उपसभामुख छान्न हम्मे

                                                                                            तस्बिर : उत्तरदायी पत्रकारिता

काठमाडौं : सत्तारुढ नेकपा र विपक्षी राजपाबीच कुरा नमिल्दा प्रतिनिधिसभाको उपसभामुख चयन जारी अधिवेशनमा नहुने भएको छ । ‘दिन चाहने’ नेकपा र ‘लिन नचाहने’ राजपाका कारण उपसभामुख चयन तत्काल नहुने भएको हो । नेकपाले अग्नि सापकोटालाई सभामुख बनाएपछि उपसभामुख फरक दल र फरक लिंगको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण नेकपा इतरको दलले उपसभामुख पाउने छन् ।

त्यो पनि नेकपाले चाहेको प्रमुख प्रतिपक्षी कांग्रेस, राजपा वा समाजवादी पार्टीमध्ये एकले। संसदमा एकरएक सिट भएका जनमोर्चा र नेमकिपाले उपसभामुख नलिने घोषणा गरिसकेका छन् । तीन दलमध्ये नेकपाको रोजाइमा राजपा परे पनि ऊसँग अरु विषयमा कुरा नमिल्दा उपसभामुख चयनको प्रक्रिया तत्काल अघि नबढ्ने भएको हो ।

सभामुख अग्नि सापकोटाले उपसभामुख चयनबारे दलहरुले आफूसँग अहिलेसम्म परामर्श नगरेको जानकारी दिए । नेकपाका एक नेताका अनुसार राजपालाई सरकारमा सहभागी गराउनेबारे कुराकानी भए पनि राजपाभित्रकै अन्तरविरोधका कारण ठोस प्रगति हुन सकेको छैन । राजपासँगको वार्ता सकारात्मक रुपमा अघि बढ्न नसकेपछि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेको कानुन मन्त्रालयको जिम्मेवारी शिवमाया तुम्बाहाम्फेलाई दिएका छन् ।

नेकपाका ती नेताले देश सञ्चारसँग भने, ‘राजपासँगको कुराकानी ठोस रुपमा अघि बढ्न सकेको छैन । कति र कुन कुन मन्त्रालय राजपाले लिने भन्ने त परैको कुरा सरकारमा आउने कि नआउने भन्नेमै अन्योल छ ।’ उपसभामुख संवैधानिक परिषदको सदस्यसमेत हुने भएकाले नेकपा विपक्षी कांग्रेसलाई उक्त पद नदिने निष्कर्षमा पुगेको छ ।

तपाईको प्रतिक्रिया