धार्मिक पर्यटकीय हवको रुपमा विकास गछौँ : नरवीर रावत

जुम्लाको कनकासुन्दरी गाउँपालिका जिल्लाका अन्य स्थानीय तहको तुलनामा विकट मानिन्छ । पशुपालन तथा कृषिको उच्च सम्भावना रहेको यस गाउँपालिकामा विकासका पूर्वाधार निर्माण कार्य पनि तीव्र पारीएको छ । यस गाउँपालिकामा पाण्डवगुफा, विराट दरवार, गरुडनुहानी, तिलिचौर माइ, भुलमभले पाटन, चुचेमारा लेक, कनकासुन्दरी लगायत विभिन्न धार्मीक पर्यटकीय स्थलहरु छन् । जहाँ वर्षेनी धार्मिक पर्यटकीय क्षेत्रको अवलोेकन, भ्रमण गर्नेको संख्या पनि बढ्दै गएको छ । यहाँका भौतिक पूर्वाधार विकाससँगैै पालिकालाई धार्मिक पर्यटकीय हवको रुपमा विकास गरिने गाउँपालिका अध्यक्ष नरवीर रावतले बताए । उनीसँग गरिएको कुराकानी साराशं ।
नरवीर रावत
(अध्यक्ष, कनकासुन्दरी गाउँपालिका, जुम्ला )

गाउँपालिकाको विकासका लागि भइरहेका प्रयासहरु बताई दिनुहोस् न ?

कनकासुन्दरी गाउँपालिका जिल्लाका अन्य सात वटा स्थानीय तहको तुलनामा विकट मानिन्छ । पशुपालन तथा कृषिको उच्च सम्भावना रहेको यस गाउँपालिकामा विकासका पूर्वाधार निर्माण कार्य पनि तीव्र पारेका छौँ ।

खेती योग्य जमिनका अतिरिक्त ठुलो भू–भाग जंगलले ढाक्नुका साथै भिरालो जमिन हुँदा यसक्षेत्रका मानिसहरु जीवीकोपार्जनका लागि कृषि, पशुपालनका अतिरिक्त नोकरी व्यापार व्यवसायमा संलग्न छन् । यहाँका स्थानीय बाह्रै महिना सडक यातायातको पहुँचबाट पनि बञ्चित छन् ।

त्यसैले हामीले तीव्र रुपमा सडक विस्तार तथा स्तरोन्नतीसँगै स्थानीयलाई आत्मनिर्भर बनाउन उत्पादनमुखी क्रियाकलापमा लगानी गरिरहेका छाैँ ।स्थानीयको आयस्रोत बढाउन कृषि तथा स्याउ लगायत अन्य फलफूल उत्पादन वृद्धिमा पनि लगानी बढाएका छौँ ।

गाउँपालिकाको कार्य सम्पादनप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

आफुले गरेको काम सबैलाई ठिकै लाग्छ । त्यसैले हामी हाम्रो कार्य सम्पादनप्रति त सन्तुष्ट नै छौँ । तर तपाइँहरुले पनि मुल्यांकन गर्ने कुरा हो । संघीयतापछि स्थानीय सरकारको कार्य सम्पादनमा कर्मचारी अभाव मुख्य समस्या छ ।

कर्मचारी अभावकै कारण समयमै साचेअनुसार कतिपय पनि काम गर्न सकिएका छैनन् । तर हामीसँग भएको स्रोत साधान र जनशक्ति अनुसार काम गरेकै छाैँ । त्यसैले हामीले जेजति काम गरेका छाैँ । उक्त कार्य सम्पादनप्रति सन्तुष्ट नै छौँ ।

गाउँपालिकामा विकास निर्माणका काम सुस्त हुनुका कारण के हुन् ?

पहिलो कुरा भौगोलिक चुनौतिका कारण विकास निर्माणका क्रियाकलाप सुस्त गतिमा सञ्चालन गर्न बाध्य छौँ । जिल्लाकै विकट स्थानीय तहको रुपमा चिनिने हाम्रो गाउँपालिकामा जनसंख्याको आधारमा बजेट पनि कम आउँदा विकास निर्माणमा लगानीको अभाव छ ।

सरकारले काठमाडाै‌मा बनाउने भौतिक संरचनाको लागत र कनकासुन्दरीमा बनाउने भौतिक संरचनाको लागत एउटै बनाउँदा सोचेनुसार समयमै र गुणस्तरयुक्त भौतिक पूर्वाधार विकास हुन नसकेको महसुश भएको छ । तर विगतका बर्षको तुलनामा अहिले विकास निर्माणका क्रियाकलाप चाँही तीव्र रुपमा सञ्चालन भएका छन् ।

विगतका वर्षको तुलनामा धेरै परिवर्तन पनि भएको देख्न सकिन्छ । जस्तै कनकासुन्दरीका आठ वटै वडामा सडक विस्तार भइरहेकोको छ । त्यसको स्तोरोन्नती गर्दै सबै वडालाई सडकको पहुँचमा पु¥याउँछौ ।

कर्मचारी र जनप्रतिनिधिबीच तिक्तता त छैन ?

