दुर्गममा पुगेनन् पाठ्यपुस्तक

हुम्ला : हिमाली जिल्ला हुम्लाका विद्यालयहरुमा माग अनुसार पाठ्यपुस्तक नआउँदा विद्यार्थीहरु मर्कामा परेका छन् । पाठ्यपुस्तक छपाईको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र र पुस्तक ढुवानीकर्ता तथा बिक्रेताहरुले अघिल्लो वर्षको ‘फ्लेस रिपोर्ट’कै आधारमा पुस्तक पठाउँदा विद्यार्थी संख्याको तुलनामा कम मात्रै पाठ्यपुस्तक हुम्ला आइपुगेको हो ।

माथिल्लो हुम्लाका नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकामा रहेका विद्यालयहरुको पाठ्यपुस्तक ढुवानी तथा बिक्रीका लागि जिम्मा पाएको रोकाया पुस्तक पसलकी धनजवा रोकायाले कक्षा २ देखि १० कक्षासम्मका लागि ३ हजार ८ सय ५० सेट पुस्तक माग गरेकोमा जम्मा २ हजार ७ सय सेट पुस्तक मात्र आएको बताइन्। सो क्षेत्रका विद्यालयहरुका लागि १ हजार १ सय ५० सेट पुस्तक अपुग भएका छन् ।

जनक शिक्षा सामाग्री केन्द्रले पुस्तक ढुवानीकर्ता तथा बिक्रेताले माग गरेकोभन्दा पनि केन्द्रमा यसअघि नै पेश भएको ‘फ्ल्यास रिपोर्ट’लाई आधार मानेर मात्र पुस्तक उपलब्ध गराउने गरेको छ । बाँकी अपुग पुस्तक सम्बन्धित गाउँपालिकाको सिफारिस, शिक्षा विकास तथा समन्वय इकाईको सिफारिस र प्रदेश मन्त्रालयको समन्वयमा मात्र उपलब्ध हुने रोकायाले बताइन् ।


जिम्मा पाएका पाठ्यपुस्तक नेपालगंजबाट हवाई मार्गबाट सिमकोट पुगेको र हाल बिक्री भइरहेको रोकायाले जानकारी दिइन् । यस्तै चंखेली र सर्केगार्ड गाउँपालिकामा पुस्तक बिक्रीको जिम्मा पाएको अर्को पुस्तक ज्ञानु भण्डारकी सञ्चालक दुर्पता शाहीले दुवै गाउँपालिकाका ५६ वटा विद्यालयका लागि ४ हजार २ सय सेट पुस्तक माग गरेपनि जनक शिक्षा र निजी छपाई केन्द्रबाट २ हजार ७ सय २५ सेट पुस्तक मात्र पाएको बताइन् ।

उनले सबै पुस्तक नेपालगंजमा बुझेर ट्रकबाट ढुवानी गरिएको जानकारी दिइन् । ती पुस्तक सुर्खेत, कालिकोट, जुम्ला, मुगु हुँदै हुम्ला पुग्नेछन् । निजी क्षेत्रले माग अनुसार पुस्तक दिए पनि जनक शिक्षाले नदिएको उनको गुनासो छ । ती दुबै गाउँपालिकाहरुले पाठ्यपुस्तक खरिदमा बजेट पनि आवश्यकताभन्दा कम विनियोजित गरेको पाइएको छ ।

यता जिल्लाको दक्षिणी क्षेत्रका अदानचुली र ताँजाकोट गाउँपालिकाका विद्यालयहरुको पाठ्यपुस्तकको ढुवानी तथा बिक्रीको जिम्मा लिएका लोकेन्द्र भण्डारीले गत वर्षभन्दा कम पुस्तक बुझेको बताए । उनले पनि माग अनुसार पस्तक नपाएको गुनासो गरेका छन् । यसैबीच हुम्लामा तीन वटा पुस्तक बिक्रेताहरुले नीजि क्षेत्रले छपाईको जिम्मा पाएको कक्षा एकको पुस्तक नछापिएकोले जिल्ला पठाउन नसकिएको बताएका छन् । बाँकी पुस्तक फागुन १२ गते अगाडि छापिने सम्भावना नरहेको जानकारी प्राप्त भएको छ । कर्णालीका उच्च हिमाली क्षेत्रमा शैक्षिक सत्र फागुन १ गतेबाट सुरु हुने गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


ताजा समाचार