नेकपाका नेताहरुको गुनासो सरकारले पार्टीलाई टेर्न छोडे

सुर्खेत : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश र जिल्ला तहका नेताहरुले सरकार अटेरी बन्दै गएको गुनासो गरेका छन् । कर्णाली प्रदेश स्तरिय अगुवा कार्यकर्ता भेलामा सहभागि शिर्ष नेताहरु समक्ष उनीहरुले यस्तो गुनासो गरेका हुन् । स्थानीय, प्रदेश र केन्द्र सरकारले पछिल्लो दिनमा पार्टीलाई टेर्न छोडेको नेताहरुको गुनासो छ ।

वीरेन्द्रनगरमा मंगलवार आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पार्टीका जिल्ला अध्यक्षहरुले सरकार आफूखुसी चलेको बताए । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल र वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी प्रशिक्षण कार्यक्रममा प्रदेशका १० जिल्लाका अध्यक्षहरुले पार्टीको सांगठिन अवस्थाका बारेमा पनि जानकारी गराएका थिए ।

प्रदेश,पालिका, वडा तहसम्म पार्टी एकतापछि संगठनहरु विस्तार भए पनि प्रदेश र स्थानीय तहले मनलाग्दी काम गरेको उनीहरुको गुनासो थियो । ‘पार्टीका नेतासँगको सहकार्यविना सरकार चलेको छ, यसले जनतामा पनि निराशा छायो भन्ने जिल्ला नेताहरुको भनाइ थियो’ प्रशिक्षणमा सहभागी एक नेताले भने, ‘एकतापछि संगठन विस्तारको गति बढाउन र सरकारले गर्ने हरेक योजनाहरु जनतामुखी बनाउन ध्यान केन्द्रित गर्न उहाँहरुको मुख्य जोड थियो ।’

नेकपा कर्णाली प्रदेश कमिटीका अध्यक्ष गोरखबहादुर बोगटीले एकता अघि संगठन विस्तार नहुँदा सरकारले केही त्रुटी गरे पनि विस्तारपछि राम्रा कामहरुको अझै प्रचार नभएको जिल्ला अध्यक्षबाट रिपोर्टिङ्ग भएको बताए । ‘एकतापछि भोग्नु परेका समस्या र संगठन विस्तारको काम कहाँसम्म पुग्यो भन्ने विषयमा जानकारी जिल्ला अध्यक्षहरुले गर्नुभएको थियो’ अध्यक्ष बोगटीले भने, ‘सरकारले राम्रा काम सञ्चालन गर्दा पनि जनता समक्ष अझै प्रभावकारी प्रचार गर्न नसकिएको उहाँहरुले राख्नुभयो ।’

प्रशिक्षण कार्यक्रममा प्रदेश सरकारले हालसम्म गरेका काम तथा आगामी योजनाका बारेमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जानकारी गराएका थिए । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकतामा ढिलाई हुनु र वडा तहसम्म संगठन विस्तार समयमै नहुँदा सरकारप्रति नकारात्मक सन्देश प्रवाह हुनु स्वभाविकै भएको बताए ।
उनले केन्द्रदेखी वडातहसम्म संगठन विस्तार भएकाले सरकारले सञ्चालन गरेका राम्रा कामको प्रचार र पार्टीका हरेक गतिविधि व्यापक रुपमा सञ्चालन गरिने जानकारी दिए ।

‘दुई तिहाइ सरकारहुँदा बाह्य र भित्री शक्तिहरु सलवलाइरहेका छन्’ अध्यक्ष प्रचण्डले भने, ‘एकतापछिका सबै काम पूरा भइसकेकाले पार्टी भित्रका गुटउपगुटको अन्त्य गर्दै सशक्त रुपमा आफ्ना अभियानहरु व्यापक रुपमा सञ्चालन गरेर भ्रम अन्त्य गर्न एकजुट हुनुस् ।’ सरकारले सञ्चालन गरेका हरेक कामहरुको व्यापक रुपमा प्रचारप्रसार गर्न नेता कार्यकर्तालाई उनले निर्देशन दिए । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले एकतापछि कार्यकर्ताहरुमा उत्साह ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गरिने बताए ।
यस्तै नेकपाका महासचिव विष्णु पौडेलले नेता कार्यकर्ताहरुलाई सक्रिय बनाउन तीन महिने अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए । आगामी चैत्र, बैशाख र जेठमा पार्टीले तीन महिने अभियानमार्फत पार्टीको योजना र सरकारका कामहरुको सन्देश जनतामाझ गएर राखिने पौडेलले बताए । उनले कर्णालीलाई अरु प्रदेशभन्दा विकासमा अब्बल बनाउनतर्फ कुनै शंका नगर्न आग्रह गरे । सहइन्चार्ज यामलाल कँडेलले कर्णाली प्रदेशबाट प्रदेश प्रमुख पार्टीले भेटाउन नसक्दा सडकमा जाँदा कार्यकर्ता नहुने अवस्था आएको जानकारी गराएका थिए ।

तपाईको प्रतिक्रिया