हुम्लाबाट ६६ हजार केजी जटामासी निर्यात

                                                                                       फोटो : देश सञ्चार

हुम्ला : जडिबुटीको अपार सम्भावना भएको हिमाली जिल्ला हुम्लाबाट झण्डै ६७ हजार किलो जटामासी निकासी भएको छ । नयाँ वातावरणीय प्रभाव मुल्याङ्कन भएपछि जिल्लामा भएको जटामासी निकासीको बाटो खुल्दा ठूलो परिमाणमा निकासी भएको हो ।

अहिलेसम् सिमकोट विमान स्थलबाट हवाई जहाजमा ढुवानी गरेर साढे ६६ हजार केजी अर्थात ६ सय ६५ क्वीन्टल जटामासी निकासी भएको जडिबुटी संघ हुम्लाका अध्यक्ष रामबहादुर भण्डारीले बताए । यो जटामासीको निकासी परिमाण विगत तीन वर्षयता कै बढी हो । गत वर्ष संकलन भएको जटामासी निकासी हुन सकेको थिएन ।

सिमकोट विमानस्थलमा दैनिक जसो नीजि एयरलाईन्सहरुले जटामासी नेपालगंज ढुवानी गरिरहेका छन् । यो जटामासी १५ जना जडिबुटी व्यापारीहरुको रहेको छ । चार वर्षदेखि जटामासी निकासी गर्न नपाएपछि जडिबुटी व्यापारीहरु मर्कामा परेका बेला यस वर्ष दुई लाख बीस हजार केजी जटामासी लिन पाउने कोटा निर्धारण भएको हो ।

नयाँ वातावरणीय प्रभाव मुल्याङ्कन अनुसार चार लाख बीस हजार केजी राष्ट्रिय तथा सामुदायिक वनबाट संकलन गरेर निकासी गर्न सकिने प्राबधान रहेको छ । वन विभागले चालू आर्थिक वर्षबाट संकलन पुर्जी दिने र जिल्लाका डिभिजन वन कार्यालयले दरपिट मात्र गर्ने गर्दै आएको डिभिन वन प्रमुख निरज झाले बताए । नयाँ वातावरणीय प्रभाब मुल्याङ्कनको प्रतिवेदन आएपछि जिल्लाबाट जटामासी निकासी हुने बाटो खुलेको थियो ।

तपाईको प्रतिक्रिया