ताजा खबर
  

भैँसीपालनमा रमाउँदै उपाध्यक्ष

                                                                               photo : thahakhabr

सल्यान : त्रिवेणी गाउँपालिका–३ रिखेबगरकी वर्ष ३५ की करुणा खडका त्रिवेणी गाउँपालिकाकी उपाध्यक्ष हुन् । २०७४ मा भएको स्थानीय निर्वाचनमा उनी उपाध्यक्ष पदमा निर्वाचित भएकी हुन् । तर, उनी आफूलाई जनप्रतिनिधिभन्दा बढी कृषकको रूपमा चिनिन रुचाउँछिन् ।

जनप्रतिनिधि भएपछि धेरैले आफ्नो पुरानो पेशा व्यवसायलाई त्यागी रहेको समयमा उनी भने आफ्नो व्यवसायलाई झनै बढाउँदै छन् । उनले आफ्नै नामबाट बहुउद्देशीय कृषि फर्म खोलेर भैँसीपालन गर्दै आएकी छन् । २०६४ देखि तीनवटा भैँसीपालेर सुरुवात गरेको फर्ममा अहिले सानाठूला गरी १३ वटा भैँसी रहेका छन् ।

भैँसीपालन गरेर मासिक ५० हजार आम्दानी गर्दै आइरहेको उनको भनाइ छ । भैँसीलाई दाना, काम गर्ने व्यक्तिको पारिश्रमिक कटाएर मासिक १५ देखि २० हजार बचत भइरहेको खड्काले बताइन् । जिल्लाबाट अधिकांस महिला पुरुष रोजगारीको लागि विदेशिन थालेपछि विभिन्न काम गरेर आफ्नै गाउँघरमा पनि विदेश बराबर आयआर्जन गर्न सकिन्छ भनी भैँसीपालन थालेको उनले बताइन् ।

१३ वटा भैसीमा पाँच साना, आठ ठूलामध्ये एक राँगो रहेको र अहिले पाँच भैँसीले दैनिक २० लिटर दूध दिँदै आएको खड्काले बताइन । ७० रुपैयाँ प्रतिलिटर बिक्री गर्दा दैनिक १ हजार ४ सय आम्दानी हुने गरेको उनको भनाइ छ । उनका अनुसार भैँसीपालनबाट भएको आम्दानीले घर खर्चबाहेक अन्य खर्च गर्न सहज भएको छ । हाललाई १३ वटा भैँसीपालेकी उनले यसलाई विस्तार गर्दै लैजाने सोच बनाएको बताइन ।


भैँसीपालनबाट घरका दुईजना मात्र नभई गाउँका दुईजना गरी चारलाई रोजगारी मिलेको उनले बताइन् । उनले भनिन् ‘बिहान १० बजेदेखि बेलुकी पाँच बजेसम्म जनताको काम गर्छु । बिहान बेलुकी फुर्सद भएको समयमा मैले हेर्छु’ उनले भनिन ‘दिउँसो कामदारले हेर्ने गर्छन् ।’ उपाध्यक्ष खड्कालाई श्रीमान् खड्गबहादुर खड्काले भैँसीपालनमा सघाउँदै आएका छन् ।

भैँसीपालन गरेर उत्पादन भएको दूध काभ्रा र रिखेबगर बजारमै खपत हुँदै आएको उनले जानकारी गराइन् । ‘जिल्लाबाट धेरै युवा रोजगारीको लागि खाडीमुलुक पलायन भएका छन् । यसले गर्दा घरमा काम गर्ने कोही नहुँदा भएका खेतीयोग्य जग्गा बाँझै रहन थालेका छन्’ उनले भने । बूढाबूढी समस्यामा पर्न थालेको उनका खड्क बहादुरको भनाइ छ ।  ‘काम गर्न छाडेपछि परनिर्भरता बढेको छ।

नयाँ पुस्ता विदेश नगई गाउँघरमै बसेर विभिन्न व्यवसाय गरून् र हामीले गरेको व्यवसायको सिको गरून भनी भैँसीपालन व्यवसायलाई अगाडि बढाएका हौँ’ उनले भने । भैँसीपालन रोजगारीको राम्रो माध्यम भएकाले विदेशमा गर्ने मेहनत घरमै गर्न सके छोटो समयमै राम्रो कमाई गर्न सकिने खड्गबहादुरले बताए । भैँसीपालन गर्दा दूध मात्र नभई कम्पोष्ट मल उत्पादन हुने उक्त मल खेतबारीमा प्रयोग गर्न सकिने उनको भनाइ छ ।



ताजा समाचार