गर्भावस्थामा यौन सम्बन्ध राख्न उचित हुन्छ ?

गर्भावस्थामा शारीरिक सम्बन्ध बनाउन हुन्छ ? यदि हुन्छ भने कुन अवधीसम्म ? यस्तो अवस्थामा कुनै विशेष आसन अपनाउनुपर्छ ? अक्सर दम्पतीमाझ उठ्ने प्रश्न हो यो ।
गर्भावस्थाको यौन सम्बन्ध कति सुरक्षित हुन्छ ? यससँगै अर्को प्रश्न पनि उठ्न सक्छ कि गर्भावस्थाको यौन सम्बन्ध के आनन्ददायक हुन्छ ?

यसमा कुनै पीडा हुँदैन ? अप्ठ्यारो हुँदैन ? चिकित्सकहरु भन्छन्, ‘गर्भावस्थामा सामान्य रुपमा चलिरहेको छ भने यौन सम्बन्ध राख्न कुनै जोखिम हुँदैन ।’ तर, असामान्य गर्भ भएमा, संवेदनशिल अवस्थामा भने यौन सम्बन्ध सुरक्षित मानिदैन । रक्तश्रावको समस्या भएका पनि चिकित्सकसँग परामर्श लिनुपर्ने हुन्छ ।

गर्भावस्था सामान्य रुपमा चलिरहेको छ भने यौन सम्पर्क गर्दा गर्भपातको जोखिम हुँदैन । यसैगरी योनीको संक्रमणको भय पनि रहँदैन । कतिपयमा के जिज्ञासा पनि उठ्ने गर्छ भने, गर्भावस्थामा यौन सम्बन्ध बनाइरहँदा समयभन्दा अगाडि नै बच्चाको जन्म हुन्छ । यो पनि भ्रम हो । गर्भावस्थाको यौन सम्पर्क र समयभन्दा अगाडि बच्चा जन्मनुमा कुनै सम्बन्ध छैन ।

यौन सम्पर्कका क्रममा दम्पतीको पेटमा हुने घर्षणले पनि गर्भको शिशुलाई असर गर्दैन । किनभने गर्भाशयको बलियो मांसपेशीले शिशुलाई सुरक्षित राख्छ । तर, कतिपय यस्तो अवस्था हुन्छन् जुनबेला यौन सम्पर्क गर्नु उचित हुँदैन । चिकित्सकका अनुसार रक्तश्राव, पेटको दुखाई, पानीको थैलो फाट्नु, ग्रीभको कमजोरी जस्ता अवस्थामा यौन सम्पर्क सुरक्षित हुँदैन ।

गर्भावस्थामा गरिने यौन सम्पर्क आनन्ददायक होला ? यो कुरा भने दम्पतीको अवस्था र मुडमा भर पर्छ । कतिपयले यस अवस्थामा संयमित यौन सम्पर्कबाट आनन्द लिन्छन् भने कतिपयमा असुरक्षाको भय पनि रहन्छ । कतिपय महिलाले भने गर्भावस्थामा गरिने यौन सम्पर्कलाई पीडादायी अनुभव गर्छन् । यस्तो अवस्थामा हस्तमैथुन वा मुख मैथुन अर्को विकल्प हुनसक्छ । सामान्य मुख मैथुनले गर्भवती महिला तथा उनको पेटमा रहेको शिशुलाई कुनै असर गर्दैन ।

तपाईको प्रतिक्रिया