सम्पादकीय : आम्दानीबाट लगानी

पछिल्लो समय मेला र महोत्सव फेसन जस्तै बनेका छन् । विभिन्न व्यक्ति, समूह र संस्थाले वर्सेनी मेला र महोत्सवको आयोजना गर्दै आएका छन् । त्यसबाट सुर्खेत पनि अछुतो छैन । अझ भनौं सुर्खेतमा महोत्सव नलागेको वर्ष छैन । हरेक वर्ष महोत्सव आयोजना हुन्छन् । अझ पछिल्ला दिनमा त यस्ता मेला र महोत्सवहरु वीरेन्द्रनगरमा मात्र सिमित छैनन् ।

जिल्लाका ग्रामीण क्षेत्रमा पनि महोत्सव आयोजना हुन्छन् । यस्ता महोत्सवमा सर्वसाधारणबाट टिकट शुल्क अशुल हुन्छ । त्यतिमात्र होइन, आयोजकले विभिन्न सरकारी तथा गैरसरकारी निकायबाट अनुदान र स्टलबाट पनि रकम संकलन गर्दछन् । मेला लगाउनुको उदेश्य राम्रै हुन्छ । अधिकांश आयोजकले त महोत्सवबाट प्राप्त भएको आम्दानी सामाजिक काममा लगानी गर्ने बताउँछन् ।

तर आजसम्मको अवस्था हेर्दा सुर्खेतमा मात्र करिब एक दर्जन महोत्सव लागेका छन् । तिनका उदेश्य सामाजिक कार्यमा लगानी गर्ने भन्ने नै थियो । तर हालसम्म खासै महोत्सवमा लगानी भएको पाइएको छैन । बरु आयोजकले नै महोत्सव घाटामा गएको प्रतिवेदन सार्वजनिक गर्ने गरेका छन् । महोत्सव सम्पन्न भएपछि अधिकांश आयोजकले आम्दानीभन्दा बढी खर्च देखाउँछन् ।

सामाजिक र संस्थागत हितमा लागनी गर्ने उदेश्य राखेर महोत्सव संचालन गर्ने र सर्वसाधारणलाई महँगोमा टिकट बेचेर प्राप्त भएको आम्दानी कुम्ल्याउने प्रवृति बढ्दो छ । सामाजिक काममा लगानी गर्ने प्रचार गरेर आम्दानीको रकम आफैं कुम्ल्याउने प्रवृति बढेपछि पछिल्लो समय यस्ता मेला र महोत्सवप्रति सर्वसाधारणको वितृष्णा बढ्दै गएको हो ।


विशेषगरी जिल्लाको पर्यटन प्रर्वद्धन गर्ने, घरेलु उत्पादनको प्रचार गर्ने र संस्कृतिको संरक्षण गर्ने नाममा महोत्सवहरु आयोजना भइरहेका छन् । सुर्खेतको सन्दर्भमा घरेलु तथा व्यापारीहरुका संस्थाले महोत्सव लगाउने गरेका छन् । यो वर्ष मात्र केही महिनाको अन्तरालमा दुई वटा महोत्सव आयोजना भएका छन् । केही महिना अघिमात्र घरेलु तथा साना उद्योग महासंघले महोत्सव सम्पन्न गरेको छ ।

त्यसको केही महिना वित्न नपाउँदै हिजोआज सुर्खेत उद्योग बाणिज्य संघले दोस्रो कर्णाली एक्सपो (महोत्सव) नाम दिएर मेला संचालन गरिरहेको छ । मेलाको उदेश्य अनुसार उपलब्धी भयो की भएन भन्ने बारेमा अब अनुगमन र परिक्षण हुन आवश्यक छ । जिल्लामा घरेलु तथा साना उद्योग महासंघ, उद्योग बाणिज्य संघ, पर्यटन विकास मञ्च र नेपाल चेम्बर अफ कमर्सले महोत्सव लगाउँदै आएका छन् । महोत्सवमा घाटा हुने र अपेक्षा अनुसार आम्दानी नहुने दाबी गर्ने यी संस्थाहरुबीच वर्सेनी महोत्सव आयोजना गर्ने विषयमा भने रस्साकस्सी नै हुन्छ ।

तर महोत्सवबाट भएको आम्दानी भने सामाजिक कार्यमा किन लगानी हुँदैन ? अब यसबारेमा गम्भिर समिक्षा हुनु पर्दछ । मेला र महोत्सवको नाममा केही व्यक्ति र संस्था मात्र मोटाउने प्रचलन बन्द नै हुनु पर्दछ । होइन भने, राज्यका निकायले नै महोत्सवको नाममा भइरहेको आर्थिक कारोबारलाई पारदर्शी बनाउन जरुरी छ । नागरिकबाट संकलन भएको आम्दानीको हिसाव परादर्शी बनाउने परिपाटी आवश्यक छ । यस्तै महोत्सवको आम्दानीबाट राज्यले कर अशुल गर्न सक्नु पर्दछ । यस्तै आयोजकले पनि अबदेखि आम्दानीलाई सामाजिक कार्यमा लगानी गर्न जरुरी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार