महिनावारी बार्ने कुप्रथाबिरुद्धको अभियान, नेतृत्व सम्हाल्दै धामी र पूजारी

सुर्खेत : कर्णालीका अधिकांश जिल्लामा अहिले पनि महिनावारी अर्थात रजश्वला हुँदा बार्ने चलन छ । महिनावारीको बेलामा महिला र किशोरीहरुलाई घरभित्र पस्न दिददैन । घरदेखि टाढा रहेको गोठमा राख्ने कुप्रथाविरुद्ध पछिल्लो समय सरकारले कडा अभियान थालेको छ । यही अभियान अन्तर्गत विभिन्न जिल्लामा रहेका छाउगोठहरु भत्काइएका छन् ।

छाउगोठमा बसाल्दा महिला र किशोरीहरुको ज्यान जान थालेपछि सरकार आक्रामक बनेको हो । यही अभियान अन्तर्गत स्थानीय तह, प्रशासन र प्रहरीले टोलटोलमै पुगेर छोउगोठ भत्काएका हुन् । तर छाउगोठ भत्काइए पनि धार्मिक अन्धविश्वासका कारण महिनावारीको समयमा महिला र किशोरीले घरभित्र बस्न पाएका छैनन् । बरु गोठ भत्किएपछि उनीहरुलाई खुला आकासमुनी राख्न थालिएको छ ।

खुला स्थानमा राखिएका कारण महिला र किशोरीहरु थप जोखिममा परेका छन् । यो समस्या समाधान गर्न स्थानीय तहले अब धार्मिक अगुवाहरुलाई अभियानमा खटाउन थालेका छन् । धर्म र महिनावारीलाई जोडेर देउता रिसाउने र अनर्थ हुने भ्रम अहिले पनि कायमै छ । यसलाई चिर्न गाउँमा धामी, झाँक्री, पण्डित, ज्योतिषी र पूजारीहरुलाई नै यो कुप्रथाविरुद्ध अग्रसर बनाउन थालिएको छ । यसअन्तर्गत धामी र पूजारीहरुलाई प्रशिक्षण दिन थालिएको हो । कतिपय स्थानमा धामी र पूजारीहरुले अभियानको नेतृत्व सम्हालेका छन् ।

धामी र पूजारीहरुले नै महिनावारी प्राकृतिक प्रक्रिया भएको र यसलाई बार्न नुहने भन्दै अभियानको नेतृत्व गरिरहेका हुन् । धामी र पूजारीहरुले नै महिनावारी बार्न नहुने र गोठमा राख्न नहुने बताउन थालेपछि स्थानीयमा चेतना पनि जागेको छ । छाउगोठ भत्काएर मात्रै सामाजिक कुप्रथा अन्त्य नहुने भन्दै स्थानीय प्रशासनले महिनावारी भएकै कारण अलग्गै बस्न बाध्य पार्ने धाँमी झाँक्रीलाई प्रतिवद्धता जनाउने अभियान थालेको छ ।

कालिकोटका प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेलले कालिकोटमा छाउगोठ एकदमै कम भएको जानकारी दिए । ‘कालिकोटमा धेरै छाउगोठ होलान् भन्ने सोचेका थियौं’ पौडेलले भने, ‘गाउँमा प्रहरी परिचालन गरेपछि जम्मा २० ओटा मात्रै छाउगोठ भेटिए ति भत्काएर महिनावारी भएको बेलामा घरमै सुताउन प्रतिवद्धता जनाउन लगाइसकेका छौं ।’

संरचना मात्रै भत्काएर छाउपडी प्रथा उन्मुलन नहुने देखिएपछि जिल्लाका धामी झाँक्रिलाई नै अभियानमा लाग्न सचेतनामुलक कार्यक्रम सञ्चालन गरिरहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । यस्तै जाजरकोट र सुर्खेतमा पनि स्थानीय तहले धामी र पूजारीलाई अभियानमा खटाएका हुन् । धामी र पूजारीहरु सक्रिय भएमा मात्र यो कुप्रथालाई अन्त्य गर्न सकिने स्थानीय तहको निस्कर्ष छ ।

अब महिला घरभित्र, मन्दिर र पूजा घरबाहिर

उपेन्द्रबहादुर थापा प्रमुख,
पञ्चपुरी नगरपालिका, सुर्खेत

सुर्खेतको पश्चिम क्षेत्रमा महिनावारी हुँदा बार्ने चलन बढी छ । सरकारको निर्देशनपछि यहाँका अधिकांश छाउगोठहरु भत्काइएका छन् । छाउगोठ भत्काइएसँगै स्थानीयलाई जनचेतना फैलाउने काम पनि भइरहेको स्थानीय तहले जनाएका छन् । पञ्चपुरी नगरपालिकाले छाउ बार्ने कुप्रथा अन्त्यका लागि नयाँ उपाय अपनाएको छ ।

यो नगरपालिकाले अब घरभित्र पूजा गर्नुको साटो घरबाहिरै पूजा गर्न र सोही अनुसार पूजा सामग्री पनि बाहिरै राख्न भनेको छ । पूजा कोठा र पूजा सामग्रीका कारण महिनावारी भएका महिला र किशोरीलाई घरभित्र पस्न नदिने गरिएको भन्दै नगरपालिले अब पूजा गर्नका लाािग मन्दिर र पूजा सामग्री घरबाहिरै स्थापना गर्न भनेको हो ।

