महिला कैदीमा मानसिक समस्या

दैलेख : विभिन्न मुद्दामा कैद सजाय भुक्तान गरिरहेका महिला कैदीमा मानसिक समस्या देखिएको छ । जिल्ला कारागारमा रहेको १२ जना कैदी र एक जना थुनुवा महिलामध्ये ९ जनामा आत्तिने र दुई जनामा डिप्रेसनको समस्या देखिएको चिकित्सकले बताएका छन् ।

स्वास्थ्य सेवा कार्यालय दैलेखले गरेको कैदीबन्दी लक्षित मानसिक स्वास्थ्य परीक्षणमा बहुविवाहको मुद्दामा सजाय भोगिरहेका महिलामा बढी समस्या देखिएको हो । तीन दिनसम्म कैदीबन्दीको मानसिक स्वास्थ्य परीक्षण, अपराध हुँदाको अवस्था र मुद्वा किनारा लागिसकेपछिको मानसिक अवस्था कस्तो छ भन्नेबारे अध्ययन गरिएको थियो । अध्ययनका क्रममा बहुविवाहको मुद्दामा सजाय भोगिरहेका महिला कैदीमा मानसिक समस्या देखिएको नेपाल प्रहरी अस्पतालका मानसिक रोग विशेषज्ञ डा.आशिष दत्तले बताए ।


दत्तका अनुसार कैद भुक्तान भइसकेपछि श्रीमानसँगै बस्ने नपाउने, दोस्रो विवाहबाट जन्मिएका बच्चाको वैधानिकता नपाउने र समाजमा अपहेलित हुने डर महिलामा देखिएको छ। जसका कारण उनीहरुमा मानसिक समस्या देखिएको हो । लागुऔषध ओसार–पसार तथा दुव्र्यसनी मुद्दामा सजाय भोगिरहेका कैदीमा आत्तिने समस्या देखिएको उनले बताए । ‘आत्तिने र मानसिक समस्याका बिरामीलाई औषधि सेवन गर्न सुझाव दिएका छौं, उनले भने, ‘दैलेखमा मात्र नभई मुलुकभर मानसिक स्वास्थ्यको परीक्षण जरुरी छ ।’

मानसिक स्वास्थ्य कार्यक्रमअन्तरगर्त कैदीबन्दीलाई लक्षित गरेर मानसिक स्वास्थ्य परीक्षण, परामर्श तथा औषधि उपचार गरिएको दैलेख अस्पतालका डा. निरञ्जन पन्तले बताए । अब नियमितरुपमा कैदीबन्दीको मानसिक स्वास्थ्य परीक्षण गरिने डा.पन्तले बताए । बहुविवाह गरेका महिला कैद भुत्तान गरी समाजमा जाँदा समाजबाट अपहेलित हुने डरले मानसिक समस्या उत्पन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए । दैलेख जिल्ला कारागार ८० जना पुरुष र २० जना महिला गरी सय जनाको क्षमता हो । तर, अहिले कैदी र थुनुवा गरी एक सय ४२ जना छन् । कारागारमा दुईजना बालबालिका पनि रहेको जिल्ला कारागार कार्यालयले जनाएको छ । ती बालबालिका आमाबुबासँगै कैद जीवन बिताउन बाध्य छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार