‘पत्रकारिता कर्णाली समृद्धिको सम्वाहक बन्नुपर्छ’

सुर्खेत : नेपालको पहिलो अखबार गोरखापत्रलाई कर्णाली समृद्धिको बनाउनुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । आइतबार सुर्खेतमा गोरखापत्रद्वारा आयोजित अन्तरक्रियामा सहभागी धेरैजसो व्यक्तित्वहरुले विकासमा पछाडि पारिएको कर्णालीलाई देशकै जेठो पत्रिकाले प्राथमिकताका साथ महत्व दिनुपर्ने सुझाव दिएका छन् ।

वीरेन्द्रनगर नगरपालिकाका कार्यवाहक प्रमुख मोहनमाया ढकालले कोहलपुर संस्करणबाट कर्णालीको पीडामात्र नभइ सम्भावनाहरुका मुद्दाहरुलाई प्राथमिकता दिनुपर्ने बताइन् । त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले विगतमा काठमाडौंले कर्णाली प्रदेशको आवाज नसुनेको भन्दै अब सुन्नुपर्ने बताए ।

उनले कर्णालीका मुद्दालाई केन्द्रले पनि प्राथमिकता दिनुपर्ने र त्यो काम अब गोरखापत्रको कोहलपुर संस्करणबाट अझ अगाडि बढ्ने अपेक्षा गरे । सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले निजी क्षेत्र र सरकारबीचको दुरीलाई गोरखापत्रले कम गराउनुपर्ने बताए । डा. दिपक गौतमले नेपालको पत्रकारिता, भाषा, साहित्यमा गोरखापत्रको भूमिकाको कसैसँग तुलना हुनै नसक्ने बताए । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पूर्वडीन पीताम्बर ढकालले सरकारको मात्र होइन देशकै मुखपत्र बन्ने गरी र पहिलो रोजाईको पत्रिका बन्ने गरी बजारमा उत्रिनुपर्ने बताए ।

अधिकारकर्मी पवित्रा शाहीले सरकारको गुणगान गाउने मात्र नभइ आलोचना पनि छाप्ने हिम्मत गर्न जोड दिइन् । सुर्खेत औद्योगिक क्षेत्र व्यवस्थापन समितिका प्रमुख जीवनारायण बञ्जाडेले कोहलपुर संस्करणबाट कर्णालीको कृषि, पर्यटन, उद्योगलाई जोड दिइएका समाचारहरु आउनुपर्ने बताए । गोरखापत्रका कार्यकारी अध्यक्ष कृष्णमुरारी भण्डारीले संघीयताका कारण गोरखापत्र पनि प्रदेश प्रदेशमा आएको बताए । गोरखापत्रका सम्पादक सल्लाहकार गोपाल खनालले गोरखापत्रलाई राष्ट्रको पत्रिका बनाउने उद्देश्यका साथ देखिने परिमार्जन गरिएको बताए ।

तपाईको प्रतिक्रिया