हाम्रोमा कर्मचारी र जनप्रतिनिधिबीचको सम्बन्धमा कहिले पनि दरार आएको छैन । हामी सधँै मिलेर सरसल्लाह गरी काम गर्ने गर्छौ । हालसम्म हामीसँग भएका कर्मचारीहरु काम ठग्ने, घुसखोरी कोही छैनन् ।

निकै राम्रो आचरण भएका कर्मचारी र जनप्रतिनिधिबीचको समन्वय अत्यन्तै राम्रो छ । त्यसैले हामी बहुमतका आधार भन्दा सँधै सहमतिकै आधारमा सबै काम सम्पन्न गर्ने प्रयासमा छौँ ।

शैक्षिक क्षेत्रको सुधारका लागि भएका प्रयासहरु के–के हुन् ?

अन्य क्षेत्रमाभन्दा शैक्षिक क्षेत्रमा अलि बढी नै समस्या छ । अहिलेसम्म कर्मचारी पदपुर्ती हुन सकेको छैन । शिक्षा क्षेत्रको कार्यक्रम सञ्चालनका लागि अलि समस्या छ । अहिले प्रशासकिय अधिकृतको सल्लाह अनुसार शिक्षा क्षेत्रका क्रियाकलाप सञ्चालन गरिरहेका छाैँ ।

कनकासुन्दरी मावि लुड्कु र नेपाल राष्ट्रिय मावि मालिकाबोता बाहेक अन्य विद्यालयको अवस्था अलि कमजोर छ । गाउँपालिकामा रहेका विद्यालय मर्चको अवधारणा लिएका छौँ । शिक्षक पदपूर्तीको बाटो पनि नखुलेकोले विद्यार्थी अनुपातमा शिक्षक नहुँदा पढाइमा गुणस्तर आउन सकेको छैन ।

त्यस्तै विद्यालयको भौतिक संरचना निर्माणको लागि आवश्यकताका आधारमा भवन बनाउने काम भइरहेको छ । भने विद्यालयमा पाठ्यक्रम बाहेक अन्य ज्ञानवद्र्धक विषयवस्तु पनि विद्यार्थीलाइ विभिन्न सरकारी गैरसरकारी निकायबाट पटक पटक सिकाउने काम भइरहेको छ । केही शिक्षकहरुको पनि कमिकमजोरी होलान यसलाई अनुगमन गरेर सुधार्ने प्रयासमा छाैँ ।

तपाइँ निर्वाचित भएपछि कनकासुन्दरीमा देख्न सकिने परिवर्तन के–के हुन् ?

म निर्वाचित भइसकेपछि स्थानीय तहमा विकासको अवस्था मात्रै परिवर्तन भएको छैन । यहाँ हरेक व्यक्तिको क्षमता विकासका लागि पनि कार्यक्रम सञ्चालन गरिरहेका छौँ । सबैभन्दा पहिले स्थानीयको सकारात्मक सोच अभिवृद्धि गर्ने ध्येयले जनहितका कार्यक्रम गर्ने प्रयास गरेका छौँ ।

मेरो बाँकी कार्यकालमा पनि बजेट सिध्याउने मात्रै काम हुने छैन । विकासे बजेट कार्यान्वयनमा लागि परेका छौ । पहिले विकासे वजेट खर्च गर्न कार्ययोजना एउटा र खर्च अर्कै शिर्षकमा हुन्थ्यो । अहिले त्यसको अन्त्य भएको छ । हाम्रो गाउँपालिकामा सामाजिक कुरीतिको रुपमा रहेको छाउपडी प्रथा अन्त्य हँुदैछ । पहिले स्वास्थ्य संस्थामा सिटामोल पनि नहुने अवस्था थियो ।

अहिले त्यो पनि अन्त्य गरेका छौँ । खानेपानीको समस्या हट्दै छ । एक घर एक धारा बनाउने तयारीमा छौँ । विद्युत्को समस्या समाधानका लागि पहल भइरहेको छ । यसरी सबै क्षेत्रको विकासका लागि मेरो पहल जारी छ । पर्यटकीय गुरु योजना बनाएर कनकासुन्दरीलाई धार्मिक पर्यटकिय हवको रुपमा विकास गर्ने योजनामा छाैँ ।

गाउँपालिकामा रहेका पाण्डवगुफा, विराट दरवार, गरुडनुहानी, तिलिचौर माइ, भुलमभले पाटन, चुचेमारा लेक, कनकासुन्दरी लगायत विभिन्न धार्मीक पर्यटकीय स्थलहरुमा आन्तरीक तथा बाह्य पर्यटक बढ्दै गएका छन् । यसका लागि पर्यटनमैत्री पूर्वाधार निर्माणमा पनि जोड दिएका छौँ ।

कृषिमा आत्मनिर्भर बन्न के कस्ता प्रयास भएका छन् ?

