भाइरस रोक्न संक्रमित पैसा नष्ट गर्दै चीन

नोभल कोरोना भाइरसको संक्रमण अझै जारी रहँदा चीनको केन्द्रिय बंैकले यसलाई रोक्न नयाँ रणनीति अपनाउने बताएको छ । यसमा चिनियाँ सरकारले सम्भावित रुपमा संक्रमित हुन सक्ने सबै क्यास पैसा नष्ट गर्ने बताएको हो ।

शनिबार ‘पिपुल्स ब्याङ्क अफ चाइना’ ले घोषणा गरेको यो नयाँ तरिका भाइरसको संक्रमण रोक्नका लागि रहेको छ । ७१ हजार भन्दा धेरै मानिसहरु संक्रमित भइसकेको यो भाइरसका बारेमा अझै धेरै कुरा पत्ता लाग्न सकेको छैन । यसैकारण प्रभावित क्षेत्रका भवनहरुलाई लगातार किटाणुरहित बनाउने प्रयास अन्र्तगत एलिभेटरका बटन, ढोकाका ह्यान्डल र सार्वजानिक स्थलमा धेरै छोइने गरेका सतहहरुलाई छिनछिनमा सफा गरिराखिएको छ ।

यस्तोमा मानिस मानिसबीच एकै दिनमा धेरैपटक अदलाबदली हुने क्यास पैसाबारे पनि सबैले चिन्ता व्यक्त गर्दै आएका थिए । त्यसैले अबबाट सबै चिनियाँ बैंकहरुले क्यास वितरण गर्नु अगाडि त्यसलाई ‘अल्ट्रा भोइलेट लाइट’ मार्फत किटाणुरहित बनाउने र उच्च तापमानमा सात देखि १४ दिनसम्म स्टोर गरेर राखेपछि मात्र उपभोक्तालाई दिलाउन कडा निर्देशन दिइएको केन्द्रिय चिनियाँ सरकारले बताएको छ ।

विशेषगरी उच्च जोखिमपूर्ण क्षेत्रहरुमा अस्पताल, बजार लगायतबाट आएका क्यास पैसाहरु फेरि प्रयोगमा ल्याइनुको सट्टा विशेष ट्रिटमेन्टपछि केन्द्रिय बैंक लगिने बताइएको छ । यसबीच ग्वाङजोउमा रहेको केन्द्रिय बैंकको ब्रान्चमा भने उच्च जोखिमपूर्ण स्थलबाट आएका नोटहरु किटाणुरहित मात्र होइन नष्ट नै गरिने बताइएको हो ।
त्यसबीच पैसाको नयाँ अभाव पूरा गर्न ठूलो संख्यामा नयाँ नोटहरु इस्यु गरिने बताइएको छ ।

जनवरीमा मात्र एपिसेन्टर वुहानका लागि ४ अर्ब युआन बराबरका बैंक नोट एलोकेट गरिएको थियो । त्यस्तै अन्य तरिकाहरुमा चाहिँ बढी प्रभावित क्षेत्रमा क्यास पैसाको कारोबार सकेसम्म सिमित गराउन भनिएको छ । तर अहिलेसम्म क्यास वास्तवमै संक्रमित हुन सक्ने स्प्ष्ट भने भएको छैन । किनकी भाइरसहरु मान्छे बाहिरका सतहमा केही घण्टा मात्र बाँच्न सक्छन् भने किटाणुरहित बनाउने केमिकलको प्रयोग गर्दा तिनीहरु नष्ट पनि हुने गर्दछन् । (एजेन्सी)

तपाईको प्रतिक्रिया