भवन निर्माणमा ठेकेदारको लापरबाही

                                                                                फोटो : अन्नपूर्ण पाेष्ट

सुर्खेत : दैलेखको प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रको भवन १७ वर्षदेखि अधुरै छ । २०५९ असोजमा निर्माण थालिएको उक्त भवन ठेकेदारको लापरवाहीका कारण अलपत्र छ। किसान कन्स्ट्रक्सनले ७० लाख लागतमा भवन निर्माणको जिम्मा लिएको थियो । काम सम्पन्न नगरे पनि निर्माण कम्पनीले पूरै भुक्तानी लिएको छ । निर्माणाधीन भवनभित्र झार उम्रिएको छ । भवनका झ्यालढोका फुटेका छन् ।

जाजरकोटको जुनीचाँदे–१ मजकोटस्थित बडकुले स्वास्थ्य चौकीको प्रसूति भवन निर्माण सात वर्षदेखि अलपत्र छ। फ्राइन्डस कन्स्ट्रक्सन प्रालि काठमाडौंले एक वर्षभित्र काम सक्ने गरी २०६९ मा निर्माणको जिम्मा लिएको थियो । ठेकेदार काम अलपत्र छाडेर सम्पर्कविहीन छ । सुरक्षित प्रसूति सेवा अभावमा त्यहाँका कतिपय गर्भवतीले अकालमा ज्यान गुमाएका छन् ।

निर्माण व्यवसायीलाई गृह मन्त्रालय र स्थानीय प्रशासनले कारबाही गर्न सकेका छैनन्’, स्थानीय राजबहादुर शाहीले भने, ‘एउटा व्यक्तिले काम नगर्दा सबै नागरिकले दुःख पाइरहेका छन् । कामचोर ठेकेदारलाई सरकारले किन कारवाही गर्न सक्दैन ? ’ १ करोड ५० लाख लागतमा निर्माण हुने भवनको काम १० प्रतिशत मात्रै भएको छ ।
कर्णाली प्रदेशमा ठेकेदारको लापरवाहीले झन्डै ९६ वटा स्वास्थ्य संस्था भवन अलपत्र छन् । यी सबै भवन सहरी विकास तथा भवन निर्माण संघीय कार्यान्वयन इकाइ सुर्खेत र जुम्लाबाट ठेक्का भएका हुन् । ताकेता गर्दा पनि ठेकेदारले काम नगरेपछि सुर्खेतको कटकुवा स्वास्थ्य चौकी र जाजरकोटको दल्ली स्वास्थ्य चौकी भवनको ठेक्का रद्द गरी पुनः टेन्डर गरियो ।

घटाघट प्रक्रियाबाट सस्तोमा ठेक्का लिने तर काम नगर्ने प्रवृत्तिले कर्णाली प्रदेशमा स्वास्थ्य संस्था भवन निर्माण अधुरै रहेको हो । नियामक निकायको लापरवाहीले पनि कर्णालीमा ठेकेदारको मनपरी छ । अधिकांश ठेकेदारले पेश्की बुझेर भवनको काम अलपत्र छाडेका छन् । तोकिएको मितिभन्दा तेब्बर बढी समयसम्म भवन निर्माण नगर्ने कतिपय ठेकेदार सम्पर्कविहीन रहेको सहरी विकास तथा भवन निर्माण संघीय कार्यान्वयन इकाइ सुर्खेतका सूचना अधिकारी देवेश्वर गिरीले बताए । उनका अनुसार ठेकेदारको लापरवाही र मौसम प्रतिकूलताका कारण स्वास्थ्य संस्था भवन निर्माण अधुरै छ। ‘घटेर धेरै ठेक्का लिने प्रवृत्तिले ठेकेदार घाटामा जाँदा योजना अलपत्र छाड्छन्’, इन्जिनियर गोकर्ण थापाले भने, ‘दक्ष जनशक्ति अभाव र भौगोलिक विकटताका कारण समयमै सबै योजना हेर्न नसक्दा ठेकेदारले पनि स्टिमेटअनुसार काम गर्दैनन् ।’

अलपत्र स्वास्थ्य संस्था भवनमध्ये सबैभन्दा धेरै सुर्खेतमा छन् । भवन समयमै नबन्दा अन्य बिरामीभन्दा गर्भवती तथा सुत्केरी बढी समस्यामा छन् । घरनजिकै स्वास्थ्य संस्थामा भवन अभावकै कारण आवश्यक औषधि, उपकरण र जनशक्ति व्यवस्थापन हुन नसकेको छैन । यसले गर्दा आकस्मिक उद्दार गर्नुपर्ने बिरामीसँगै गर्भवती तथा सुत्केरी बढी जोखिममा परेका हुन् ।

तपाईको प्रतिक्रिया