नेकपाभित्र ओली र दाहालको ‘भाले जुधाइ’

काठमाडौं : पार्टी एकताका कयौँ काम बाँकी रहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) एकअर्काविरुद्ध समानान्तर रुपमा शक्ति प्रदर्शनमा उत्रिएको स्पष्ट रुपमा देखिएको छ । खासगरी पार्टी सञ्चालनको कार्यकारी अधिकार उपभोगमा ओलीद्वारा उत्तानो परेका प्रचण्डले आफ्नो रणनीतिक चतु‍¥याइँ प्रयोगको प्रयासमा जुटेका छन् ।

यद्यपि सबै रणनीतिमा भने प्रचण्ड सफल हुन सकेका छैनन् । यता ओलीले पनि आफूलाई प्रचण्डले रणनीतिक जालमा पार्न थालेको संकेत पाएपछि आफ्ना बफादारहरुलाई ‘ढाल’को रुपमा परिचालन गर्न थालेका छन् । बहुचर्चित र विवादित अमेरिकी सहयोग (मिलिनियम च्यालेञ्ज कर्पोरेसन) एमसीसी सम्झौता अध्ययनका लागि कार्यदल नबनाउने अडानमा ओली थिए ।

तर, दाहालले नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र बामदेव गौतमलाई साथ लिएर कार्यदल बनाउनैपर्ने दबाब दिएपछि ओलीले आफ्नो अडान त्याग्न बाध्य भएका थिए । कार्यदलले एमसीसी सम्झौताबारे अध्ययन गरिरहेका बेला कार्यदलको काम अध्ययन गर्ने भएको र त्यसले जे ल्यायो त्यो मान्न नहुने भन्दै सार्वजनिकरुपमा अभिव्यक्ति दिँदै हिँडेका प्रचण्डले कार्यदलले एमसीसी सम्झौता परिमार्जन नगरी पास गर्न नमिल्ने सुझावसहित प्रतिवेदन बुझाएपछि भने आफ्नो मान्यता परिवर्तन गरे। उनले विभिन्न जिल्लामा आयोजित सार्वजनिक रुपमा खुलेर भने, ‘एमसीसी सम्झौता परिमार्जन गरेर मात्रै संसदबाट अनुमोदन गर्नुपर्छ भन्ने पक्षमा म छु ।’

त्यतिमात्रै होइन, सभामुख छनौटमा ओलीसँग कुरा नमिलेपछि आफूले पुस २३ गते नेता गौतमको निवास भैँसेपाटीमा निर्माण गरेको समीकरणलाई बलियो बनाउने प्रयासमा प्रचण्ड जुटे । नेता गौतमलाई राष्ट्रियसभा सदस्य बनाई राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधनका लागि गृहकार्य गर्न नेता नेपालको संयोजकत्वमा कार्यदल बनाउनुपर्ने प्रस्ताव प्रचण्डले नै अघि सारे, यही शनिबार । सचिवालयका एक सदस्यका अनुसार त्यस दिनको बैठकमा नेता गौतमलाई प्रधानमन्त्री बनाउनुहुन्न भन्ने पक्षमा रहेका ओलीलाई प्रचण्डले जर्वजस्त कार्यदल गठनको पक्षमा उभ्याएपछि प्रचण्डसँग असन्तुष्ट बनेका ओलीले पनि आफ्नो चतु‍¥याइँ प्रस्तुत गर्न थालेका छन् ।

ओलीले कार्यदलको अवज्ञा गर्न दिएको निर्देशन कार्यदलका सदस्य भनिएका नेकपाका नेता एवं पूर्वसभामुख सुवास नेम्वाङले पालना गरेको ती सदस्य बताउँछ । कार्यदलका संयोजक नेता नेपालले कार्यदलको बैठकका लागि भन्दै नेम्वाङलाई बोलाउन खोज्दा उनी बैठक नगर्ने, अनौपचारिक भेटघाट मात्रै गर्ने भन्दै नेपाल निवास कोटेश्वर पुगेका थिए सोमबार । नेम्वाङले कुनै एक व्यक्तिका लागि संविधान संशोधन गर्न नसकिने र संविधान संशोधन जस्तो गम्भीर विषयमा हलुका ढंगबाट पार्टी प्रस्तुत भएको कुरामा आफूलाई विश्वास नभएको सार्वजनिक रुपमै बताए ।

पछिल्लो आमचुनावमा बर्दियाबाट पराजित नेता गौतमले पार्टीको उपाध्यक्ष बन्न बढी सहारा प्रचण्डकै लिएका थिए । गौतमलाई पार्टीको उपाध्यक्ष बनाउन सहमत भए पनि उनलाई बालुवाटारको यात्रा तय गर्न नदिने रणनीतिमा ओली सुरुदेखि नै लागिपरेका छन् । नेम्वाङले नेता गौतमलाई प्रधानमन्त्री बनाउन राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधनका लागि गृहकार्य गर्न गठन गरिएको कार्यदलमाआफूलाई जानकारी नै नदिएर सदस्य राखेकामा आपत्ति मात्रै जनाएनन्, त्यसको अवज्ञा समेत गरे । यस्तै कार्यदलमा सदस्य बनाइएको भनिएका नेता खिमलाल देवकोटा पनि राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन गर्न नसकिने भन्दै त्यो कार्यदलबाट पन्छिएका छन् ।

नेता नेम्वाङ र देवकोटालाई कार्यदलमा दिइएको सदस्यको हैसियतको अवज्ञा गर्न र नेता गौतमलाई प्रधानमन्त्री बनाउन संविधान संशोधनको विरोध गर्न ओलीले नै निर्देशन दिएको नेपाल निकट एक नेता बताउँछन् । उनी भन्छन्, ‘ओलीले आफ्नो चलाखी प्रयोग गर्नु भएको छ । नाटकीय ढंगबाट आफ्नालाई कार्यदलको सदस्यबनाउन प्रस्ताव गरेर उनीहरुलाई नै कार्यदल अस्वीकार गर्न र संविधान संशोधनको विरोधमा उत्रिन भनिएको हो ।’ नेता नेम्वाङ र देवकोटाले संविधान संशोधनको सार्वजनिक रुपमै विरोध गरेको भोलिपल्टै ओली निकट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पनि उनीहरुको सर्मथन गरेर लामो ट्वीट गर्दै प्रचण्ड समूहलाई चुनौती दिएका छन् ।

उनले प्रचण्ड समूहलाई लक्षित गर्दै भनेका छन्, ‘अभ्यास, अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुनसक्ने कुरा गर्दै आएका भित्रैबाट यतिबेला एकाएक संविधान संशोधनको कुरा सुनिदैँछ । मानिसहरु उदेक मान्दैछन् । केका लागि संशोधन ? खराखरी बहस गर्ने बेला आएजस्तो छ । कुरा लुकाएर, ढाँटछल गरेर कति दिन चल्छ ? राजनीति गरिन्छ, जुवा खेलिन्न ।’ नेकपामा अहिले ओली र प्रचण्ड समूहबीच भएको आन्तरिक द्वन्द्व सतहमाआएको छ ।पछिल्लो आमचुनावमा बर्दियाबाट पराजित नेता गौतमले पार्टीको उपाध्यक्ष बन्न बढी सहारा प्रचण्डकै लिएका थिए ।

गौतमलाई पार्टीको उपाध्यक्ष बनाउन सहमत भए पनि उनलाई बालुवाटारको यात्रा तय गर्न नदिने रणनीतिमा ओली सुरुदेखि नै लागिपरेका छन् । एमसीसी र बामदेवसँगै ओली र प्रचण्डबीच हालै ‘कमिसन डिल अडियो रेकर्ड’ प्रकरणमा राजीनामा दिएकाओलीका विश्वासपात्र निवर्तमान सञ्चारमन्त्री एवं प्रवक्ता गोकुल बास्कोटालाई कारवाही गर्नेरनगर्ने विषयमा पनि मतभेद छ । ‘कम्युनिष्टहरु सत्तामा गएपछि आफैँलाई सक्छन्’ भन्दै गल्ती गर्नेमाथि छानबिन हुनुपर्ने र दोषी भए कारवाहीको भागीदार ऊ बन्नुपर्ने धारणा प्रचण्डले सार्वजनिक रुपमै राख्दै हिँडेका छन् ।

ओलीले भने यो प्रकरण सरकारसँग सम्बन्धित भएको र त्यसमाथि अख्यितार र सार्वजनिक लेखा समितिले छानबिन सुरु गरेको भन्दै यसलाई पार्टीभित्र ल्याएर विवाद सिर्जना गर्न आवश्यक नभएको शनिबारको सचिवालय बैठकमा बताएका छन् । अघिल्लो महिना माघ १९ गते पार्टी एकताका बाँकी काम १५ दिनभित्र सक्ने प्रविद्धता गरेका ओली र प्रचण्ड दुवै एकअर्काविरुद्ध शक्ति प्रदर्शनमा उत्रिएपछि फेरि एक पटक पार्टी पंक्ति निरास बनेको छ । पार्टीका केन्द्रीय सदस्य विष्णु रिजालले ट्वीटरमार्फत प्रश्न गरेका छन्, ‘केन्द्रीय सल्लाहकार परिषद्, जेष्ठ कम्युनिष्ट मञ्च, अनुशासनआयोग, लेखा आयोग, निर्वाचन आयोग र विभागहरुलाई पूर्णता दिएर नेताकार्यकर्ताहरुलाई जिम्मेवारी दिन नेतृत्वको ध्यान किन नगएको होला? प्रदेशस्तरीय कार्यकर्ता भेलाहरु चलिरहेको बेला उठ्ने प्रश्नलाई नेतृत्वले ध्यान दिनुपर्ने ।’

तपाईको प्रतिक्रिया