स्वास्थ्य सेवा प्रभावित : स्वास्थ्यका दर्जनौं भवन अलपत्र, बिचमै काम छाड्छन् ठेकेदार
सुर्खेत : गाउँमा स्वास्थ्य संस्था छैनन् । स्वास्थ्य संस्था भए पनि तिनका भवन छैनन् । भवन नै नभएका स्वास्थ्य संस्थामा डाक्टर र औषधि उपलब्ध हुने सम्भावना पनि रहेन । जसलेगर्दा कर्णालीका अधिकांश दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा नै प्रभावित भइरहेको छ ।
भरपर्दो उपचार नपाउँदा वर्सेनी कर्णालीमा धेरै गर्भवती र सुत्केरीको ज्यान जाने गरेको छ । नवजात शिशुलाई जोगाउन पनि हम्मेहम्मे हुने गरेको छ । तर राज्यले करोडौं बजेट खर्चेर निर्माण थालिएका स्वास्थ्य संस्थाका भवनहरु भने अलपत्र छन् । निर्माणको जिम्मा लिएका ठेकेदार कम्पनीले समयमै काम नगर्दा हाल कर्णालीमा दर्जनौं स्वास्थ्य संस्थाका भवनहरु अधुरै छन् ।
निर्माण अधुरा रहेका भवनहरु प्रयोगमा आउन नसक्दा स्वास्थ्य सेवाको प्रवाहमा नै समस्या भइरहेको हो । स्वास्थ्य सेवाको अभावमा मातृशिशु मृत्युदर बढ्न थालेपछि सरकारले हरेक स्वास्थ्य संस्थामा बर्थिङ सेन्टर स्थापनाको नीति अघि सारेको थियो । सोही नीतिअनुसार नै स्वास्थ्य विभागले कर्णालीका पाँच जिल्लामा स्वास्थ्य चौकीका भवन निर्माण अघि बढायो । तर पनि ठेकेदारको लापरवाहीले ति भवनहरु अलपत्र छन् ।
प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित कटकुवा स्वास्थ्य चौकीकै भवन समयमै नबन्दा सेवाग्राहीले सास्ती भोग्नु परेको छ । ठेकेदारको लापरवाहीले प्रदेश राजधानीकै स्वास्थ्य चौकीको भवन समयमै निर्माण नहुँदा बिरामीको चेकजाँच खुला चौरमै गर्नुपर्ने बाध्यता छ । जिएम कन्स्ट्रक्सन प्रालिले २०६८ सालमा यो स्वास्थ्यचौकीको भवन निर्माणको ठेक्का पाएको थियो । २०७० साल असार महासन्तसम्म काम सक्नेगरी जिम्मा लिएको कन्स्ट्रक्सनले निर्धारित समयमा काम नसकेपछि ठेक्का तोडिएको छ ।
हाल नयाँ टेण्डर आह्वान गरेर निर्माणको काम जारी रहेको शहरी विकास तथा भवन निर्माण संघीय कार्यान्वयन ईकाइ सुर्खेतले जनाएको छ । कटकुवाको मात्रै हैन, कर्णालीका सल्यान, सुर्खेत, जाजरकोट, दैलेख र रुकुम पश्चिममा ठेकेदारकै लापरवाहीका कारण स्वास्थ् चौकीका भवनहरु निर्माणमा ढिलाइ भइरहेको हो । एक बर्षमा बन्नुपर्ने भवन निर्माण कार्य वर्षौसम्म सम्पन्न हुन सकेका छैनन् ।
जिएम कन्स्ट्रक्सनले निर्माणको जिम्मा लिएका आधा दर्जन स्वास्थ्य चौकीका भवन हाल नयाँ टेण्डर आह्वान गरेर काम अघि बढाइएको छ । जनतालाई अत्यावश्यक सेवा प्रवाह गर्ने अधिकांश स्वास्थ्य चौकीका भवनहरु अलपत्र हुँदा सेवाग्राही प्रभावकारी सेवा पाउनबाट बञ्चित छन् । विगतमा अलपत्र रहेका स्वास्थ्य चौकीका भवनहरु निर्माण कार्य आगामी असारसम्म सक्नेगरी निर्माण भइरहेको शहरी विकास तथा भवन निर्माण संघीय कार्यान्वयन ईकाइ सुर्खेतले जनाएको छ ।
गर्भवती र सुत्केरी समस्यामा
कर्णालीमा हाल निर्माणाधिन स्वास्थ्य संस्थाका भवनहरु समयमै नबन्दा गर्भवती र सुत्केरी महिलाहरुलाई बढी समस्या हुने गरेको छ । भवन , दक्ष जनशक्ति र औषधि तथा उपकरणको अभावले आकस्मिक रोगका बिरामीसँगै गर्भवती र सुत्केरी बढी समस्यामा परिरहेका हुन् । वीरेन्द्रनगरस्थित कटकुवा स्वास्थ्य चौकीका सिअहेव निरकबहादुर थापाले नयाँ भवन नबन्दा बिरामी जाँच्न समस्या भएको बताए ।
‘वर्थिङसहितको सेवा स्वास्थ्य चौकीले दिँदै आए पनि साँघुरो कोठामा एउटा मात्रै बेड छ’ थापाले भने, ‘भवन अभावकै कारण अन्य विरामीहरुलाई पनि प्रभावकारी रुपमा सेवा दिन सकेका छैनौं ।’ दुर्गमका गाउँमा स्वास्थ्य संस्था नै नहुनु, भएका स्वास्थ्य संस्था पनि मापदण्डमा नहुनु जस्ता समस्याले बर्सेनी कर्णालीमा गर्भवती तथा सुत्केरी महिलाले अकालमौ ज्यान गुमाउनु परेको छ । कर्णाली प्रदेश सरकार र संघीय सरकारकारको समन्वयमा कर्णालीमा गर्भवती तथा सुत्केरीको हेलिकप्टरमार्फत उद्दार गरिँदै आएको छ ।
ठेक्का तोड्दै, बाँकी काम गर्दै
सुरुमा भवन निर्माणको जिम्मा लिने र पछि निर्माण कम्पनी भाग्ने गरेको शहरी विकास तथा भवन निर्माण संघीय कार्यान्वयन ईकाइ सुर्खेतका इन्जिनियर गोकर्ण थापाले जानकारी दिए । उनले निर्माणको काम अलपत्र छाडिएका भवनको पुनः ठेक्का आह्वान गर्ने प्रक्रियाका कारण पनि ढिलाइ हुने गरेको भएको बताए ।
‘जिम्मा लिएका तर काम नगर्ने निर्माण कम्पनीलाई कालो सूचीमा राख्दै ठेक्का तोडेर काम अघि बढाइसकेका छौं’ थापाले भने, ‘अधिकांश भवनको ९५ प्रतिशत काम सकिएकाले अब आउने असारसम्म हस्तान्तरण हुनसक्छन् ।’ ठेकेदारको लापरवाही र मौसम प्रतिकुलताका कारण समयमै भवन निर्माण सम्पन्न नहुने गरेका थापाको भनाइ छ ।
एउटै ठेकेदारले घटाघट प्रक्रियाबाट धेरै ठेक्का लिने र ठेकेदार घाटामा जाँदा ठेक्का लिएको काम नै अलपत्र छोड्ने गरेको उनले बताए । प्रदेशका विभिन्न जिल्लामा ९६ वटा अलपत्र स्वास्थ्य संस्थाका भवन मध्ये सुर्खेतमा २२, दैलेखमा १३, जाजरकोटमा सात, सल्यानमा चार, डोल्पामा आठ, जुम्लामा १०, कालिकोटमा ११, मुगुमा आठ, रुकुममा पाँच र हुम्लामा आठ वटा छन् ।