छोउगोठ भत्काएपछि महिनावारी भएकाहरु खुला आकाशमानबसेको जानकारी दिँदै नगरपालिकाका प्रमुख उपेन्द्र थापाले भने,‘पूजा गर्ने पूजारी र धामीलाई नै घरबाहिर छुट्टै मन्दिर बनाएर पूजाका सामग्रीहरु राख्न सहजिकरण गरेका छौं, यसले पनि महिलाहरु घरभित्र बस्न पाउने अवस्था आउने छ ।’ गाउँ, टोल र वडाहरुमा पुगेर सचेतनामुलक अभियानहरु सञ्चालन गर्न झण्डै चार लाख बजेट विनियोजन गरिएको थापाको भनाइ छ ।

‘मनदेखी नै कुप्रथा हटाउन नगरपालिका आक्रामक रुपमा लाग्नेछं’ थापाले थपे, ‘नगरपालिका भित्रका हरेक समूह र क्लवलाईसमेत महिनावरी भएकै कारण छाउगोठमा बस्न बाध्य पार्नेको विवरण दिन अनुरोध गरिसकेका छौं, अटेरी गर्नेलाई कानुनी कारवाही गर्ने र नगरपालिकाबाट दिइने सेवा तथा सुविधा नै रोक्नेछौं ।’ उनले अब देउता घरबाहिर र महिलाहरु घरभित्र बसाल्ने अभियान सूरु भएको जनाए ।

छाउ भएका छोरी र बुहारीलाई घरभित्रै राख्छन् यी पूजारी

दैलेखको आठबिस नगरपालिका–६ निवासी रंगप्रसाद उपाध्याय गाउँमा नाम कहलिएका पूजारी हुन् । पूजापाठ गर्दै उनका दिन बित्छन् । कहिले दैलेख त कहिले अछामका गाउँमा पुजारीको काम गर्न पुग्छन् । ६ छोराछोरीका बुवा रंगप्रसादका अहिले छोरी र छोराको गरी २५ जना नातिनातिना छन् ।

स्थानीय कुइँकेलदेवी भगवती मन्दिरका पुजारी रंगप्रसाद छउ अर्थात महिनावारी भएका महिलालाई घरभित्रै राख्ने गाउँकै पहिलो व्यक्ति हुन् । तीन दिनको छाउ भएकी बुहारी तुलसी पाँच दिनसम्म तातो गरेर भान्छामै बसिन् । गोठमा राख्दा चिसोले नातीनी बिरामी हुने डरैडरले बुहारीलाई घरभित्र राखेको कुरा रंगप्रसादले गोप्य राखे ।

एक महिनासम्म पनि परिवारमा कुनै अनिष्ट नभएपछि रंगप्रसादले अर्को पटक पनि छोरीबुहारीलाई घरकै एक कोठामा राख्न थाले । छाउगोठलाई भत्काएर शौचालय बनाए । मन्दिरमा पूजाआजा गर्ने धार्मिक गुरु रंगप्रसादले महिनावारी भएकालाई घरमै राखेको कुरा गाउँलेले थाहा पाए । उनीहरुलाई सुरुमा विश्वासै लागेन । जब उनीहरुले साँचो कुरा थाहा पाए, अचम्ममा परे । पुजारीले नै छाउ भएकी छोरीबुहारीलाई घरमा राख्यो भन्दै धेरैले विरोध गरे ।

रंगप्रसादले गाउँलेको कुरा सुनेनन् । बिस्तारै गाउँमा छाउ बार्ने कुप्रथाका बारेमा बहस हुन थाल्यो । महिनावारी भएको महिलालाई गोठमा राख्नु हुँदैन, घरमै सुरक्षित बस्न दिनुपर्छ भन्दै गाउँमा विभिन्न संघसस्थाले काम गर्न थाले । त्यसपछि रंगप्रसादलाई गाउँलेका प्रश्नहरुको जवाफ दिनु परेन । गाउँमा अहिले पनि धेरै महिलाहरु आफैँ अलग बस्ने गरेका छन् । महिलाले कसैलाई थाहै नदिइ घरमै बसे कसैले नसोध्ने भन्दै उपाध्याय महिला परिवर्तन हुनुपर्नेमा जोड दिए ।

भत्काइए दुई हजार छाउगोठ

कर्णालीमा हालसम्म दुई हजार वटा छाउगोठ भत्काइएको छ । सरकारले छाउगोठ भत्काउने अभियान थालेपछि हालसम्म प्रदेशका विभिन्न जिल्लामा यो संख्यामा गोठहरु भत्काइएका हुन् । स्थानीय प्रशासन र प्रहरीले कर्णालीका पाँच जिल्लामा दुई हजार भन्दा बढी छाउगोठ भत्काएका हुन् ।

गृह मन्त्रालयको कडा निर्देशनमा थालिएको अभियान अन्तर्गत हालसम्म कर्णालीमा दुई हजार दुई सय ३५ वटा छाउगोठ भत्काइएको हो । कर्णालीका सुर्खेत, दैलेख, कालिकोट, सल्यान र जाजरकोटमा मात्रै छाउगोठ भेटिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

त्यसमध्ये सुर्खेतमा हालसम्म सबैभन्दा बढी एक हजार नौ सय २४ छाउगोठ भत्काइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता लोकनाथ तिम्सिनाले जानकारी दिए । उनकाअनुसार दैलेखमा दुईसय ५९, जाजरकोटमा ३०, कालिकोटमा २० र सल्यानमा तीन ओटा छाउगोठ भत्काइएको छ ।

तपाईको प्रतिक्रिया