँबाया थपगर्दा जमिन मूनीको संरचनामा नोक्सान नहोस् भनेर डिजाइन पुनरावलोकनमा केही ढिलाइ भएको कार्यालयका सूचना अधिकारी देवेन्द्र भट्टराईले जानकारी दिए ।

उनले विभागलाई छिटो डिजाइन दिन आग्रह गरिएकाले एक हप्तामा खोर्केखोलामा बनाउनुपर्ने पुलको काम शुरु हुने बताए । पुराना पुलमा फोरलेन सडकको मापदण्डअनुसार जोइन्ट गर्नुपर्ने भएकाले फाउण्डेसनमा समस्या देखिएको भट्टराईले जनाए । कार्यालयकै जिम्मेवारी भएकाले परिमार्जन डिजाइन तयार गरेर निर्माण व्यवसायीलाई काम गर्ने वातावरण सिर्जना गरिदिने उनले उल्लेख गरे । पुल निर्माणको काम समयमै सम्पन्न गर्ने कार्यमा कार्यालय सजक रहेको उनको भनाइ छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार