अस्पताल निर्माणका लागि जग्गा दान

जुम्ला : कनकासुन्दरी गाउँपालिकाले इलाका स्वास्थ्य चौकी हाडसिञ्जामा १५ शैयाको अस्पताल निर्माण प्रक्रिया अगाडि बढाएको छ । सो क्षेत्रमा अस्पताल नहुँदा स्थानीयवासी उपचारबाट वञ्चित हुँदै आएका छन् ।

अस्पताल भवन निर्माणका लागि स्थानीयले वडा नं ४ हाडसिञ्जामा सात रोपेनी जग्गा निःशुल्क उपलब्ध गराएको इलाका स्वास्थ्य चौकी हाडसिञ्जाका इन्चार्ज वीरेन्द्रप्रसाद उपाध्यायले बताए । रविलाल आचार्य र नाना आचार्यलगायतका स्थानीयले १५ शैयाको अस्पताल निर्माणका लागि निःशुल्क जग्गा उपलब्ध गराएका हुन् ।


उनका अनुसार २५ देखि ३० लाख रुपैयाँ मूल्य बराबरको उक्त जग्गामा तीन भवन बन्ने छन् । सङ्घीय सरकारको ‘एक स्थानीय तह, एक अस्पताल’ योजनाअन्तर्गत अस्पताल निर्माण गर्न लागिएको उनले बताए । गत माघ २८ गते स्वास्थ्य मन्त्रालयमा निर्माण प्रक्रियाको फाइल दर्ता गराइसकेको उनले बताए । ल्याबमा चाहिने उपकरण आइसकेको इलाका स्वास्थ्य चौकी हाडसिञ्जाले जनाएको छ ।

जनस्वास्थ्य प्रयोगशाला टेकुबाट चार लाख रुपैयाँ बराबरको ल्याबमा चाहिने उपकरण स्वास्थ्य चौकीमा पुगिसकेको छ । जुम्लाका आठ स्थानीय तहमध्ये १५ शैयाको अस्पताल निर्माण प्रक्रिया अगाडि बढाउने पहिलो गाउँपालिका भएको उपाध्यायले जिकिर गरे । उनले अस्पताल बनाउनका लागि प्रक्रियासमेत अगाडि बढिसकेको बताए । उक्त अस्पताल निर्माणपछि गाउँपालिकाभित्रका बिरामीलाई उपचारका लागि घण्टौँ हिँडेर सदरमुकाम पुग्नुपर्ने अवस्था अन्त्य हुनेछ ।



ताजा समाचार