नलगाड आयोजनाको मुआब्जा वितरण दुई हप्तापछि
जाजरकोट : जाजरकोटको नलगाड जलविद्युत आयोजनाको मुआब्जा दुई हप्तापछि वितरण गरिने भएको छ । चार सय १७ मेघावाट विद्युत उत्पादन क्षमता रहेको आयोजनाले १५ दिनपछि मुआब्जा वितरण गर्ने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयको सहकार्यमा हाईड्रोपावर कम्पनी लिमिटेडले अधिकरण गरिने जग्गाको मुआब्जा वितरण कार्य जनाएको हो । प्रति रोपनी ६ लाखका दरले मुआव्जा वितरण गरिने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिएका छन् ।
आयोजनाबाट प्रभावितहरु (साबिक सक्ला गाविस वडा नं. १ २, ३, ४, ६, ७, ८ र ९, नायकवाडा गाविस वडा नं. ५, ६, ७ र ८, रोकायगाउँ गाविस वडा नं. ६ र ९ र रामीडाँडा गाविस वडा नं. १, २, ३ र ६ गरी) चार हजार घरधुरीको ६ हजार रोपनी जग्गा अधिकरण गरिने भएको छ । मुआब्जा बुझ्नका लागि जग्गा धनीको नागरिकताको प्रमाण–पत्र, कित्ता नम्बर खुल्ने जग्गाधनी प्रमाण–पत्र, आर्थिक बर्ष २०७६/०७७ सालको मालपोत तिरेको रसिद, सम्बन्धित वडाहरूको सिफारिस, हक प्रमाणित गर्ने आवश्यक प्रमाणहरू (आवश्यक भए मात्र) सक्कलै कागजातहरु अनिवार्य रूपले ल्याउनुपर्ने आयोजनाले जनाएको छ ।
आयोजनाबाट प्रभावित बासिन्दाहरूले प्रकाशित सूचनाअनुसार मुआब्जा रकम बुझिलिनेहरूलाई पुनर्वास तथा पुनस्र्थापना कार्यक्रममा सहभागी गराउन नसकिने बताईएको छ । जग्गा प्राप्ति ऐन–२०३४ को दफा १३ (२) बमोजिम फागुन ५ गते बसेको मूल्य निधारण समितिको बैठकबाट प्रतिरोपनी ६ लाख मूल्य निर्धारण गरिएको थियो ।
