अपराधबिनै जेलभित्र बालबालिका

सल्यान : जिल्ला कारागार सल्यानमा चारजना बालबालिकाले आमाबुवासँगे कैदी जीवन बिताउन बाध्य भएका छन् । बिद्यालयले जाने उमेरका बालबालिकाको जिम्मा लिने मान्छे कोही नभएपछि आमा बुवासँगै कैदी जीवन बिताउन बाध्य भएका हुन् ।

जिल्लाको बागचौर नगरपालिका ७ कोटबाराका एक दम्पतीका तीन सन्तानले बिनाकारणै कारागारमा बस्नुपर्ने बाध्यता भएपछि विद्यालय जान समेत वन्चित भएका छन् ।
विद्यालय जाने उमेरकी ६ वर्षीया चेतना रावत उनकी ४ वर्षीया बहिनी वर्षा रावत र ३ वर्षका भाइ हिक्मत रावत र बागचौर नगरपालिका १२ बाँफुखोला निवासी लोकबहादुर डाँगी र दिलमाया डाँगीका ९ महिने छोरा दिपेश डाँगी पनि कारागारमा अभिभावकसँग बस्दै आएका छन् ।

अभिभावकले गरेको गल्तीको सजाय भोग्ने क्रममा सन्तानको जिम्मा लिने कोही नभएपछि हाल चार जना बालबालिका जिल्ला कारागारमा राख्नुपर्ने बाध्यता रहेको जिल्ला कारागारका सल्यानले जनाएको छ । दुई वर्ष भन्दा माथिका बालबालिकालाई जेलभित्र राख्न नपाइने कानुनी व्यवस्था भए पनि अभिभावकलाई छोड्न नमान्दा र आफन्तले लिन नआउँदा कारागारमा राख्नुपर्ने बाध्यता रहेको कारागार सल्यानका जेलर बलबहादुर केसीले बताए ।

कारागारमा रहेका बालबालीकाले पढने इच्छा राखेपछि अहिले एकजना कैदी महिलाले कारागारभित्रै पढाउन थालेकी छन् । बिहान बेलुका ती बालबालिकालाई कैदी सलिना गहतराजले पढाउने गरेकी हुन् । बालबालिकालाई कुनै बालगृहमा राख्न सकिने भए पनि अहिलेसम्म प्रक्रिया अगाडि बढ्न नसकेको जेलर केसीको भनाई। यसअघि कारागारमा रहेका ४ बालबालिकालाई केन्द्रीय बाल कल्याण समितिको जिम्मा लगाइएको थियो ।

तपाईको प्रतिक्रिया