यसका लागि हाम्रोमा मुख्य समस्या भनेकै सिचाँइको अभाव हुनु हो । खेतियोग्य जमिन छ । तर जलस्रोत नहुदाँ बाँझै छन् । त्यसैले हामी स्रोतको पहिचान गरी सिचाँइ समस्या समाधान गर्ने योजनामा छाैँ । ्ग

उँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउन कृषकलाई पशुपालन, फलपफूल तथा कृर्षिजन्य वस्तु उत्पादनमा अनुदान तथा सहुलियतमा ऋण दिने तयारी छ ।स्याउ खेती गर्ने व्यवसायिक कृषकलाई प्रोत्साहनका कार्यक्रम पनि छन् ।

अहिले हामी मासु र तरकारी बालीमा मात्रै आत्मनिर्भर छौँ । हरेक वर्ष करोडौको स्याउ निर्यात हुने गरेको छ । मार्सीधान, र स्याउ उत्पादन बढाउन रोग, किरा नियन्त्रणको कार्यक्रम छन् । यसरी विस्तारै हरेक कृषकलाई वर्ष भरी खाना पुग्ने गरी अन्न तथा आर्थिक उत्पादन बृद्धिमा लगानी गर्ने तयारी छ । यातायातको सुविधा नपुगेको ठाउँमा कृर्षि डक बनाएर पनि यहाँको उत्पादनलाई बजारीकरण गर्नेछौ ।

जनप्रतिनिधिले भ्रष्टाचार गर्न आफ्नो ईच्छानुसार योजना बनाउँछन् भन्ने आरोप छ नी ?

यो गलत हो । कोहि कसैले ग¥र्यो भन्दैमा सबैलाइ एउटै तहमा तुलना गर्नुहुन्न । हाम्रो स्थानीय तहमा यस्तो भएको छैन । र मैले गरेको पनि छैन ।

यदि कुनै पनि निकायले छानविन गरेर भ्रष्टाचार गरेको पृष्टि गर्नसक्नुहुन्छ भने हामी कारवाही भोग्न तयार छौँ । पहिलेको जस्तो अहिले सिधै भ्रष्टाचार गर्ने संस्कार अन्त्य भएको छ । हामीले आफ्नो ईच्छा अनुसार भन्दा पनि स्थानीयको माग र आवश्यकताका आधारमा योजना बनाउने गरेका छाैँ ।

सबै निकायले विधिको शासन र सुशासन कार्यान्वयनमा दवाब दिएका छन् । त्यसैले हाम्रा हरेक कार्यक्रम पारदर्शि नै छन् । त्यसमा तपाइँहरु पनि निगरानी गर्नुहोस् । मैले आफ्ना कर्मचारीलाईसमेत सुशासनको पालना गर्न अनुरोध गरेको छु ।

अन्तमा तपाइँको बाँकी कार्यकालभित्र गर्नैपर्ने त्यस्ता योजना के छन् ?

अबको मेरो बाँकी कार्यकालभित्रको बजेटमै स्थानीयलाई आत्मनिर्भर बनाउने खालका कार्यक्रम बनाउने सोचमा छु । मेरो कार्यकालभित्रै तीन महिना खाना पुग्नेलाई ६ महिना र ६ महिना पुग्नेलाई वर्षदिनसम्म खाना पुग्ने गरी कृषि उत्पादन तथा आर्थिक वृद्धिका कार्यक्रम सञ्चालन गर्नेछु ।

यस्तै कनकासुन्दरीलाई धार्मिक पर्यटकिय हवको रुपमा विकास गर्न मेरो पहल जारी रहनेछ । यहाँ आउने पर्यटकबाटै पालिकाले वर्षेनी करोडौ रकम कमाउने गरी योजना बन्दैछन् । जसबाट स्थानीय नागरिक पनि व्यापार, व्यवसाय गरी रोजगार बन्नेछन् । सधँै कामका लागि कालापहाड जानुपर्छ भन्ने मान्यता अन्इ गर्नेछौँ ।

तपाईको प्रतिक्रिया